Logo

पुनः वियरिस ट्रेण्डमा नेप्से, शिवमले उल्टो सर्किट हान्दा बेच्नेको भिड

पुनः वियरिस ट्रेण्डमा नेप्से, शिवमले उल्टो सर्किट हान्दा बेच्नेको भिड



काठमाडौं । केही समय सामान्य बढ्न लागेको नेप्से परिसुचकले पुनः वियरिस ट्रेण्ड समातेको छ । केही समय वियरिस ट्रयापमा रुमलिएको नेप्से पुनः ओरालो लाग्न सुरु गरेको हो ।

laxmi

लामो समय घटेको बजार केही समय सामान्य बढ्न पुगेको थियो । तर केही समय नेप्से परिसुचक वियरिस ट्रयापमा रुमलिएको र पछिल्लो समय पुनः घट्न थालेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

गतहप्ताको दोस्रो दिन परिसुचक र कारोबार रकम दुबैमा उच्च वृद्धि भएपनि त्यसयता नेप्से परिसुचक लगातार ओरालो लागेको छ । चालू आर्थिक बर्षको पहिलो त्रैमासमा अधिकांश कम्पनीको वित्तीय विवरण खस्किएको र कतिपय कम्पनीहरुले गत आबको मुनाफाबाट दिने लाभांश समेत घटेका कारण बजार घट्न पुगेको एक लगानीकर्ताले जानकारी दिए ।

‘चालू आबको पहिलो त्रैमासमा अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्ने कतिपय कम्पनीको मुनाफा बढ्नुको सट्टा घट्न पुगेको छ,’ एक लगानीकर्ताले भने, ‘अहिले नै कतिपय कम्पनीको गत बर्ष दिएकोभन्दा लाभांश घटेको र अहिले प्रकाशित भएको वित्तीय विवरण अनुसार आगामी बर्ष अझै नाफा घट्न सक्ने संकेतले गर्दा लगानीकर्ताहरु हतोत्साहित बन्न पुगेका छन् ।’

बजारमा सेयर फ्लो बढि भएको र त्यसको तुलनामा तरलता कम भएकाले पनि बजार ओरालो लागेको नेपाल बैंकका अध्यक्ष तथा पूँजीबजार विज्ञ वासुदेव अधिकारी बताउँछन् । ‘नेपालमा व्यवहारिकभन्दा पनि हल्लाको भरमा सेयर बजार चल्ने गरेको छ,’ उनले भने, ‘लामो समयदेखि बजार ओरालो लाग्दा लगानीकर्ताको मनोवल खस्किएको र पूँजी बजारमा सम्बन्धी सामान्य खालका नकारात्मक हल्ला आउँदा पनि लगानीकर्तहरुले अतालिएर सेयर बिक्री गर्न थालेका छन् ।’

विशेषगरी मार्केट मेकरका रुपमा आएकार म्युचुअल फण्डहरुले पनि उद्देश्य अनुरुप काम गर्न नसक्दा बजारमा नकारात्मक प्रभाव पर्न गएको छ । बजारलाई स्थायित्व दिनका लागि ल्याईएको म्युचुअल फण्डहरुले बजार घट्न थालेसँगै लगानी गर्नुको सट्टा आफुसँग भएको पैसा बैंकमा डिपोजिट गर्दा बजारमा लगानीकर्ताको प्रवेशभन्दा बाहिरिने क्रम बढि रहेको छ ।

बजारमा म्युचुअल फण्ड तथा ठूला लगानीकर्ताको प्रवेश नगरेको र हाल भइरहेका लगानीकर्ता पनि टिक्न नसक्ने अवस्था भएपछि दैनिकजसो परिसुचकका साथै कारोबार रकममा पनि गिरावट आइरहेको छ । केही समयअघि सम्म आकर्षण मानिएको शिवम सिमेन्ट पनि पछिल्लो समय ह्वात्तै घट्न पुगेको छ । साताको पहिलो दिन शिवम्ले उल्टो सर्किट हाल्दा बजारमा बिक्रीगर्नेको भिड लागेको छ ।

अहिले धेरै जसो जलविद्युत कम्पनीको सेयर प्राथमिक सेयर (आईपीओ) मूल्यभन्दा पनि धेरै तल आईसकेको छ भने बाणिज्य बैंकहरुको सेयर पनि एकदमै सस्तो मूल्यमा कारोबार भइरहेको छ । आईतबार नेप्से परिसुचक साढे ४ अंकले घट्दा ३५ करोड ५१ लाख रुपैयाँको मात्र सेयर खरिदबिक्री हुन पुग्यो । जसमा १ सय ६३ कम्पनीको ११ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको छ ।

घट्दो बजारमा व्यापार र अतिरिक्त बाहेक सबै समुहका परिसुचक ओरालो लागेका छन् । जसमा सबैभन्दा बढि उत्पादनमुलक समुहको परिसुचक १ सय ३ अंकले घटेको छ । केही समयअघिसम्म बजार घट्दा पनि उकालो लागिरहेको उत्पादनमुलक समुहको परिसुचक अहिले सबैभन्दा बढि ओरालो लागिरहेको छ । यसैगरी बजार होटल, जलविद्युत, निर्जीवन बीमा तथा जीवन बीमा समुहको परिसुचक दोहोरो अंकले घट्न पुगेको छ ।

आईतबार सबैभन्दा बढि शिवम सिमेन्टको सेयर कारोबार भएको छ । लगानीकर्ताहरुले घाटा खाएरै भएपनि उक्त कम्पनीको सेयर बिक्रीका लागि होडबाजी गरिरहेका छन् । उक्त कम्पनीको खरिदकर्ता शुन्य हुँदा बजारमा बिक्रीकर्ताको चाप उच्च थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL