Logo

वाइवाइ नेपाल स्टारको निरन्तरता, आजदेखि तेस्रो राउण्डको प्रसारण हुने

वाइवाइ नेपाल स्टारको निरन्तरता, आजदेखि तेस्रो राउण्डको प्रसारण हुने



काठमाडौं । नेपाली मौलिक सिङ्गिङ रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्डको प्रसारण यही शनिबारबाट सुरु हुने भएको छ । दोस्रो राउण्ड षडजबाट छानिएका ४८ प्रतिस्पर्धीले यो तेस्रो राउण्ड ऋषभमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्ने छ ।

जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् ।

यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित षडज राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ ।

वाइवाइ नेपाल स्टारको प्रसारण सुरु भएसँगै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिमा सिङ्गो कार्यक्रम निर्माण टोली, निर्णायक तथा प्रतिस्पर्धीहरुलाई एकजुट गराएर कार्यक्रम छायाङ्कन गर्न सम्भव नरहेकाले यो कार्यकमलाई पटक पटक लामो समयसम्म छायाङ्कन रोक्दै अगाडि बढाउनुपरेको थियो ।

अहिलेको समय र परिस्थितिलाई मध्यनजर गर्दै प्रतिस्पर्धी, निर्णायक तथा पर्दापछाडि काम गर्ने कार्यक्रम उत्पादक टीमको स्वास्थ्यको समेत ख्याल गर्दै सामाजिक दूरी र सबैको स्वास्थ्य सुरक्षाका सबै उपाय उच्चस्तरमा अपनाउँदै अब यही गतिमा हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा यो कार्यक्रमको निर्माण टोली रहेको बताउँछन् वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठ ।

कार्यक्रमका निर्णायक छन्– रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री । नेपाल टेलिभिजनको प्रस्तुतिमा की इन्टरटेन्मेन्टको निर्माण रहेको यो कार्यक्रमको प्रसारण नेपाल टेलिभिजनमा हेर्न सकिनेछ भने नेपाल टेलिभिजनकै वेबसाइट, युट्युब र मोबाइल एपबाट पनि हेर्न सकिन्छ । यो कार्यक्रमका विजेता हुने प्रथमले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन्

प्रतिक्रिया दिनुहोस्
MBL