Logo

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न ४८ कम्पनी ईच्छुक

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न ४८ कम्पनी ईच्छुक



काठमाडौं । भदौ पहिलो हप्ता यता ‘बुक बिल्डिङ’ विधिबाट निष्काशन हुने आईपीओमा सहभागी हुन ४८ संस्थागत लगानीकर्ताले धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

गत साउनको अन्त्यमा बुक बिल्डिङ निर्देशिका २०७७ जारी गरेको बोर्डले गत भदौ ३ गते सूचना प्रकाशित गरी निर्देशिका २०७७ बमोजिम योग्यता पुगेका योग्य संस्थागत लगानीकर्तालाई ३५ दिनभित्र निवेदन पेश गर्न आग्रह गरेको थियो ।

हालसम्म ‘बुक बिल्डिङ’ प्रक्रियामा सहभागी हुन ४८ कम्पनीहरुले आवेदन दर्ता गराएका छन् ।
बोर्डका मापदण्ड अनुसार विवरण बुझाएका आवेदन स्वीकृत गर्ने काम भने अर्को साताबाट गरिनेछ । प्राप्त आवेदनको जाँचबुझ गरी बोर्डले योग्य संस्थागत लगानीकर्तालाई स्वीकृति दिई सूची तयार पार्नेछ ।

बोर्डले स्वीकृति दिएपछि योग्य लगानीकर्ताले बुक बिल्डिङ विधि मार्फत निष्काशन हुने आइपीओमा सहभागी हुन सक्नेछन् ।

बोर्डले सूचीकृत संगठित संस्था, विशेष ऐनद्वारा स्थापित वित्तीय संस्था, सामूहिक लगानी कोष व्यवस्थापक, सामूहिक लगानी कोषका योजना, मर्चेन्ट बैंकर, मान्यता प्राप्त अवकाश कोष, धितोपत्र व्यापारी र नेटवर्थ न्यूनतम १० करोड भएका धितोपत्रमा लगानी गर्ने उद्देश्यले स्थापित लगानी कम्पनीले आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL