काठमाडौं । नेपालमा पछिल्लो समय चिनियाँ विद्युतीय सवारी साधन आयातको प्रतिस्पर्धा बढेसँगै त्यसले देशको अर्थतन्त्र माथि नै उच्च जोखिमको घण्टी बजाएको छ । नेपाली बजारमा दर्जनौं चिनियाँ ब्रान्डका विद्युतीय गाडीहरू भित्रिएका छन् । जसमा वीवाईडी, ली, नेटा, किंगलंग, डायुन, ओमोडालगायत ब्रान्डहरू प्रमुख छन । तर, हालै परामर्शदाता संस्था एलिक्स पार्टनर्सले सार्वजनिक गरेको प्रतिवेदनले चिनियाँ विद्युतीय सवारी साधन बजारको कठोर वास्तविकता उजागर गरिदिएको छ ।
प्रतिवेदनअनुसार, हाल चीनमा विद्युतीय र प्लग–इन हाइब्रिड सवारी साधन बिक्री गर्ने १ सय २९ ब्रान्ड छन् । जसमध्ये सन् २०३० सम्म जम्मा १५ ब्रान्ड मात्रै आर्थिक रूपमा दिगो रहनेछन् अर्थात हाल संचालनमा रहेका थुप्रै कम्पनीहरु बन्द हुने छन् । यो निष्कर्षले नेपालमा चिनियाँ ब्रान्डका विद्युतीय गाडी आयात गर्ने कम्पनीहरू र तिनका खरिदकर्ताहरूको भविष्यमाथि नै गम्भीर प्रश्न उठाएको छ ।
एलिक्स पार्टनर्सको प्रतिवेदनले सन् २०३० सम्म बाँकी रहने १५ ब्रान्डले चीनको विद्युतीय र प्लग–इन हाइब्रिड बजारको ७५ प्रतिशत हिस्सा ओगट्ने र ती प्रत्येकले वार्षिक औसत १० लाख २० हजार गाडी बिक्री गर्ने अनुमान गरेको छ । तर, कुन–कुन ब्रान्ड बाँच्नेछन् भन्ने खुलासा भने हाल गरिएको छैन । यो अवस्थाले नेपालमा आयात भएका चिनियाँ ब्रान्डहरू, विशेषगरी नेटाजस्ता गाडीको भविष्य अनिश्चित बनेको छ । उदाहरणका लागि नेपालमा भित्रएका विद्यूतीय गाडीमध्ये हालसम्म नेटा भी गाडीको उत्पादक होजोन न्यु इनर्जी अटोमोबाइलले सन् २०२५ जुनमा टाट पल्टिने प्रक्रियाका लागि आवेदन दिएको छ । यो समाचारले नेपालमा सीजी मोटर्समार्फत आयात भएका हजारौं नेटा भी खरिदकर्ताहरूलाई चिन्तित बनाएको छ ।
नेपालमा चिनियाँ विद्युतीय गाडीहरूको आयात चौधरी ग्रुपअन्तर्गतको सीजी मोटर्स, वीवाइडीको आधिकारिक वितरक साइमेक्स, र अन्य कम्पनीहरूले गरिरहेका छन् । प्रतिवेदनअनुसार हालसम्म बीवाइडी र ली अटोबाहेक कुनै पनि चिनियाँ विद्युतीय सवारी साधन कम्पनीले नाफा कमाउन सकेका छैनन् । विश्व बजारमा प्रभुत्व जमाउन सफल बीवाईडी भने नाफामा रहेको उक्त प्रतिवेदनमा उल्लेख छ ।
नेपालमा सीजी मोटर्सले सन् २०२२ मा नेपालमा होजोन कम्पनीको नेटा भी लन्च गरेको थियो । तर, होजोनको आर्थिक संकट र उत्पादन ठप्प हुँदा नेपालमा नेटा भीको आपूर्ति, सर्भिसिङ, र स्पेयर पाट्र्सको उपलब्धतामा समस्या आउने निश्चित छ । यस्तै, अन्य चिनियाँ ब्रान्डहरूको अवस्था पनि सन्तोषजनक नरहेको एलिक्स पार्टनर्सको प्रतिवेदनले संकेत गर्छ ।
चीनको विद्युतीय सवारी साधन बजार विश्वकै सबैभन्दा प्रतिस्पर्धी मानिन्छ । यहाँ मूल्य प्रतिस्पर्धा, छिटो प्रविधि विकास, र नयाँ प्रवेशकर्ताहरूले बजारको मापदण्ड उच्च बनाएका छन् । तर, यही प्रतिस्पर्धाले धेरै कम्पनीहरूलाई आर्थिक संकटमा धकेलेको छ । गत वर्ष चीनका सवारी उत्पादन कारखानाहरूको क्षमता उपयोग दर ५० प्रतिशतमा झरेको थियो, जुन एक दशककै न्यून हो । यो अवस्थाले कम्पनीहरूको नाफामा थप दबाब सिर्जना गरेको छ ।
नेपालमा चिनियाँ विद्युतीय गाडी आयात गर्ने कम्पनीहरूले उत्पादकको आर्थिक स्थिति र दीर्घकालीन विश्वसनीयताको गहन अध्ययन नगर्दा उपभोक्ताहरू जोखिममा परेका छन् । नेटा भीको उत्पादक होजोनको दिवालिया प्रक्रियाले सीजी मोटर्सको हचुवाको निर्णयलाई उजागर गरेको छ । यदि होजोन पूर्ण रूपमा टाट पल्टियो भने, नेपालमा बिक्री भएका नेटा भी गाडीहरूको सर्भिसिङ र स्पेयर पाट्र्सको अभावले ग्राहकहरू समस्यामा पर्नेछन् । यस्तै जोखिम अन्य चिनियाँ ब्रान्डका गाडीहरूमा पनि छ, किनभने १२९ मध्ये ११४ ब्रान्ड सन् २०३० सम्म बन्द हुने अनुमान छ ।
यो अवस्थाले नेपालमा चिनियाँ विद्युतीय सवारी साधनको आयातमा सरकारको नियमन आवश्यक रहेको देखाएको छ । आयातकर्ता कम्पनीहरूले उत्पादकको आर्थिक स्थिरता, प्राविधिक गुणस्तर, र बजार विश्वसनीयताको अनुसन्धान गर्नुपर्छ । सरकारले यस्ता कम्पनीहरूलाई कडा नीति लागू गरी उपभोक्ता संरक्षण सुनिश्चित गर्नुपर्छ । अन्यथा, नेपाली उपभोक्ताहरूको विश्वास र लगानी दुवै जोखिममा पर्नेछ ।
विश्व बजारलाई लिड गर्दै प्रतिस्पर्धी रुपमा आएको बीवाइडीजस्ता बलिया ब्रान्डहरूले नेपालमा आफ्नो स्थान बनाउन सक्छन्, तर कमजोर कम्पनीहरूको आयातले बजारमा अस्थिरता निम्त्याउने स्थिति पैदा भएको जानकारहरु बताउँछन् । यदि अहिले नै सरकारले जस्तो सुकै ब्राण्डलाई आयात गर्न दिने हो भने नेपाल विद्युतीय सवारी साधनको डम्पिङ साईड बन्नुका साथै त्यसको देशको अर्थतन्त्रमा समेत ठूलो जोखिम निम्त्याउने खतरा बढेको सम्बद्ध विज्ञहरु बताउँछन् ।