Logo

निर्वाचन नजिकिँदा काठमाडौंकै सडकमा आधा घण्टासम्म जाम, ट्राफिकको सट्टा म्यादी प्रहरीले काम चलाईँदै

निर्वाचन नजिकिँदा काठमाडौंकै सडकमा आधा घण्टासम्म जाम, ट्राफिकको सट्टा म्यादी प्रहरीले काम चलाईँदै



काठमाडौं । बिहीबार ५ बजे न्युरोड कार्यालय बाट निस्केकी रिता सुनार आफ्नो डेरा कोटेश्वर पुग्न करिव १ घण्टा लाग्यो । नेपाल वायुसेवा निगमको कार्यालयको अगाडीबाट कोटेश्वर पुग्न सामाँन्यतया आधा घण्टा लाग्छ । तर, उनी ५ बजे निस्केर साढे ६ बजे मात्रै आफ्नो डेरा पुगिन्, यसको कारण थियो सवारी जाम ।

laxmi

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा भने सवारी जामको समस्या चुलिएको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ७ बजेसम्मको पिक समयमा काठमाडौं उपत्यकाका सडकहरु ठप्पप्राय हुन्छन् ।

सबै चोकमा सवारी व्यवस्थापनका लागि ट्राफिक प्रहरीलाई हम्मे हम्मे पर्छ, यात्रुहरुले कहिलेकहीँ आधा घण्टासम्मै जाममा वस्नुपर्ने अवस्था निम्तिएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा बढेको सवारीसाधन र सिमित पूर्वाधारका कारण सवारी जाम स्वभाविक रुपले बढेकै छ । त्यसमा पनि नजिकिँदै गएको चुनावले पनि यसमा प्रत्यक्ष असर गरेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन् ।

पछिल्लो समय चुनावका लागि भन्दै काठमाडौं उपत्यकाका सडकमा खटिएका ट्राफिक प्रहरीहरुलाई बाहिर खटाईएको छ । जसका कारण चोकहरुमा साविकको भन्दा कम ट्राफिक प्रहरीहरु छन् । कम जनशक्तिका कारण ट्राफिक व्यवस्थापनमा केहि समस्या आएको पनेरुले बिजखबरलाई जानकारी दिए ।

‘हामीले ट्राफिक प्रहरी महाशाखामै सोधेका थियौं,’ उनले भने, ‘अहिले निर्वाचनका कारण जनशक्तिको अभाव भएकाले ट्राफिक व्यवस्थापनमा केहि समस्या थपिएको हो ।’

पछिल्लो समय सडक र चोकमा बस्ने ट्राफिक प्रहरीको कमी भएपछि म्यादी प्रहरीबाट काम चलाईँदै आएको पनि उनले बताए ।
बढिरहेको सवारी चाप र साविककै सडक पूर्वाधारका कारण लगातार जामको समस्या बढिरहेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता राजेन्द्र प्रसाद भट्ट बताउँछन् । सरकारले सडक विस्तारमा ध्यान नदिने तर, सवारी मात्रै बढिराख्ने र चालकको प्रवृत्तिले पनि सवारी चापको समस्या बढाईदिएको उनको भनाई छ । ‘एकातिर बढेको सवारी चाप र चालकको प्रवृत्तिले चोकचोकमा बत्ति भएको ठाउँमा पनि ट्राफिकको आवश्यकता पर्छ,’ उनले भने, ‘हाल निर्वाचनका कारण केहि जनशक्ति बाहिर खटिनुभएकाले यसको व्यवस्थापनमा समस्या निम्तिएको छ ।’

काठमाडौं उपत्यकाबाट मात्रै निर्वाचनका लागि भन्दै करिव १ हजार जना ट्राफिक प्रहरीहरु बाहिर गएको उनले बताए । हाल धेरैजसो चोकहरुमा ट्राफिक बत्ति भएपनि सवारीचालकहरु बत्तिको वास्ता गर्दैनन् यसका लागि ट्राफिक नै चाहिने उनको भनाई छ । तर, हाल निर्वाचनका लागि केहि ट्राफिक प्रहरी बाहिर खटिएकाले ४ जना वस्नुपर्ने ठाउँमा एउटै ट्राफिकले काम चलाईरहेको उनले बताए । उनका अनुसार हाल ट्राफिक प्रहरीको सट्टा म्यादी प्रहरी, सिभिल प्रहरीले पनि सडकमा ट्राफिकको सेवा दिँदै आएका छन् ।

करिव २ बर्ष अघि काठमाडौं उपत्यकामा बढिरहेको सवारी जामको समस्या समाधानका लागि भन्दै काठमाडौं महानगरपालिका, ट्राफिक प्रहरी महाशाखा, यातायात व्यवस्था विभाग र सार्वजनिक सवारी व्यवसायीबीचको सहकार्यमा रत्नपार्क क्षेत्र वरीपरी पिक एण्ड ड्रपको व्यवस्था मिलाईएको थियो ।

यस्तै काठमाडौं महानरपालिकाले नै सडक सुरक्षाका लागि भन्दै अव्यवस्थित पार्किङको व्यवस्थापन गर्ने, फुटफाथ व्यवस्थापन गर्नेलगायतका कामहरु गरिरहेको छ । अझै पनि ट्राफिक जाम न्युनिकरणका लागि धेरै काम गर्नुपर्ने भएकाले अन्य सहजीकरणका कार्यक्रमहरु पनि गर्दै जाने महानगरको तयारी रहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धर बताउँछन् ।

उनका अनुसार महानगरपालिकाले सडक सुरक्षाका लागि भन्दै विभिन्न वर्कसपहरु आयोजना गर्दै आएको छ । यसकै लागि भनेर आगामी आईतबार पनि सडक सुरक्षा सम्बद्ध निकायसँग वर्कसप कार्यक्रमको आयोजना गर्न लागेको उनले बताए । ‘सडक सुरक्षाको पाटो पनि महानगरकै कार्यक्षेत्रमा पर्ने भएकाले सडकमा हुने दूर्घटना, जामलगायतमा हामीले विशेष चासो राख्छौं,’ उनले भने, ‘त्यसकै लागि फुटपाथको व्यवस्थापन, अव्यवस्थित पार्किङलगायतका कार्य गर्दै आएका पनि छौं, यो ट्राफिक प्रहरीलाई प्राविधिक सहयोग पनि हो ।

यता बढ्दो सवारी चाप र सिमित सडक पूर्वाधारमा भने सरकारले दिर्घकालिन उपाय केहि निकालेको छैन । यसका सम्बन्धित निकायहरुबीच समन्वय हुनुपर्ने भएपनि सोही अनुसार समन्वय हुन नसकेको यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरु बताउँछन् । ‘हालसम्म विभागले सवारी चाप न्युनिकरणका लागि ठोस उपाय सोचिसकेको छैन,’ उनले भने, ‘यसमा सवारीको मात्रै दोष हुँदैन सडक पूर्वाधारको कमि पनि त्यत्तिकै छ, त्यसैले यस सम्बन्धि सबै निकाय मिलेर यसको समाधान निकाल्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL