Logo

यातायात व्यवस्था विभागले रद्ध गर्याे स्मार्टकार्ड, मास प्रिन्टर र सिस्टम खरिदको बोलपत्र, आवेदन दिएका दुवै कम्पनी अयोग्य

यातायात व्यवस्था विभागले रद्ध गर्याे स्मार्टकार्ड, मास प्रिन्टर र सिस्टम खरिदको बोलपत्र, आवेदन दिएका दुवै कम्पनी अयोग्य



काठमाडौं । सवारीचालक अनुमतिपत्रको कार्ड, मेशिन र सिस्टम खरिदका लागि आह्वान गरिएको टेण्डर रद्ध भएको छ । यसअघि गएको कार्तिक १० गते यातायात व्यवस्था विभागले जारी गरेको उक्त टेण्डरमा आवेदन दिएका कम्पनीको योग्यता नपुगेपछि टेण्डर नै रद्ध गरिएको हो ।

laxmi

पछिल्लो समय स्मार्ट कार्ड, पर्सनलाईजेशन सिस्टम र लाइसेन्स छाप्ने मास प्रिन्टर नै छुट्टाछुट्टै कम्पनीको भएपछि यसको आपुर्ति, छपाई र वितरणमा अन्यौलता सिर्जना हुँदै आएको थियो । सोही अन्यौलताको समाधान गर्नका लागि चालु आर्थिक बर्षको बार्षिक कार्यक्रममै विभागले अब स्मार्टकार्ड, मास प्रिन्टर र सिस्टमसमेत एउटै कम्पनीको बनाउने घोषणा गरेको थियो ।

सोही अनुसार विभागले कार्तिकमा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । सोही बोलपत्रमा भएका केहि कुराहरुमा आवश्यक कम्पनीको आवेदन नपरेपछि विभागले यसबीचमै ५ पटकसम्म यो बोलपत्र संशोधन पनि गरेको थियो ।

यसरी संशोधनपश्चात एउटा भियतनामी कम्पनी र फ्रान्सको ‘सेल्प’ ले ईच्छा जाहेर गर्दै आवेदन दिएका थिए । तर, विभागको मूल्यांकन समितिले मूल्यांकन गर्दा कानुनी योग्यता र बोलपत्रको पूर्णता परिक्षणमा असफल भएको विभागले जानकारी दिएको छ । जसका कारण हाललाई यसको बोलपत्र नै रद्ध गरिएको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विभागले पछिल्लो समय देखिएको कार्ड आपुर्ति, यसको छपाई र वितरणमा भईरहेको ढिलाईलाई मध्यनजर गर्दै एकैपटक १६ लाख कार्ड आपुर्ति गर्नेगरी टेण्डर आह्वान गरेको थियो ।

उक्त टेण्डरमा यी तिनै प्रणाली एकै आपुर्तिकर्ताले उपलब्ध गराउनुपर्ने उल्लेख गरिएपछि विभागले छाप्दै आएको लाईसेन्स छपाईको कामले तिव्रता पाउने र कार्ड आपुर्तिमा पनि अहिले भईरहेको ढिलाई हट्ने विभागले बताएको थियो ।
हाल विभागले छाप्ने लाईसेन्सका लागि कार्डको आपुर्ति जर्मनीको मुलबहुर आईडी सर्भिसले गर्दैछ भने यसको छपाईको काम ईटालीको माटिका कम्पनीको मास प्रिन्टरमार्फत भईरहेको छ ।

यसरी छपाई हुने कार्डमा डाटा पर्सनलाईजेशनको काम भने भारतको चेन्नेईस्थित मद्रास सेक्युरिटी प्रिन्टर्स (एमसएपी)ले गरिरहेको छ । हाल लाईसेन्स छापिरहेको मास प्रिन्टरको आपुर्तिकर्ता पनि एमससपी नै हो ।

यी तीनै कम्पनीबीच समन्वयको अभावकै कारण लाईसेन्स पर्सनलाईजेसन, छपाई र आपुर्तिमै समस्या भईरहेको थियो । त्यसैको समाधानका लागि नयाँ टेण्डर आह्वान गरिएपनि परेको आवेदनमा उचित क्राईटेरिया नपुगेपछि टेण्डर नै रद्ध गरिएको उनले बताए ।

यसअघि गत बर्ष नै आह्वान गरिएको १२ लाख स्मार्टकार्डमध्ये एक महिना अघि मात्रै जर्मनीको कम्पनीले ६ लाख स्मार्ट कार्ड नेपाल ल्याईपुर्याएको छ । यसअघि स्मार्टकार्डकै कमिका कारण विभागले करिव ४ महिनासम्म लाइसेन्स छाप्न सकेको थिएन । नयाँ कार्ड आएपछि विभागले लाइसेन्स छपाई गरेर भटाभट वितरणको काम थालेको छ । हाल विभागमा लाइसेन्सको माग करिव १२ लाख पुगेको छ भने प्रतिदिन छपाई जम्मा ४ हजार ५ सय मात्रै भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL