Logo

स्टक ब्रोकर भेलाको म्यान्डेट : अध्यक्षका अन्य आकांक्षीले लिए उम्मेदवारी फिर्ता, ढकाल र तिमल्सिनालाई सहमति गर्न आग्रह

स्टक ब्रोकर भेलाको म्यान्डेट : अध्यक्षका अन्य आकांक्षीले लिए उम्मेदवारी फिर्ता, ढकाल र तिमल्सिनालाई सहमति गर्न आग्रह



काठमाडौं । स्टक ब्रोकर एसोसिएसनको भेलाले अध्यक्षका आकांक्षी सागर ढकाल र राजकुमार तिमल्सिनालाई एकआपसमा सहमति गरेर टुंगोमा पुग्न आग्रह गरेको छ। यसअघि अध्यक्षका लागि अन्य उम्मेदवारहरु भएपनि आइतबार भएको भेलाले अन्य उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिँदै ढकाल र तिमल्सिनालाई एकआपसमा सहमति गर्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्न आग्रह गरेका हुन्।

यसरी एसोसिएसनको आसन्न निर्वाचनमा पूर्व अध्यक्ष नरेन्द्र सिजापति, गुणनिधि भुसाल र टंक गौतमले पनि आफूलाई अध्यक्षको दावेदारीमा प्रस्तुत गरेका थिए। तर बानेश्वरमा हिजो भएको भेलाले तीनैजना अध्यक्षका आकांक्षीले आफूले उम्मेदवारी फिर्ता लिएको र ढकाल र तिमल्सिनालाई एकआपसमा सहमति गर्दै सर्वसम्मतिमा नेतृत्व चयन गर्न म्यान्डेट दिएका छन्। अध्यक्ष उम्मेदवारका अन्य आकांक्षीले ढकाल तिमिल्सिनालाई एकआपसमा मिल्न आग्रह गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएपछि केही दिनभित्रै सर्वसम्मति नेतृत्व चयन हुने सम्बद्ध स्रोतले जानकारी दिएको छ।

ढकालले सर्वसम्मतिमा अध्यक्ष बन्नका लागि आफ्नो समुहबाट शुरुमा ब्रोकर लाईसेन्स पाएको २३ वटा मध्येबाट १७ नम्बर ब्रोकरका नितिश कुमार अग्रवालाई उपाध्यक्षमा अघि सारेका छन् । उनी पुराना ब्रोकरका साथै यसअघि संस्थाको महासचिव भैसकेका र सेयर बजार सम्बन्धी राम्रो ज्ञान भएका व्यक्ति हुन् । यसैगरी उनले महासचिवमा दोस्रो चरणमा लाईसेन्स पाएका २७ वटा ब्रोकरमध्येबाट भक्तिराम घिमिरेलाई अघि सारेका छन् । ब्रोकर नम्बर ४५ का संचालक रहेका घिमिरे पनि पुँजी बजार सम्बन्धी राम्रो ज्ञान भएका सबैलाई समेटेर संस्थाको चलाउने क्षमता भएका व्यक्ति हुन् । ढकालले नयाँ पुराना सहित विभिन्न चरणमा लाइसेन्स पाएका ब्रोकरहरूलाई एकआपसमा समेटेर एसोसिएसनलाई अघि बढाउन पहल गर्दै आएको कुनै सम्बन्ध स्रोतले जानकारी दिएको छ।

सरकारले तीन चरणमा गरेर ब्रोकर लाईसेन्स वितरण गरेको थियो । जसमध्ये पछिल्लो पटक ४३ वटाको लाईसेन्स दिएको थियो । सरकारले नयाँ लाईसेन्स दिएसँगै नयाँ र पुराना गरी ब्रोकरहरु दुई कित्तामा विभाजन भएका थिए । तर व्यवसायीक हकहितका लागि सरकारसँग एक भएर लविङ गर्नका लागि भन्दै दुई संस्था एकआपसमा मर्ज भएका थिए । उक्त संस्था मर्ज भएसँगै नयाँ कार्यसमिति चयनको प्रक्रिया अघि बढेको छ।

हाल उपाध्यक्ष र महासचिवको उम्मेदवारको टुङ्गो लागेको र केही दिनभित्रै ९ जना कार्यसमितिको टुङ्गो लाग्ने ढकाल सम्बद्ध स्रोतले जानकारी दिएको छ । ‘हामी अहिले पनि छलफलमा छौं,’ ढकाल सम्बद्ध स्रोतले भन्यो, ‘हालसम्म अध्यक्ष, उपाध्यक्ष र महासचिवको उम्मेदवारको टुङ्गो लागेको छ । अब साथीहरुसँग छलफल गरेर सचिव, कोषाध्यक्ष र ४ जना सदस्यहरुको टुङ्गो लगाईने छ ।’

प्रतिक्रिया दिनुहोस्