Logo

९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला, जुत्ता मेला भने असोज १२ सम्म चल्ने

९२ हजारले अवलोकन गर्दै सकियो स्टक क्लियरेन्स मेला, जुत्ता मेला भने असोज १२ सम्म चल्ने



काठमाडौं । दशैंको अवसर पारेर राजधानीको भृकुटीण्डपमा आयोजना गरिएको स्टक क्लियरेन्स मेला आइतबार सम्पन्न भएको छ ।

५ दिनसम्म चलेको उक्त मेलामा ९२ हजार जनाले अवलोकन गरेका छन् । बुधबार देखि सुरु भएको सो मेलामा सस्तोमा सामान किन्न आउनेहरुको भिडले गर्दा व्यवसायीहरु उत्साहित बनेको आयोजकले जानकारी दिएका छन ।

इभेण्ट सोलुसन प्रालिको आयोजनामा संचालन भएको मेलाले एकै छानामुनी सेवाग्राहीलाई सस्तो मूल्यमा गुणस्तरीय सामान किन्ने अवसर प्रदान गरेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । आगामी दिनहरुमा पनि यस किसिमका मेलाहरुलाई चेम्रले प्रवद्र्धन गर्दै लैजाने उनको भनाइ रहेको छ ।

‘दशैंको बेला सस्तो मेला’ भन्ने नाराका साथ संचालन गरिएको मेलाबाट उपभोक्ता र व्यवसायी दुवै लाभान्वित भएको इभेण्ट सोलुसनका बजार निर्देशक नविन भट्टले जानकारी दिएका छन । मेलामा बिएफ डियर हिल, रन सुज, शिखर सुज र शुल्याण्डका १ हजारभन्दा बढी मोडलका जुत्ता तथा चप्पलहरुमा बढी भिढ लागेको बिएफ डियर हिलका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानेका अनुसार स्टक क्लियरेन्स मेला सकिए पनि ४ ब्राण्डको जुत्ता मेला भने फूलपातीसम्म निरन्तर चलिरहने छ । एक्स्पोमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, चीन, थाइल्याण्ड र जापानका उत्पादन तथा प्रदर्शकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL