Logo

सवारी लाइसेन्स लिन सेवाग्राहीलाई थप झञ्झट, भिजिट डेट पाएकाले पनि पुनः आवेदन भर्नुपर्ने

सवारी लाइसेन्स लिन सेवाग्राहीलाई थप झञ्झट, भिजिट डेट पाएकाले पनि पुनः आवेदन भर्नुपर्ने



काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स)का लागि अनलाइन आवेदन भरेर प्रतीक्षारत सेवाग्राहीले थप झञ्झट बेहोर्नुपर्ने भएको छ । अनलाइन आवेदन भरेर कार्यालय भिजिट डेट पाइसकेका र निषेधाज्ञाको बीचमा परेका सेवाग्राहीले पुन अनलाइन आवेदन भर्नुपर्ने भएसँगै सेवाग्राहीलाई थप झञ्झट हुने भएको छ । यातायात व्यवस्था विभागका अनुसार निषेधाज्ञामा कार्यालय भेट्ने समय पाएका र ट्रायल दिने समय पाएका सेवाग्राहीहीहरुले पुनः अनलाइन आवेदन भर्नुपर्ने भएको हो ।

गत बैशाख १६ गतेदेखि लागु गरिएको निषेधाज्ञाका कारण देशभर प्राय सबै सरकारी सेवाहरु बन्द भएका थिए । जसका कारण सेवाग्राहीले सेवा लिन नपाईरहेको अवस्था छ । जसका कारण निषेधाज्ञा अघि लाइसेन्सका लागि अनलाइन आवेदन भरेर बैशाख १६ गतेयताको समय पाएका हजारौं सेवाग्राहीको यातायात कार्यालय भिजिट गर्ने पालो कहिले आउँछ भन्न नसकिने अवस्था आएको छ ।

विभागले निषेधाज्ञाकै बीचमा कार्यालय भिजिट गर्ने पालो पाएका सेवाग्राहीहरुलाई पुनः अनलाइन आवेदन भर्नुपर्ने व्यवस्था गरेको विभागका प्रवक्ता डा। लोकनाथ भुषालले जानकारी दिए । उनका अनुसार निषेधाज्ञाभरको समयमा पालो पाएका सेवाग्राहीले पुनः अनलाइन आवेदन भरेर अर्को पालो पर्खनु पर्नेछ । तर, निषेधाज्ञा खुलेपछि भने खुलेको समयमा पालो परेकाले सोही पालोमै कार्यालय भिजिट गर्न पाउने भएका छन् ।

गत बर्षको लकडाउनमा पनि अनलाइन आवेदन बन्द भई भदौमा आवेदन खोल्दा एकैपटक धेरै जनाले आवेदन भरेका थिए । विभागले आवेदन जति पनि लिने तर कार्यालय भिजिट गर्ने मिति भने सोहीअनुसार बढाउँदै जाने व्यवस्था गरेपछि कोही सेवाग्राहीको पालो आगामी बर्षको मे महिनासम्म समेत पुगेको थियो । तर, यसरी धेरै सेवाग्राहीको पालो आगामी बर्ष भएपछि निषेधाज्ञामा पालो परेकाको पालो निषेधाज्ञालगत्तै आएपछि आगामी बर्ष पालो परेकाको पालो अझै धेरै धकेलिने हो की भन्ने चिन्ता थियो ।

अब निषेधाज्ञामा पालो परेकाले अनलाइन आवेदन भरेर पुनः पालो पर्खिनुपर्ने भएपछि उनिहरुले कहिले पालो पाउँलान भन्ने निश्चित छैन । हाल निषेधाज्ञाकै कारण लाइसेन्सको अनलाइन आवेदन लिने कामसमेत बन्द गरिएको छ ।

कहिले खुल्छ अनलाइन आवेदन ?

पछिल्लो समय नेपालमा जारी निषेधाज्ञा केही खुकुलो हुने क्रममा छ । यसबीच लाइसेन्सको अनलाइन आवेदन भर्नका लागि हजारौं सेवाग्राहीहरुले कुरिरहेको यातायात व्यवस्था विभागको अनुमान छ । तर विभागले भने पूर्ण रुपमा निषेधाज्ञा नखुलेसम्म अनलाइन आवेदन नखुलाउने निर्णय गरेको छ ।

आवेदन भरिसकेपछि ट्रायलको काम पनि सँगै लैजानु पर्ने भएपछि हाल ट्रायल, परीक्षालगायतका कार्य स्थगित गरिएको छ । जसका कारण यो स्थगित भएका सेवा नखुलाउँदासम्म अनलाइन आवेदन पनि नखुलाउने विभागका प्रवक्ता भुषालले बिजखबरलाई जानकारी दिए ।

उनका अुनसार लाइसेन्सका लागि लिईने ट्रायल र अन्य परीक्षण पनि विद्यालयमा गरिएको परीक्षाजस्तै हुने भएपछि शिक्षा क्षेत्र नखुल्दासम्म यो खोल्न नमिल्ने भएको छ । यदि ट्रायल र परीक्षण खुलेको खण्डमा मात्रै लाइसेन्सको अनलाइन आवेदन लिने काम सुरु गरिने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL