Logo

यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन, अब सार्वजनिक यातायात र सहचालक सफा नभए जरिवाना

यातायात व्यवस्था कार्यविधि निर्देशिका संशोधन, अब सार्वजनिक यातायात र सहचालक सफा नभए जरिवाना



काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई सफासुग्घर राख्नका लागि भन्दै यातायात व्यवस्था कार्यविधि निर्देशिका, २०६० संशोधन गरेको छ । विभागको आईतबारको निर्णय अनुसार निर्देशिकामा बुँदा ११ (क) थप्दै उक्त निर्देशिकामा परिमार्जन गरेको हो । जसअनुसार अव सार्वजनिक सवारीसाधनमा सरसफाई र स्वास्थ्य सम्बन्धी व्यवस्था र सार्वजनिक सवारीसाधनका कर्मचारीको व्यवहार र सरसफाईको व्यवस्था थप गरिएको छ ।

संशोधित निर्देशिका अनुसार अब सार्वजनिक यातायातको भित्र, बाहिर, सिट, सिलिङ, भुईँलगायत सफा हुनुपर्ने, लामो दुरीका सार्वजनिक सवारीसाधनले सरसफाई युक्त स्थानमा शौचालय र खाना खानका लागि ओराल्नुपर्ने, सवारीसाधनभित्र धुम्रपान र मदिरापान गर्न नपाईनेलगायतका व्यवस्था तोकिएका छन् । यस्तै संशोधित निर्देशिकामा सार्वजनिक सवारीसाधन छुट्नुअघि र सम्बन्धित स्थान पुगिसकेपछि सूचना प्रशारण गर्नुपर्ने उल्लेख छ । सूचनामा सम्बन्धित स्थानबाट छुट्न लागेको, पुगेको, फोहोर नगर्नुलगायतका सूचनामुलक सन्देश राखिएको छ ।

यस्तै संशोधित निर्देशिकाले गाडीका कर्मचारीले गर्ने व्यवहार र कर्मचारीहरुको सरसफाईमा पनि विशेष ध्यान पुर्याउनुपर्ने उल्लेख गरेको छ । जसमा चालक र सहचालकले आफ्नो सरसफाईमा बिशेष ध्यान दिनुपर्ने, यात्रुसँग शिष्ट र नम्र व्यवहार प्रस्तुत गर्नुपर्ने, चालक र सहचालकलाई व्यवस्थापकले नै परिचय खुल्ने पोशाक उपलब्ध गराउनुपर्नेलगायतका व्यवस्था गरिएका छन् ।
यसअघि बिजखबरले गत फागुनमा ”अराजक सार्वजनिक यातायात क्षेत्र : हेर्दै घिनलाग्दा गाडी, व्यवसायी आफ्नो फाईदामै मस्त, यात्रुलाई सास्ती” शिर्षककाे समाचार लेखेको थियो । जसमा काठमाडौंभित्रै चल्ने सार्वजनिक यातायातका साधनहरुको भित्री अवस्था नाजुक रहेको औंल्याईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL