काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीहरुलाई सूचीबाट हटाएको छ । न्यून नेटवर्थ भएका धेरैजसो कम्पनीहरु आइपीओ निष्काशनको अनुमति माग्दै सेबोन पुगेपछि त्यसमध्येका केहि कम्पनीहरुलाई सेबोनले पाइपलाइनबाट हटाएको हो ।
पछिल्लो समय धेरैजसो (खासगरी जलविद्युततर्फका) कम्पनीहरुले न्यून नेटवर्थ हुँदाहुँदै पनि आइपीओ निष्काशनको अनुमति माग्ने गरेका छन् । त्यसमध्ये आज सोमबार हाइड्रो समुहका केहि कम्पनीहरुसँगै एकर्ड फर्म्यास्युटिकल्स, एपेक्स हस्पिटालिटी, अन्नपूर्ण केवलकार, अर्किड होल्डिंग, प्रभु हेलिकप्टर, कान्तिपुर टिभी लगायत रहेका छन् ।
यी कम्पनीहरु कतिपयको नेटवर्थ ९० रुपैयाँभन्दा कम रहेका कारण आइपीओ पाइपलाइनको सूचीबाट हटाउनुपरेको सेबोनका प्रवक्ता निरञ्जय घिमिरेले जानकारी दिए । ‘नेटवर्थ नै नपुगी आइपीओको अनुमति माग्ने कम्पनीहरु पनि छन्,’ उनले भने, ‘त्यस्ता कम्पनीहरुलाई आइपीओको पाइपलाइनको सूचीमा राखीराख्नुभन्दा हटाउनु उचित भएकाले हटाईएको हो ।’ सेबोनका अनुसार आइपीओको पाइपलाइनमा रहेका केहि जलविद्युत कम्पनीहरुको पीपीएको म्याद पनि सकिने अवस्थामा पुगेको छ ।