Logo

कोरोना कहर : नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा

कोरोना कहर : नुवाकोट र काभ्रेपलाञ्चोकका यात्रुलाई निःशुल्क बससेवा



काठमाडौं । विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई मध्यनजर गर्दै नुवाकोट र काभ्रेपलाञ्चोक जाने यात्रुलाई निःशुल्क बससेवा सञ्चालन गरिने भएको छ । ग्रेटफुल टुर्स एण्ड ट्रान्सपोर्ट प्रालिले नुवाकोटको त्रिशूली र काभ्रेपलाञ्चोकको दोलालघाटसम्म जानका लागि आइतबारदेखि चार ओटा बस सञ्चालन गर्न लागेको हो । तीमध्ये दुई काभ्रेपलाञ्चोक र दुई नुवाकोट जानेछन् ।

ट्रान्सपोर्टका प्रबन्ध निर्देशक रमेश गौतमले सवारी साधन नपाएर नुवाकोट र काभ्रेपलाञ्चोक जान रोकिएका यात्रुलाई मध्यनजर गरेर निःशुल्क बस सञ्चालन गर्न लागेको जानकारी दिएका हुन । उनले भने, ‘आइतबारदेखि सञ्चालन हुने बससेवा यात्रुको संख्यामा वृद्धि भए विस्तारै बस बढाउँदै लान्छौं ।’ देशलाई दुःख परेका बेला आफूले सहयोग गर्न लागेको प्रबन्ध निर्देशक गौतमको भनाइ थियो ।

विश्वमा फैलिएको कोभिड–१९को संक्रमण नेपालमा फैलन नदिन सरकारले यही चैत १० गतेदेखि लामो दूरीमा चल्ने सार्वजनिक सवारी साधन आवतजावतमा रोक लगाउने निर्णयसमेत गरिसकेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL