Logo

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, बोर्डले नेप्सेलाई पत्र काटेर अघि बढायो कारबाही प्रक्रिया

निफ्राको सेयरमा नेप्सेकै मिलेमतोमा आउटसाईडर ट्रेडिङ, बोर्डले नेप्सेलाई पत्र काटेर अघि बढायो कारबाही प्रक्रिया



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)को तथ्याङ्क अनुसार लगातारत ८ दिनसम्म १० प्रतिशतले बढेर त्यसपछि नेगेटिभ सर्किट लागेको नेपाल पूर्वाधार बैंक (निफ्रा) को सेयर आज (बुधबार) इतिहासमै पहिलो पटक १०० प्रतिशतले घट्न पुगेको छ । नेप्सेकै तथ्याङ्कलाई आधार मान्ने हो भने निफ्राको सेयर प्रतिकित्ता ५९४ रुपैयाँ ऋणात्मकमा कारोबार भइरहेको छ । जबकि नियमत कुनै पनि कम्पनीको सेयर एक दिनमा १० प्रतिशतभन्दा बढीले घटबढ हुन सक्दैन ।

laxmi

लामो समयदेखि लगानीकर्ताले नेपालको सेयर बजारमा इन्साईडर ट्रेडिङ (भित्री गोप्य सुचनाको आधारमा कारोबार) भैरहेको बताउँदै आएकोमा आजको नेप्सेको कारोबार प्रणालीले आउटसाईडर ट्रेडिङ (बाहिरी रुपमै सुचना बेचेर गरिने कारोबार वा खुलमखुला बदमासी) भैरहेको पुष्टि गरेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले लगानीकर्ताहरुले नेप्सेको तथ्याङ्क हेरेर जसरी सेयर कारोबार गरिरहेका छन् यो सरासर गलत र भ्रम मात्रै हो,’ एक ठूला लगानीकर्ताले भने, ‘वास्तविक रुपमा कम्पनीको सेयर बढेको हुन्छ तर नेप्सेले देखाउने तथ्याङ्कमा घटेको देखाईन्छ ।’

जसका कारण नेप्सेले देखाउने इन्डेक्स तथा बजार पूँजीकरण माथि नै प्रश्न उठेको र त्यसरी देखाईएको तथ्याङ्क नै अविश्वसनीय रहेको लगानीकर्ताहरुको आरोप छ । साथै पछिल्लो समय नेप्सेको लापरबाही, गैरजिम्मेवारी र मनपरीतन्त्र मौलाउँदै गएको र यस विषयमा नियामक निकाय धितोपत्र बोर्ड मौन बस्दा लगानीकर्ताहरु थप मारमा परेका छन् । ‘नेप्सेले कुनै गल्ती गर्यो वा त्यस विषयमा उजुरी गर्यो भने नियामक निकाय धितोपत्र बोर्ड पत्र काटेर स्पष्टीकरण सोधर पन्छिदै आएको छ,’ एक लगानीकर्ता भने, ‘सेबोनले लाखौं लगानीकर्ताको लगानी रहेको तथा ३५ खर्बको पूँजीकरण भएको सेयर बजार बचाउन सो सम्बधमा विस्तृत छानविन गरेर नेप्सेलाई कारबाहीको दायरामा ल्याउने कि पत्र काटेर पन्छिने ?’

