Logo

शनिबार नयाँ बसपार्कबाट तीन सय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए, आज चहलपहल थप बढ्यो

शनिबार नयाँ बसपार्कबाट तीन सय बढी सार्वजनिक सवारीसाधन उपत्यका बाहिरिए, आज चहलपहल थप बढ्यो



काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कबाट ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन उपत्यकाबाट बाहिरिएका छन् । जेन जेडको प्रदर्शनका कारण पाँच दिनदेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनमा आएसँगै शनिबार नयाँ बसपार्कबाट ३०० बढी सवारीसाधन बाहिरिएका हुन् ।

नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवरले शनिबार बिहानदेखि ३०० भन्दा बढी सार्वजनिक सवारीसाधन यात्रु लिएर नयाँ बसपार्कबाट बाहिरिएका जानकारी दिए।

“यही भदौ २३ र २४ गते भएको जेन जेडको प्रदर्शनका कारण यातायात बन्द हुँदा काठमाडौँमा रहेका यात्रुहरू सार्वजनिक यातायातका साधनमार्फत गन्तव्य स्थलतर्फ जान थालेका छन्”, उनले भने । शनिबार बिहानदेखि काठमाडौँको कर्फ्यु हटाइएकाले जनजीवन सामान्य बनेसँगै यात्रुवाहक सवारीसाधन सञ्चालन हुन थालेका उनको भनाइ छ ।

उनले दसैँसमेत सुरु हुन लागेकाले नयाँबसपार्कमा अरू समयको तुलनामा यात्रुहरूको घुइँचो लाग्न थालेको बताए । यस वर्षको दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम ‘टिकट बुकिङ’ भने जेन जेड प्रदर्शनका कारण हालसम्म खुल्न सकेको छैन । यद्यपि आज नयाँ वसपार्कमा चहलपहल थप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्