Logo

एक हप्तापछि खुल्यो नेपालको गहना बजार, सुनको माग अझै बढ्ने

एक हप्तापछि खुल्यो नेपालको गहना बजार, सुनको माग अझै बढ्ने



काठमाडौं । १ हप्तापछि सुनचाँदीको मूल्य सार्वजनिक भएको छ । दशैंको विदाका लागि भन्दै बन्द गरिएको सुनचाँदीको मूल्य निर्धारण सोमबारदेखि नेपाल सुनचाँदी व्यवसायी महासंघले पुनः सुरु गरेको हो । सार्वजनिक विदाका लागि भन्दै गत हप्ताको २५ गते अर्थात सोमबारदेखि नेपाली बजारमा सुनचाँदीको मूल्य निर्धारण स्थगित गरिएको थियो । त्यसपछि पुनः आजैदेखि सुनचाँदीको मूल्य निर्धारण गरिएको महासंघका अध्यक्ष मणिकरत्न शाक्यले बताए । उनका अनुसार सार्वजनिक विदा पनि सकिएको र बजारमा चहलपहल बढेपछि सुनको मूल्य निर्धारण पुनः सुरु गरिएको हो ।

एक हप्तासम्म पुरानै मूल्यमा कारोबार

महासंघले गत हप्ताको सोमबारदेखि सुनचाँदीको मूल्य निर्धारण स्थगित गरेपनि बजारमा सुनचाँदीको कारोबार भने भईरहेको थियो । यसबीचमा बजारमा जेजति सुनचाँदीको कारोबार भयो त्यो सबै कारोबार असोज २५ गतेकै मूल्यमा भएको अध्यक्ष शाक्यले बिजखबरलाई बताए ।

उनका अनुसार यसबीचमा अन्तरराष्ट्रिय बजारमा मूल्य तलमाथि भईरहेपनि नेपालमा पनि कुनै परिवर्तन नभएका कारण र सार्वजनिक विदा भएका कारण नै सोही मूल्यमा कारोबार भएको हो । यसबीचमा महासंघले सुनचाँदीको मूल्य निर्धारण नगरेपछि पनि बजारमा पुरानै मूल्यमा सुन चाँदीको कारोबार भएको हो ।

माग बढ्दै

नेपाली नारीहरुको पर्व तिजपछि नेपालमा सबैभन्दा बढि सुन चाँदीको खपत हुने समय तिहार र मंसीर महिना हो । तिजको बेला दैनिक ३० देखि ४० किलोसम्म माग भएको सुनको माग तिहारमा र मंसिरमा भने अझ बढ्ने अनुमान महासंघको छ । महासंघका अनुसार यो बर्षको बिहेको लगनको बेला र तिहारमा झन धेरै सुन चाँदीको माग बढ्ने अनुमान गरिएको छ । कोरोना महामारीको प्रभाव न्युनीकरण र यसले करिव १ बर्षपछि निम्त्याएको खुलापनले बजारमा आन्तरिक पर्यटनसँगै वस्तुको खरिदविक्री पनि बढाएको अध्यक्ष शाक्यको भनाई छ । जसका कारण सुनको माग पनि यो बर्ष अघिल्ला बर्षहरुको तुलनामा बढ्ने उनले बताए ।

उनका अनुसार तिहारमा भने सुनको भन्दा चाँदीको माग बढि हुन्छ । लक्ष्मि पुजाका लागि भन्दै चाँदीका भाँडाकुँडा, मुर्तिलगायत खरिद गर्नेको संख्या बढि हुने हुनाले यसबेला चाँदीको माग बढि नै हुन्छ । तर, मंसिरमा भने सुनको अत्याधिक माग हुने भएकाले यो बर्षको मंसिर महिनामा प्रतिदिन ४० देखि ४५ किलो सुनको खपत हुने उनले बताए । अन्य सामान्य दिनहरुमा भने प्रतिदिन १५ देखि २० किलो सुनको खपत नेपाली बजारमा हुने गरेको छ ।

यसरी नेपाली बजारमा सुन र चाँदीको माग बढिरहेको भएपनि बजारमा सुन पर्याप्त नपुग्ने गरेकोसमेत उनले बताए । यसका लागि पुरानो भईसकेको सुन आयात कोटा प्रणालीलाई केहि परिमार्जन गर्नका लागि भन्दै राष्ट्र बैंकसँग छलफल गरिने उनले बताए । अबको केहि दिनमा सुन आयातका लागि विभिन्न विषयमा छलफल गरिने उनको भनाई छ ।

एक हप्तापछि खुलेको सुन बजारमा सुनको मुल्य भने प्रतितोला ७ सय रुपैयाँले उकालो लागेको छ । महासंघका अनुसा गत हप्ताको सोमबार सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ थियो । जुन १ हप्तापछि बढेर ९१ हजार ३ सय रुपैयाँ प्रतितोला पुगेको हो । पछिल्लो समय डलरको मूल्यमा भएको वृद्धिका कारण नेपाली बजारमा सुनको मूल्य बढेको महासंघका अध्यक्ष शाक्यले बताए ।

यस्तै आज चाँदीको मूल्य पनि गत हप्ताको तुलनामा प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत हप्ताको सोमबार प्रतितोला ११ सय ८० रुपैयाँ रहेको चाँदीको मूल्य दशैंपछि बढ्दै प्रतितोला १२ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL