काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले अड लट खरिद तथा बिक्री आदेश देखिने सुविधा सुरु गरेको छ। साउन १ गतेदेखि आफ्नो वेबसाइटको डेप्थ सेक्शनमा देखिनेगरी नेप्सेले उक्त सुविधा सुरु गरेको हो ।
नेप्सेको उक्त निर्णयले अड लट भएका धितोपत्र बिक्री गर्न नपाएको भन्ने लगानीकर्ताको गुनासो समाधान हुने नेप्सेले विश्वास लिएको छ।
धितोपत्र कारोबार विनियमावली, २०७५ अनुसार अड लट कारोबारसम्बन्धी प्रावधान स्पष्ट गरिएको छ। विनियमावली अनुसार, धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएको खण्डमा १०० कित्ता, १०० रुपैयाँ भएमा १० कित्ता र १,००० रुपैयाँ भएमा १ कित्तालाई बोर्ड लट भनिएको छ।
यसभन्दा कम परिमाणको कारोबारलाई अड लट कारोबार मानिने व्यवस्था छ। यस्ता कारोबार मूल्य परिवर्तन सीमा तथा बजार परिसूचक गणनामा समावेश गरिंदैनन्। साथै, बोर्ड लटमा रहेका धितोपत्रलाई टुक्र्याएर अड लट बनाउन नपाइने स्पष्ट व्यवस्था विनियमावलीमा उल्लेख गरिएको छ।
नेप्सेले नयाँ सुविधा लागू गरेसँगै अड लट कारोबारसम्बन्धी पारदर्शिता बढ्ने र लगानीकर्ताको सहभागिता थप सशक्त हुने अपेक्षा गरिएको छ।