Logo

सार्वजनिक यातायातमा चरम लुट : यात्रुबाट दिनहुँ लुटिन्छ लाखौं रूपैयाँ, मुकदर्शक नियामक

सार्वजनिक यातायातमा चरम लुट : यात्रुबाट दिनहुँ लुटिन्छ लाखौं रूपैयाँ, मुकदर्शक नियामक



काठमाडौं । गत सोमबार बिहानै चाबहिलका रुपेश घले गोकर्णेश्वर यातायातको बस चढेर चक्रपथ पुगे । सँधै आउजाउ गरिरहने उनले सँधैझै बसको सहचालकलाई १५ रुपैयाँ हातमा थमाए तर, सहचालक जंगिए । ‘काँ यतिले पुग्छ, अझै ५ रुपैयाँ थप्नुहोस ।’ सहचालकको यो जंगाईका अगाडी नम्र भई उनले खुरुक्क ५ रुपैयाँ झिकेर कुल २० रुपैयाँ चावहिलदेखि चक्रपथसम्मको भाडा तिरे ।

भाडा वृद्धिका बिषयमा अनविज्ञ रहेका उनलाई थप ५ रुपैयाँ किन र के का लागि मागियो पत्तो पाएनन् ।

यस्तै टोखाबाट सामाखुसी आएका नन्दराम बरालको समस्या पनि उस्तै थियो । उनी सामाखुसी यातायातको बस चढेर टोखा गेटबाट सामाखुसी आईपूग्दा सँधै तिर्ने भाडाले पुगेन थप ५ रुपैयाँ थपेर २० रुपैयाँ पुर्याई दिनुपर्याे । यसको कारण बुझ्न खोज्दा सहचालकले उनलाई सोमबारदेखि भाडा बढेको जवाफ दिए ।

सहचालकको जवाफपछि पनि उनले सोधे ‘कतिले बढेको ?’ सहचालकले उत्तर दिए ‘अब १५ रुपैयाँ तिर्ने ठाउँमा २० र २० तिर्नुपर्ने ठाउँमा २५ देखि ३० पुग्यो ।’

यस्तो जवाफ सुनेपछि नन्दाराम आफ्नो बाटो लागे ।

बागमती प्रदेश अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कात्तिक १ गतेदेखि लागु हुनेगरी प्रदेशभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडादर वृद्धि गर्ने निर्णय असोज २० गते गरेको थियो । जसअन्तर्गत चढ्नेबित्तिकै ५ किलोमिटरसम्मका लागि मान्य हुनेगरी १८ रुपैयाँ तिर्नुपर्ने हो । यस्तै १० किमीसम्म २३ रुपैयाँ, १५ किमीसम्म २७ रुपैयाँ, २० किमी सम्म ३० रुपैयाँ र २० किमीभन्दा माथि ३५ रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ ।
तर, सार्वजनिक यातायातका सहचालक र चालकहरुले १८, २३, २७ रुपैयाँ भाडाको ख्यालै नगरी यात्रुहरुबाट सिधै २०, २५ र ३० रुपैयाँ लिईरहेको यात्रुहरुले गुनासो गर्ने गरेका छन् । यस्तो बाँकी रहेको पैसा प्राय यात्रुहरुले चानचुन पैसा त होनी भनेर माग्दैनन्, मागिहाले पनि सहचालकले अहिले चानचुन छैन भन्दै जंगिएर पठाउँछन् ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकाभित्र प्रतिदिन २० हजार पटक सार्वजनिक सवारीसाधन ओहोरदोहोर गर्छन् । जसमा ४ देखि ५ लाख यात्रुहरुले सेवा लिईरहेका हुन्छन् । तर, सरकारले तोकिदिएको भन्दा २ देखि ५ रुपैयाँसम्म बढि भाडा लिने सार्वजनिक यातायातलाई भने कुनै निकायले नियमन गर्ने नगरेको सार्वजनिक यातायात सुधार अभियन्ता राम बहादुर थापा बताउँछन् । उनका अनुसार सार्वजनिक सवारीसाधनले तोकिएको भाडाभन्दा प्रतियात्रु २ देखि ५ रुपैयाँ बढि पैसा उठाउँछन् । जसमार्फत न सरकारलाई कर तिर्नुपर्छ न कुनै शुल्क ।

यसरी यात्रुबाट चोरबाटोको प्रयोग गरि ठगिएको पैसाको हिसाव गर्दा सार्वजनिक यातायातले प्रतिदिन १० लाखसम्म ठग्ने गरेको देखिन्छ । ट्राफिक प्रहरीको तथ्यांकलाई आधार मान्दा दैनिक काठमाडौं उपत्यकामा ओहोरदोहोर गर्ने ४ लाख यात्रुबाट प्रत्येक सार्वजनिक सवारीसाधनलाई औषतमा २.५ रुपैयाँ ठग्छन् । यसरी ठगी गरेको पैसा प्रतिदिन १० लाख रुपैयाँसम्म उठ्छ । यस्तो पैसाको कर र शुल्क पनि तिर्नुपर्दैन ।

सरकार र यातायात व्यवसायीको मिलेमतोको उदाहरण हो : उपभोक्ता अधिकारकर्मी

भौतिक यातायात मन्त्रालयले नै अनियमित रुपमा भाडा बढाउनुमा चलखेलको गन्ध आउने उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । बजारमा हाल चानचुन पैसाको प्रयोग घटिरहेको भएपनि सरकारी पक्षबाटै यातायात व्यवसायीलाई पोस्ने गरी गरिएको भाडादर निर्धारण सोझै मिलेमतोबाट हुने उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् ।

उनका अनुसार सरकार पक्ष र यातायात व्यवसायीहरुबीच व्यवसायीलाई फाईदा पुर्याउनकै लागि यसरी भाडा निर्धारण गरिन्छ । १८, २३ र २७ रुपैयाँ भाडा तोक्दा न यात्रुले बाँकी पैसा फिर्ता माग्ने न सार्वजनिक सवारीसाधनको सहचालकले नै यात्रुलाई फिर्ता दिने चलन छ । जसका कारण प्रतिदिन चोरबाटोबाट यातायात व्यवसायीहरुले लाखौं कमाईरहेको उनको भनाई छ । उपभोक्ता ऐनमा भनिएबमोजिम यो सिधै चोरी र ठगी भएपनि सम्बन्धीत निकायले नहेर्दा उपभोक्ताहरु ठगिने क्रम बढेको उनले बताए ।

यस्तै उभोक्ता मञ्चका महासचिव सत्रुघन प्रसाद देव भने निर्धारण गरिएको वैज्ञानिक भाडादर नै अवैज्ञानिक भएको बताउँछन् । उनका अनुसार सम्बन्धीत निकाय यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा यात्रुका लागि टिकटको व्यवस्थालाई बाध्यकारी नबनाउँदासम्म यो समस्या रहने देखिन्छ । ‘टिकट नभए यात्रुले कति तिरेको प्रमाण हुँदैन,’ उनले भने, ‘यस्तो प्रमाण नपाएमा वाणिज्य विभागले नियमन र अनुगमनमै आनाकानी गर्छ ।’

यसरी सम्बन्धीत निकायले विशेष ध्यान नदिएकै कारण दैनिक लाखौं यात्रुहरु लुटिँदै आएको उनले बताए ।

यो सिधै ठगी हो हामी तत्तत निकायसँग समन्वय गरेर कारबाही गर्छौं : वाणिज्य विभाग

यता वाणिज्य तथा उपभोक्ता हित संरक्षण विभाग भने यातायात व्यवसायीले गरिरहेको लुटप्रति सचेत रहेको बताउँछन् । विभागका प्रवक्ता सिवराज सेँढाईका अनुसार पछिल्लो समय यातायातमा भएको लुटको अनुगमन विभागका तर्फबाट त्यति भएको छैन । तर, अब भने यससँग सम्बन्धीत निकायसँग समन्वय गरेर कारबाहीको पाटो अघि बढाउने उनले बताए । उनका अनुसार तोकिएको मूल्यभन्दा एक रुपैयाँ बढि लिनु पनि गठी हो । तर, सार्वजनिक यातायातले गरेको यस्तो लुटको लागि एकचोटी विभागले नै यातायात व्यवस्था विभागसँग समन्वय र छलफल गरेर नियन्त्रण गरिने उनले बताए । उनका अनुसार यस्तो ठगीका बिषयमा उपभोक्ता नै अली जागरुक हुनुपर्ने देखिन्छ । उपभोत्ताले नै २ रुपैयाँको महत्व नदिँदा दैनिक लाखौं उठाउने सार्वजनिक यातायात व्यवसायीलाई भने प्रत्यक्ष रुपमा फाईदा पुग्ने गरेको उनको भनाई छ ।

भाडा बढाउने कुरामै चलखेलजस्तो छ : ट्राफिक प्रहरी

यता सरकारी भौतिक तथा यातायात मन्त्रालय र व्यवसायीहरुले तोकेको बैज्ञानिक भाडादर ट्राफिक प्रहरीलाई भने चित्त बुझेको छैन । सरकारले चानचुने पैसा फिर्ता गर्नेगरी भाडा तोकिदिँदा गत सोमबारदेखि नै सार्वजनिक यातायातलाई कारबाहीको क्रम बढाईएको छ । १८ भनेको ठाउँमा २० र २३ भनेको ठाउँमा २५ रुपैयाँ लिने गरेको भन्दै हालसम्म ५ सय बढि सार्वज्निक सवारीसाधनलाई कारबाही गरिसकेको ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जिव शर्मा दास बताउँछन् ।

उनका अनुसार भाडा बढेदेखि नै बसचालक र सहचालकले तोकेको भाडाभन्दा बढि लिने गरेको पाईएपछि सिभिल ड्रेसमै ट्राफिक प्रहरी परिचालन गरी अनुगमन थालिएको छ । जसका कारण प्रतिदिन १५० बढि सार्वजनिक सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने गरिएको उनले बताए । तर, यसरी ठगी गरेको अवस्थामा यात्रुले सिधै ट्राफिक प्रहरीलाई फोन गरेर जानकारी दिएको अवस्थामा तुरुन्तै सम्बन्धीत सवारीसाधनलाई कारबाही गर्ने गरेको उनको भनाई छ । तर, बैज्ञानिक भाडादर भन्दै तोकिएको नयाँ भाडादरमा चलखेलजस्तो देखिएको उनले बताए । ‘यात्रुलाई सास्ती दिनेगरी गरिएको नयाँ भाडादर निर्धारण अच्चम्म लाग्दो छ,’ उनले भने, ‘हाल चानचुन पैसा बढि चल्दैन, पसलेले पनि पैसाको सट्टा चक्लेट दिन्छ, यस्तो अवस्थामा भाडादर भने १८, २३ र २७ तोक्नुमा केही गडबडी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL