Logo

१९ बुँदे सहमतिपछि तोडियो अनसन, सेयरबजारमा देखियो हरियाली

१९ बुँदे सहमतिपछि तोडियो अनसन, सेयरबजारमा देखियो हरियाली



काठमाडौं । लगानीकर्ताका माग सम्बोधनका लागि कार्यान्वयन समिति गठन भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक एकाएक उकालो लागेको छ । पछिल्लो समय लगातार गिरावट आईरहेको सेयरबजार परिसुचक नेप्से शुक्रबार १३.७८ अंकले उकालो लागेको हो ।

पछिल्लो १० दिनदेखि विभिन्न मागहरु राख्दै अनसन बसेका लगानीकर्ता तिलक कोईराला र धितोपत्र बोर्डबीच माग कार्यान्वयन समिति गठन गर्ने सहमति भएपछि उनले अनसनसमेत तोडेका छन् । अनसन बसेको १० दिनपछि आज पुँजी बजार संघर्ष समिति र धितोपत्र बोर्डबीच १९ बुँदे सहमति भएको हो ।

उक्त सहमतिमा धितोपत्र दलाल कम्पनीको शाखा बढाउन स्वीकृति दिने, गैर आवासिय नेपालीका लागि आईपीओमा १० प्रतिशत आरक्षण दिने, नेप्सेमा रणनीतिक साझेदार ल्याउन समन्वय गर्नेलगायतका सहमति भएका छन् । उक्त सहमतिपत्रमा धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र अनशनरत तिलक कोईरालाले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता कार्यान्वयन गर्नका लागि पनि ७ सदस्यीय माग कार्यान्वयन समिति बनायो सहमति भएका छ । जसमा बोर्डबाट २ जना र लगानीकर्ताहरुबाट ५ जना आवद्ध हुनेछन् ।

यसरी सम्झौता भएसँगै बिहान उच्च अंकको गिरावट आएको बजार एकाएक पौने १२ बजेपछि उकालो लाग्न सुरु गरेको थियो । त्यसपश्चात लगातार उकालो लागेको नेप्से १ बजेसम्म १८६२ को विन्दुमा पुगेर रोकिएको हो ।

आज बजारमा कारोबार भएका म्युचुअल फण्डबाहेक सबै समुहको परिसुचक उकालो लागेका छन् । जसमध्ये सबैभन्दा बढी वृद्धि जीवन र निर्जीवन बीमा समुहको परिसुचकमा देखिन्छ । आज जीवन बीमा समुहको परिसुचक १३१ अंकले उकालो लाग्दा निर्जीवन बीमा समुहको परिसुचक १२८ अंकले बढेको छ । यस्तै विकास बैंक समुहको परिसुचक ५७, वित्त समुहको २४, जलविद्युत समुहको २४ र लघुवित्त समुहको परिसुचक ३१ अंकले उकालो लागेका छन् । बजारमा सबैभन्दा बढी प्रभुत्व भएको बैंकिङ समुहको परिसुचकमा आज २ अंकको सुधार आएको छ ।

आज कारोबार समयभर अर्थात १ बजेसम्म २ सय २३ कम्पनीका ३५ लाख ४१ हजार ५३७ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १ अर्ब १५ करोड १२ लाख ८ हजार रुपैयाँ पुगेको छ । आज न्यादी जलविद्युत कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL