Logo

५१ कम्पनीको थप छानविन गर्न ‘तहकिकात’ समिति बनाउँदै बोर्ड, अन्य कम्पनीको पनि छानविन हुँदै

५१ कम्पनीको थप छानविन गर्न ‘तहकिकात’ समिति बनाउँदै बोर्ड, अन्य कम्पनीको पनि छानविन हुँदै



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर बजारमा भैरहेको इन्साईडर ट्रेडिङ, कर्नरिङ र सर्कुलर टेड्रिङको विषयमा छानविन गर्न ‘तहकिकात’ समिति बनाउने भएको छ । पछिल्लो समय सेयर बजारमा गैर कानूनी क्रियाकलाप बढेको निष्कर्ष सहित सो सम्बन्धमा छानविन गरी कारबाही प्रक्रिया अघि बढाउन अधिकार सम्पन्न तहकिकात समिति गठन गर्न लागेको बोर्ड स्रोतले जानकारी दिएको छ । 

laxmi

धितोपत्र बोर्डले केही समय अघि विभिन्न क्षेत्रका ५१ ओटा कम्पनीका कर्नरिङ, इन्साईडर ट्रेडिङ तथा अन्य गैरकानूनी क्रियाकलापमार्फत बजारमा चलखेल गरी उच्च मूल्य बढाएको भन्दै त्यस्ता कम्पनीको सूचीनै प्रकाशित गरेको थियो । बोर्डले आफुले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा उक्त कम्पनीमा भएको मूल्य वृद्धिको आधारमा उच्च जोखिम रहेको भन्दै त्यस्ता कम्पनीमा धितोपत्रमा निहीत खोजिममा मूल्याङकनमा आधारित रहेर लगानी गर्न लगानीकर्तालाई सजक गराएको थियो । 

बोर्डको प्रारम्भिक अनुसन्धानले बजारमा इन्साईडर ट्रेडिङ, कर्नरिङ र सर्कुलर ट्रडिङ भएको निष्कर्ष निकालेको र सो विषयमा थप अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउन अधिकार सम्पन्न समिति चाहिने भएकाले तहकिकात समिति बनाउने लागिएको हो । उक्त समिति केही दिनभित्रै बस्ने बोर्डले संचालक समितिले गठन गर्ने र सोही अनुरूप अनुसन्धान कार्य अघि बढाइने भएको छ । ‘प्रारम्भिक अनुसन्धानले बजारमा केकस्ता गतिविधि भैरहेको र सो सम्बन्धमा अध्ययन गरी रिपोर्ट तयार गर्छ तर कारबाही गर्ने अधिकार हुँदैन,’ बोर्डका एक अधिकारीले भने, ‘अब त्यस्ता गतिविधिमा संलग्न लगानीकर्ताहरू माथि विस्तृत छानविन गरी कारबाही प्रक्रिया अघि बढाउन तहकिकात समिति गठन गर्न लागिएको हो ।’

उक्त स्रोतका अनुसार ५१ ओटा कम्पनीमा भएको गैर कानूनी क्रियाकलापको विषयमा थप अनुसन्धान गर्न हाल विवरण मगाउने काम भैरहेको छ । त्यस्ता गतिविधिमा संलग्न लगानीकर्ताहरूले लगानीको स्रोत कहाँबाट ल्याएका छन्, उनीहरूले सूचनाका पहुँचमा कसरी पुगे, कुन कुन लगानीकर्ता मिलेर कसरी कुन कुन कम्पनीमा कर्नरिङ गरे सो सम्बन्धमा विस्तृत रुपमा छानविन गरिने समेत बोर्ड स्रोतले जानकारी दिएको छ । उक्त विषयमा विस्तृत छानिवन गरिसकेपछि त्यस्ता गतिविधिमा संलग्न लगानीकर्ताहरूलाई कारबाहीको दायरामा ल्याइने समेत बोर्डले जानकारी दिएको छ । 

थप कम्पनी छानविनको दायरामा 

बोर्डले इन्साईडर ट्रेडिङ, कर्नरिङ र सर्कुलर ट्रेडको आरोपमा अन्य कम्पनीहरू माथि पनि अनुसन्धान थालेको छ । पहिलो चरणको अनुसन्धानमा ५१ ओटा कम्पनी माथि प्रारम्भिक अनुसन्धान गरी सूची प्रकाशित गरिएको र आगामी दिनमा त्यस्ता गतिविधिमा संलग्न अन्य कम्पनीहरूको समेत सूची प्रकाशित गरिने बोर्डले जानकारी दिएको छ । ‘केही समयअघि हामीले ५१ कम्पनीको सूची प्रकाशित गर्दा गलत भयो कम्पनीको सूची प्रकाशित गर्न हुन्थेन भन्ने टिकाटिप्पणी भएका थिए,’ बोर्डका एक अधिकारीले भने, ‘हामीले तत्कालीन समयमा पनि कम्पनीले गल्ती गर्यो कम्पनी वा कम्पनी माथि छानविन भैरहेको भनेर सूचना प्रकाशित गरेका थिएनौं, तर त्यस्ता कम्पनीमा गैरकानूनी रुपमा चलखेल गरेर मूल्य बढाएको छ भनेर लगानीकर्तालाई सुसूचित गएका थियौं ।’ साथै ती कम्पनीमा गैर कानूनी रुपमा चलखेल भयो र उनीहरु माथि कारबाहीका लागि अनुसन्धान भैरहेको भन्ने म्यासेज पनि दिएका थियौं । 

बोर्डको कामनै सेयर बजारमा भैरहेको गलत क्रियाकलाप रोकी त्यस्ता कार्यमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुका साथै लगानीकर्तालाई सुसूचित गराउने भएकाले अबका दिनमा अनुसन्धान तथा छानविनलाई थप तीब्रता दिईने उक्त स्रोतले जानकारी दिएको छ । सोका लागि एक कमिटिनै बनाएर अनुसन्धान गरिरहेको समेत बोर्डले जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL