काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको नियुक्तिसँगै सेयरबजारमा निरन्तर गिरावट देखिएको छ । गत जेठ ६ गते मन्त्रिपरिषद्को बैठकले उनलाई केन्द्रीय बैंकको १८ औं गभर्नरमा नियुक्त गरेयता लगातार सेयर बजार ओरालो लाग्ने क्रम जारी छ । नयाँ गभर्नर आएसँगै सेयर बजारमा हरियाली छाउने लगानीकर्ताको अपेक्षा रहेपनि वास्तविकतामा उनको नियुक्तिपछि लगानीकर्ता नै निराश हुनेगरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक लगातार ओरालो लागिरहेको देखिन्छ ।
प्रा. डा. पौडेलले गभर्नरको जिम्मेवारी सम्हालेसँगै विभिन्न नीतिगत कदमहरू चालेका छन्, जसले बजारमा मिश्रित प्रतिक्रिया उत्पन्न गरेको छ । खासगरी, उनले बैंकर र व्यवसायी छुट्याउने नीतिलाई प्राथमिकतामा राखेका छन् । उनको यो नीतिले बैंकहरूले ठूला व्यवसायीहरूलाई मात्र कर्जा प्रवाह गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्ने उद्देश्य राखेको बुझिन्छ ।
उनले कर्जाको छानबिनलाई तीव्र बनाउने र कर्जा वितरणलाई सीमित व्यक्तिहरूमा मात्र केन्द्रित नगरी व्यापक बनाउने नीति अघि सारेपछि उनीप्रति लगानीकर्ताको विश्वास हराउँदै गएको लगानीकर्ताहरु बताउँछन् । यी कदमहरूले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई स्वस्थ बनाउने अपेक्षा गरिएपनि सेयरबजारमा यसको प्रभाव भने नकारात्मक देखिएको एक लगानीकर्ताले बताए ।
सेयरबजारका विश्लेषकहरूका अनुसार, गभर्नर पौडेलको मौद्रिक नीतिसम्बन्धी अनुभवको कमी र उनको पृष्ठभूमि कृषि विज्ञानमा पीएचडी भएकोले लगानीकर्ताहरूमा विश्वासको कमी देखिएको छ। उनले राष्ट्रिय योजना आयोगलगायत विभिन्न क्षेत्रमा काम गरेको अनुभव भए पनि केन्द्रीय बैंकको जटिल मौद्रिक नीतिहरू सञ्चालन गर्न आवश्यक विशेषज्ञताको अभाव भएको कतिपयको बुझाइ छ।
लगानीकर्ताहरूले नयाँ गभर्नरको नियुक्तिसँगै बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरेका थिए। विगतमा नयाँ गभर्नरको आगमनले बजारमा छोटो समयका लागि भए पनि उत्साह थपिने गरेको इतिहास छ। तर, पौडेलको कार्यशैली र नीतिहरूले बजारलाई तत्काल राहत दिन नसकेको देखिन्छ।
उनी गभर्नर भएकै दिन जेठ ६ गतेका दिन नेप्से परिसुचक ४९ अंकले बढेर २६ सय ७७ को विन्दुमा पुगेर बन्द भएको थियो । त्यसयता धेरैजसो दिन सेयर बजार परिसुचक घट्ने र केहिदिन मात्रै बढ्नै प्रवृत्ति देखिँदै आएको छ ।
यो हप्ताको अन्तिम कारोबार दिन आज पनि सेयर बजारमा करिव ६ अंकको गिरावट देखिएको छ । यसअघि उनी गभर्नर नियुक्त भएको केहि दिन नेप्से झिनो अंकसहित सकारात्मक दिशामा गएपनि उनको कार्यशैलीसँगै सेयर बजार ओरालो लागिरहेको देखिन्छ ।
आजसम्म आईपुग्दा सेयर बजार परिसूचक नेप्से ५.४९ अंकले घट्दै २६ सय ४० को विन्दुमा झरेको छ । आज कुल ३ सय ११ कम्पनीका १ करोड ७१ लाख ८ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९७ करोड माथि पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय ५३ कम्पनीको सेयरमूल्य घट्दा ९४ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको देखिन्छ । यसअघि यो हप्ताभर नै सेयरबजार ओरालो लागेको थियो ।