काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी फोन पे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने तयारीमा जुटेको छ। कम्पनीले हालको चुक्ता पुँजीको २० प्रतिशत सर्वसाधारणलाई सार्वजनिक सेयरस्वरूप जारी गर्ने योजना बनाएको हो।
हाल फोन पेको चुक्ता पुँजी ५१ करोड रुपैयाँ रहेको छ। यदि कम्पनीले अंकित मूल्यमै सेयर जारी गरेमा १० करोड २० लाख रुपैयाँ बराबरको आईपीओ हुनेछ, जसपछि चुक्ता पुँजी ६१ करोड २० लाख रुपैयाँ पुग्नेछ। यद्यपि, कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गर्ने सम्भावना रहेको र यसबारे अन्तिम निर्णय भने भइनसकेको जानकारी प्राप्त भएको छ।
यसैबीच, खेतान समूहले कम्पनीमा लगानी गर्न लागेको छ। एफवान सफ्टको स्वामित्वमा रहेको फोन पेमा खेतान समूहले २० प्रतिशत सेयर खरिद गर्ने तयारी गरिरहेको छ। यसका लागि हाल कम्पनीले नेपाल राष्ट्र बैंकसँग स्वीकृति मागिरहेको छ। करिब ६ वर्षदेखि सञ्चालनमा रहेको एफवान सफ्ट, डिजिटल भुक्तानी सेवा प्रदायक संस्थाहरूमध्ये एक प्रमुख कम्पनीका रूपमा स्थापित भइसकेको छ। हाल कम्पनीमार्फत वार्षिक सात खर्ब रुपैयाँ हाराहारीको भुक्तानी क्युआर कोड प्रणालीमार्फत हुँदै आएको छ।
कम्पनीले वार्षिक रूपमा १६ करोड रुपैयाँ हाराहारी आम्दानी गरिरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा फोन पेले सेयरधनीलाई १०।५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।