Logo

नाडाद्धारा कच्चापदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग

नाडाद्धारा कच्चापदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग



काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ । सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधिमण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो ।

नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा अझैं भन्सार मूल्याङ्कन सन्दर्भ सूची लागू गर्नु अनुपयुक्त रहेको भन्दै नाडाले सो व्यवस्था तत्काल खारेज गरी भन्सारमा माल बस्तुको यथार्थ घोषणा र सही वर्गीकरण गराई भन्सार मूल्याङ्कन पद्धतिलाई यथार्थ र कारोबार मूल्यमा आधारित बनाउन माग गरेको छ ।

यस्तै हाल सकारले एम्बुलेन्स आयातमा गरेको वर्गीकरण, सवारी साधनको भन्सार जाँचपास र सवारी आयातमा लागू गरिएको अनिवार्य एलसी मार्जिनको व्यवस्थामा समेत पुनर्विचार गर्न नाडाले सरकारसँग माग गरेको छ । हाल सरकारले विभिन्न ४७ एचएस हार्मोनिक कोण भएका वस्तुहरुको आयातमा अनिवार्य ५० देखि शत प्रतिशतसम्म एलसी मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।

यसले एउटै वस्तुमा भिन्न भन्सार कार्यालयहरूमा एचएस कोडको परिभाषामा फरक पर्ने गरेको, ब्रेक लाइनिङ्ग जस्ता अत्यावश्यकीय वस्तुमा पनि शतप्रतिशत नगद मार्जिन राखी एलसी खोल्नुपर्ने नियमले व्यवसायीहरुलाई समस्या परेकोले त्यसको समाधानका लागि विशेष पहल गरिदिन नाडाले विभागसँग माग गरेको छ । सोही अवसरमा नाडाले नेपालमा ब्याट्री उत्पादनका सम्भावनाहरू समेत बढदै गएको अवस्थामा सबै किसिमका सवारी साधनहरुमा प्रयोग हुने ब्याट्रीमा लाग्ने आवश्यक कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार शुल्क लागू गर्न समेत विभागसँग माग गरेको छ ।

यसअघि गत २०७३ असार २६ गते भन्सार विभाग र नाडाबीच भएको सहमतिअनुसार अनलाइन पेमेण्टलाई मान्यता दिएसँगै नेपाल राष्ट्र बैङ्कको चेकलाई समेत मान्यता दिन समेत आग्रह गरेको छ । छलफलमा महानिर्देशक भट्टराईले भन्सार विभागसँग विगतमा भएको सहमतिमा केही विषय संशोधन गर्नुपरेमा दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र थप गर्नुपर्ने भए सो सुझाव समेत विभागले मनन् गर्ने बताए । नाडाबाट प्राप्त सुझावहरूका विषयमा आवश्यक पहल गरिने महानिर्देशक भट्टराईले आश्वासन दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL