Logo

क्यान ईन्फोटेक २०२२ को तयारी पुरा, ३ लाखले अवलोकन गर्ने अनुमान्

क्यान ईन्फोटेक २०२२ को तयारी पुरा, ३ लाखले अवलोकन गर्ने अनुमान्



काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघले क्यान इन्फोटेक २०२२ को तयारी पुरा गरेको छ । महासंघले काठमाडौंको भृकुटीमण्डपमा आगामी बैशाख ७ देखि १२ गतेसम्म आयोजना गर्ने उक्त इन्फोटेकको तयारी पुरा भएको जानकारी दिएको हो ।कोभिडका कारण २ पटक स्थगित भएको प्रदर्शनी यसपटक काठमाण्डौंमा मात्र हुने भएको छ । यसअघि यस्तो इन्फोटेक विभिन्न प्रदेशमा पनि हुँदै आएको थियो ।

laxmi

क्यानका अनुसार इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू रहने छन । जसमा ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र गभर्नेन्स मुख्य हुनेछन । यस्तै ब्राण्डिङ खण्डमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनी एवं उत्पादनहरुको सहभागिता रहनेछ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तिय एवं सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहनेछन ।

क्यानले स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडिया को प्रदर्शनी गर्ने जानकारी दिएको छ । इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठानसंग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकेको छ ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनाअनुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरेको छ । सूचना प्रविधि सम्बन्धि अध्ययन एवं कार्य गरिरहेका विद्यार्थीहरुको क्षमता विकास गर्नु, उनीहरूको आइडियालाई प्लाटफर्म प्रदान गर्नु, इन्नोभेटिभ आइडियालाई व्यवसायमा बदल्न मद्दत गर्नु र व्यवहारपयोगी शिक्षामा योगदान गर्नु पनि यसको उद्देश्य रहेको क्यानले उल्लेख गरेको छ ।

क्यानका अनुसार आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ खण्डमा व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ प्रविधिको प्रदर्शनी गर्नथलोका रूपमा उपयोग गर्न सक्नेछन । यसका साथै अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरू र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धि जानकारि, आइटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन्। प्रर्दशनीमा टिकटक प्याभिलिअन, अम्बेला स्ट्रिट रहनेछन् । यस्तै उक्त प्रर्दशनी सुचना प्रविधि सम्बन्धि चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारि लिने थलो पनि हुने विश्वास क्यानले लिएको छ ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा करिब सोहि संख्यामा अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ । उक्त इन्फोटेकको शिर्ष प्रायोजन आइएमइ पेले गरेको र सहप्रायोजक एससिटी स्मार्ट क्युआर युनियन पे रहेको छ । इन्फोटेकबाट सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ ।

क्यान इन्फोटेकको उक्त संस्करणमा विश्वव्यापी रुपमा सहभागिता हुनसक्ने गरि भर्चुअल प्रदर्शनीको समेत व्यवस्था हुने भएको छ । उक्त भर्चुअल प्रदर्शनीको निम्ति मण्डला सिस्टमले भर्चुअल एक्जिविसन पार्टनरको रुपमा क्यान महासंघसंग सहकार्य गरेको छ । त्यसैगरी प्रदर्शनीमा गुणस्तरीय खाना तथा नास्ताको प्रबन्ध गर्न रेबान सँग सहकार्य गरिएको क्यानले जानकारी दिएको छ । प्रदर्शनीको अफिसियल बैंकको रुपमा ग्लोबल आइएमइ बैंक, अफिसियल इन्स्युरेन्सको रुपमा आइएमइ जनरल ईन्स्युरेन्स रहेका छन ।

इन्फोटेकलाई नेपाल सरकार सञ्चार तथा सुचना प्रविधी मन्त्रालय, सूचना प्रविधी विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल बैंक लिमिटेड, नेपाल विज्ञान तथा प्रविधी प्रज्ञा प्रतिष्ठान, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, सुविसु केवलनेट, भायानेट, रोबोटिक्स एसोसियसन अफ नेपाल लगायतको प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग एवं समर्थन रहेको क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL