Logo

नेप्से, आईएफसी र युरोपियन युनियनको सहकार्यमा दुई दिने तालिम सम्पन्न, बैंक र निजी क्षेत्रका ९० बढी प्रतिनिधि सहभागि

नेप्से, आईएफसी र युरोपियन युनियनको सहकार्यमा दुई दिने तालिम सम्पन्न, बैंक र निजी क्षेत्रका ९० बढी प्रतिनिधि सहभागि



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) र नेपालस्थित युरोपियन युनियनको सहयोगमा दिगोपनसम्बन्धी अन्तरराष्ट्रिय वित्तीय प्रतिवेदन मापदण्ड (आईएफआरएस) मा आधारित दुई दिने तालिम सम्पन्न गरेको छ। तालिम युरोपियन युनियनको ‘साउथ एसियामा समावेशी र जलवायुमैत्री पूर्वाधार विस्तार कार्यक्रम (एसीएसआईआईएस)’ अन्तर्गत आयोजना गरिएको हो।

काठमाडौंमा सम्पन्न सो तालिममा निजी क्षेत्रका ४० जना प्रतिनिधि र बैंक तथा वित्तीय संस्थाबाट ५० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। आईएफसीका अनुभवी विज्ञहरूले सञ्चालन गरेको तालिमले नेपालमा अन्तर्राष्ट्रिय दिगोपन खुलासा मापदण्ड (आईएसएसबी) प्रति चासो बढ्दै गएको संकेत दिएको छ।

नेप्सेका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले तालिमको उद्देश्यबारे स्पष्ट गर्दै भने, ‘दिगोपनसँग सम्बन्धित वित्तीय सूचना पारम्परिक वित्तीय प्रतिवेदनसँगै उपलब्ध गराउँदा लगानीकर्तालाई कम्पनीले जोखिम व्यवस्थापन र सम्भावनाको खोजीमा अग्रसर रहेको सन्देश दिन्छ।’

आईएफआरएस मापदण्ड पछिल्लो समय बङ्गलादेश, श्रीलंका लगायत २० भन्दा बढी मुलुकले कानुनीरूपमा अपनाइसकेका छन्। यी मापदण्डले पारदर्शिता, लगानीकर्ताको विश्वास र दिगो व्यापारिक अभ्यासमा टेवा पुर्‍याउने विश्वास आयोजक संस्थाहरूले लिएका छन्।

तालिमका अवसरमा युरोपियन युनियनको नेपालस्थित प्रतिनिधिमण्डलकी उपप्रमुख गेर्त्रुई लोवागीले भनिन्, ‘नेपालमा देखिएको यो अभ्यास विश्वभर बढ्दो दिगोपन र जवाफदेहिताको अभियानसँग मेल खान्छ। जलवायु परिवर्तनको असरमा परिरहेको नेपालका लागि जोखिम चिन्नु र अवसरहरू उपयोग गर्नु अत्यन्तै जरुरी छ।’

उनका अनुसार, पारदर्शिताले लगानीकर्ता र सरोकारवालामा विश्वास बढाउँछ र दिगोपनको अभ्यासले दीर्घकालीन लाभ पुर्‍याउनेछ।

कार्यक्रममा सहभागीहरूले दिगोपन खुलासा मापदण्डको आधारभूत संरचना र यसको कार्यान्वयनबारे व्यवहारिक जानकारी हासिल गरेका थिए। नेपालमा निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अभ्यस्त गराउन तालिमले महत्वपूर्ण भूमिका खेलेको आयोजकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्