साथै नेप्सेले सिमित लगानीकर्ताको स्वार्थमा लाखौ लगानीकर्तालाई मारमा पार्दे तथ्याङ्कनै तलमाथि पारेर सेयर कारोबार गराउँदै आएको समेत लगानीकर्ताको आरोप छ । पछिल्लो समय बढ्दो बजारमा केही समयअघि प्राथमिक सेयर (आईपीओ) जारी गरेको निफ्राको सेयरमा दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको थियो । दैनिक १० प्रतिशतले बढेको बजारमा मंगलबार केही समयको अन्तरालमा २० प्रतिशतको घटबढ हुन पुग्यो । नेप्सेको तथ्याङ्कलाई आधार मानेर सेयर कारोबार गर्दा भित्री तथ्याङ्क भने अर्कै रहेका कारण पछिल्लो समय लगानीकर्ताहरु मारमा पर्ने गरेको सम्बघ लगानीकर्ताहरुको आरोप छ ।

समाचार तयार पार्दासम्म अर्थात १२ बजेर ५० मिनेट जाँदा नेप्से परिसुचक ५८.३७ अंकले घटेको तथ्याङ्कमा देखिएको छ । बजारमा प्रभुत्व जमाएका बैंक तथा इन्स्योरेन्स लगायतका सबै समुहको परिसुचक दोहोरो अंकको वृद्धि हुँदा अतिरिक्त समुहको परिसुचक मात्र घट्दा समग्र नेप्से परिसुचकमा जुन रुपमा गिरावट आएको देखिएको छ त्यो वास्तविक घटाई नभई नेप्से व्यवस्थापकले तथ्याङ्कमा गरेको खेलबाड भएको समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।
यस विषयमा बुझ्दा नेप्सेका प्रवक्ता मुराहरी पराजुली भने के कारणले यस्तो भयो यस विषयमा आफुनै अचम्ति परेको बताउँछन् । ‘हाम्रो कारोबार प्रणाली म्यानुअल्ली संचालन गर्न मिल्दैन तर अटोमेशनमा रहेको प्रणालीमा कसरी निफ्राको सेयरको अन्तिम कारोबार मूल्य शुन्यमा बस्यो हामीले पनि पत्ता लगाउन सकेका छैनौं,’ उनले भने, ‘यस विषयमा हामीले थप अनुसन्धान गरिरहेका छौं ।’

यसैगरी नियामक निकाय धितोपत्र बोर्डले भने नेप्सका कारण लाखौ लगानीकर्ता मारमा परेको भन्दै नेप्सेलाई चिठ्ठी नै काटेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको छ । ‘नेप्सेले डाटामा म्यानुपुलेशन गरेर सिस्टम नै विगार्यो भन्ने गुनासो आएपछि हामीले लिखित रुपमै पत्र काटेर स्पष्टिकरण सोधेका छौं,’ बोर्ड उच्च स्रोतले भन्यो, ‘नेप्सेका कारण लाखौ लगानीकर्ता मारमा परेको देखियो थप छानविन गरेर कारबाही गर्नेछौं ।’

नेप्से पटक पटक साइटमा समस्या आएको भन्दै तथ्याङ्कमा खेलेर लगानीकर्ता मारमा पारेका कारण अब नयाँ स्टक एक्स्चेञ्ज चाहिएको सम्बद्ध सरोकारवालाहरु बताउँछन् । ‘नेप्सेले जहिले पनि तथ्याङ्कमा म्यानुपुलेशन गरेर बजारमा खेलबाड गर्छ अनि गुनासो गर्यो वा नियामक निकायले स्पष्टीकरण सोध्यो भने सफ्टवेयरमा समस्या आएको भन्दै पन्छिदै आएको छ,’ एक लगानीकर्ताले भने, ‘नेप्सेले आफ्नो स्वार्थमा तथ्याङ्क माथि म्यानुपुलेशन गर्दा लाखौं लगानीकर्ताले अरबौं रकम गुमाएका छन् त्यसको क्षतिपूर्ति कसले दिन्छ ?’ बजारमा स्वच्छता ल्याएर पारदर्शी र प्रतिस्पर्धी बनाउनका लागि समेत नयाँ स्टक एक्स्चेञ्जको आवश्यकता रहेको लगानीकर्ताहरु बताउँछन् ।

साथै नेप्सेले आज साईटका समस्या आएको भन्दै आज निफ्राको कारोबार निलम्बर गर्दै रोक्का गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL