Logo

सेयर बजारमा ‘कालो धन’ रोक्न ब्रोकर र मर्चेन्ट बैंकरको रेटिङ गर्दै धितोपत्र बोर्ड, जारी गर्यो जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल

सेयर बजारमा ‘कालो धन’ रोक्न ब्रोकर र मर्चेन्ट बैंकरको रेटिङ गर्दै धितोपत्र बोर्ड, जारी गर्यो जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल



काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक आफुले लाईसेन्स दिएका कम्पनीहरुको जोखिममा आधारित सुपरिवेक्षण गर्ने भएको छ । बोर्डले अपराधजन्य कार्यबाट आर्जित आय (कालो धन) लाई सेयर बजारको माध्यमबाट सम्पत्ति शुद्धीकरण नहोस भन्ने उद्देश्यअनुरुप अन्तरराष्ट्रिय अभ्यास अनुसार सुपरिवेक्षण गर्न लागेको हो ।

बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अन्तरराष्ट्रिय अभ्यासअनुरुप फाइनान्सियल एक्सन टास्क फोर्स तथा एशिया प्रशान्त समूह (एपिजी) को मापदण्डहरुलाई समेत आधार मानेर सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल, २०७७ जारी गरेको हो ।

साथै अपराधजन्य कार्य तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सम्बन्धमा “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४”, “सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण नियमावली, २०७३” तथा नेपाल धितोपत्र वोर्डबाट जारी भएको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न तथा नेपाल धितोपत्र वोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी काम कारवाहीलाई थप नियमित तथा व्यवस्थित गर्नका सुपरिवेक्षण म्यानुअल जारी गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

‘अबका दिनमा बोर्डले लाईसेन्स दिएका ब्रोकर, मर्चेन्ट बैंकर, क्रेडिट रेटिङलगायतका स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारणको आधारमा १ देखि ५ स्तरमा वर्गीकरण गरिनेछ,’ उनले भने, ‘सोही आधारमा त्यस्ता कम्पनीको उच्च निगरानीमा राखेर नियमन तथा अनुमगन गरिने छ ।’

जस अन्तरगत बोर्डले धितोपत्र व्यवसायीले प्रदान गर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्च पदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम, धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्थालगायतको अनुगमन तथा मूल्याङकन गर्ने छ । सोही आधारमा ब्रोकर तथा मर्चेण्ट बैंकरको वर्गीकरण गरिने समेत ढुंगानाले जानकारी दिए ।

उक्त व्यवस्था पछि वोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारण सम्बन्धी प्रचलित कानूनमा भएको व्यवस्थालाई अझ प्रभावकारी रुपमा अनुगमन एवं निरीक्षण गर्न तथा व्यवसायीहरुको सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कामकारवाहीहरु थप नियमित तथा व्यवस्थित सहज हुने बोर्डको विश्वास रहेको छ । साथै सेयर बजारमा स्रोत नखुलेको रकम प्रवेशमा रोक लगाई लगानीमैत्री तथा पारदर्शी धितोपत्र बजारको विकासमा टेवा पुग्ने बोर्डको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL