Logo

२ अर्ब लगानीमा बनेको मौलाकाली केवलकार परियोजना संचालनमा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन

२ अर्ब लगानीमा बनेको मौलाकाली केवलकार परियोजना संचालनमा, प्रधानमन्त्री दाहालले गरे उद्घाटन



काठमाडौं । आईएमई ग्रूपको मुख्य लगानी रहेको मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् ।

laxmi

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताए । ‘आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको छ,’ उनले भने, ‘तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको छ यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्छ ।’ त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे ।

करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् । उक्त परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।

उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिब्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहनु भएका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबल कार समेतले प्रस्तुत गरेको बताए । मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न भएमा अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जाने अध्यक्ष ढकालको विश्वास छ ।

मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तिब्र पारेको बताउदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने अध्यक्ष ढकालले जानकारी दिए । मौलाकाली केबलकार सहितको पर्यटकीय पूर्वाधार रहेको स्थलको महत्व बारे उल्लेख गर्दै अध्यक्ष ढकालले चितवन, तनहूँ र नवलपुरको संगम क्षेत्र नेपालकै धार्मिक तथा सांस्कृतिक महत्वको पवित्र भूमी रहेको बताए । ‘मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ । यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो,’ उनले भने, ‘नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्नेछ ।’

पर्यटनको विकासमार्फत् स्थानीय नागरिकको जीवनस्तर उकास्दै देशको समृद्धि हासिल गर्ने कामलाइ निरन्तरता दिने ढकालले बताए । स्थानीय सांस्कृतिक महत्वका संरचनाहरु राष्ट्र र जनताका साझा सम्पत्ति रहेको भन्दै अध्यक्ष ढकालले नवलपुरको गहनाका रुपमा निर्मित मौलाकाली केवलकार सहितको पर्यटकीय संरचनालाई स्थानीय जनताको आफ्नै सम्पत्तिका रुपमा विकास गर्ने मोडल अघि सारि स्थानीय समुदायको अधिकतम सहभागीता गराइएको बताए ।

अहिले नेपाल आउने विदेशी पर्यटकको औसत खर्च तथा बसाई निकै कम छ र प्रतिदिन झन् घट्दो रहेको जानकारी दिँदै यसलाइ बढाउनु पर्ने चुनौती थपिएको बताए । पर्यटकलाई आकर्षित गर्ने, उनीहरुको नेपाल बसाई र खर्च बढाउने खालका थप ठूला पूर्वाधारहरु निर्माण गर्नुपर्ने आवश्यक रहेको समेत उनको भनाई थियो । ‘हामीलाई प्रकृतिले अपार सम्पदा बरदान दिएको छ । पर्यटन, प्रकृति र पर्यावरणमा हामीले गर्नसक्ने सम्भावना असंख्य छन् । त्यसमा हामीले हाम्रो भिजन र इच्छाशक्ति मिसायौँ र प्रविधि र पुँजी जोड्न सक्यौँ भने साँच्चिकै मिराकल हुन्छ,’ उनले भने, ‘मलाई लाग्छ, यो मुलुकको निजी क्षेत्र निश्चय पनि विकास र परिवर्तनमा यस्तै मिराकल ल्याउन सक्षम छ । हामीले पटकपटक यसको पुष्टि पनि गर्दै आएका पनि छौं ।’

धेरै स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लगानी भित्र्याउन प्रतिस्पर्धा गर्नुपर्छ र त्यसका लागि लगानीकर्ताहरुलाई आह्वान मात्र गरेर पुग्दैन ठोस र व्यवहारिक नीति मार्फत सहजीकरण गर्नु पर्ने पनि अध्यक्ष ढकालले बताए । समग्र मुलुकको निजी क्षेत्रको नेतृत्वका हैसियतले लगानीमैत्री वातावरण निर्माण गर्न नीतिगत सुधार र सहुलीयतपूर्ण व्यवस्थाले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउन सकिन्छ भन्नेमा आफु दृढ रहेको समेत ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL