काठमाडौं । नेपाल राष्ट्र बैंकले ७८ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नका लागि बैंकहरुसँग प्रस्ताव माग गरेको हो । राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ६२ करोड ४० लाख राष्ट्रियस्तरका विकास बैंकहरुमा ११ करोड ७० लाख तथा वित्त कम्पनीहरुमा ३ करोड ९० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ ।
आगामी असोज २६ गतेदेखि लागू हुनेगरी २०८३ असोज २६ गतेसम्म अर्थात् १ वर्षको लागि मुद्दति निक्षेपका रुपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित असोज २३ गते बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म प्रस्ताव पेश गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तिमा २ वर्ष पूरा गरेको, न्युनतम पुँजी कोष कायम भएको, निष्कृय कर्जा कुल कर्जा सापटीको ८ प्रतिशत र खुद निष्कृय कर्जा अनुपात ३ प्रतिशत ननाघेको लगायतका शर्तहरु तोकिएको छ ।