बैंकलाई ब्रोकर लाइसेन्स दिदैंमा समस्या समाधान हुँदैन : भिष्मराज ढुंगानाको अन्तर्वार्ता


बिजखबर संवाददाता
17 January, 2021 10:05 am

bhisma_raj_dhungana

केही समययता सेयर बजार उकालो लागेसँगै बजारमा सामाजिक संजाल लगायत विभिन्न माध्यबाट गलतखालका सुचनाको पासो थापेर सोझा तथा साना लगानीकर्तालाई फसाउने गरेको गुनासो थुप्रै आएका छन् । आफु अनुकुल सेयर खरिद गर्ने त्यसपश्चता विभिन्न माध्ययबाट सेयरको मूल्य बढाउन अनावश्यक हल्ला फैलाउने गरेका छन् । यसैगरी बजारमा कारोबार रकम उच्च भएसँगै नयाँ ब्रोकर लाईसेन्स खुलाउनका लागि पनि उत्तिकै लविङ थालेका छन् । नेपाली पूँजी बजारको अवस्था, बजारलाई थप परिपक्क बनाउन नियामक निकायले गर्नुपर्ने सुधारलगायतका विषयमा बिजखबरका रामराजा श्रेष्ठले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानासँग गरेको कुराकानीको सार :

FoneLoan-250x250
yamaha
bajaj

सेबोन अध्यक्षका रुपमा तपाईंले जिम्मेवारी सम्हालेयता नेपालको पूँजीबजार विकासमा खास के काम भए र अब के गर्दै हुनुहन्छ ?

पूँजीबजारका क्षेत्रमा सुधारका कामहरु नभएका होईनन, धेरै भएका छन् । तर हामी जुन गन्तव्यमा पुग्नुपर्ने हो, त्यो गन्तव्यसम्म पुग्न नसकिरहेको अवस्था भने हो । डिजिटाइजेसनको जुन् चरणमा पुग्नुपर्ने हो त्यसको वातावरण निर्माण गर्र्नुपर्ने काम बाँकी नै छ ।

प्राथमिक बजारको हकमा सबै कामहरु अनलाईनमार्फत गर्न सक्ने अवस्थाको सिर्जना भईसकेको छ । अब यसमा मान्छे आफै उपस्थित हुनुपर्ने अवस्थाको अन्त्य भईसकेको छ । तर, सेकेन्डरी मार्केटमा भने बैंक इन्ट्रिग्रेशन, डीपी इन्ट्रिग्रेशन तथा ब्रोकरको टीएमएसमा व्यापक सुधारलगायतका महत्वपुर्ण काम बाँकी छ । यी तीन काम गर्न सकेको अवस्थामा हाम्रो अनलाईन सिस्टम विना कुनै अवरोध सहजै चल्छ । जसका लागि हामी आफैं खटिएर पनि बैंक र डिपीसँग सहकार्य गरिरहेका छौं । सिडीएससीलाई पनि सिस्टम अपग्रेड गर्न निर्देशन दिईसकेका छौं । सिडीएससीले सिस्टम अपडेटका लागि भेन्डरहरुसँग कुरा गरिरहेको छ । यी कामहरु भएको खण्डमा बजारमा सहजै कारोबार गर्न सकिन्छ ।

पछिल्लो समय डिम्याट खाताहरु मात्रै करिव २५ लाखको हाराहारीमा पुगिसकेको छ । गत बर्ष ३ लाखको हाराहारीमा रहेको डिम्याट खाताको संख्या एक बर्षमै २१/२२ लाखले बढेको छ । आईपीओमा पनि पोहोरसम्म एकदेखि डेढलाख र राम्रो आईपीओमा तीन लाखसम्मले आवेदन दिन्थे । यो बर्ष १३ लाखभन्दा मानिसहरु आईपीओमा आबद्ध भइसकेका छन् । जसले घरैबाट आफै आईपीओ भरेका हुन् ।

गत बर्षको ५ महिनामा १५ अर्ब बराबरको आईपीओ जारी भएको थियो । तर यो बर्ष आईपीओ जारी हुने दर पनि बढेर झण्डै ५ महिनामा २५ अर्ब बढीको आईपीओ जारी भईसकेको छ । यसरी साधारण सेयरको निष्काशन अहिले १० अर्ब बराबरको भईसकेको छ । जुन गत बर्षभन्दा २८ प्रतिशतले बढेको छ । कर्पाेरेट डिबेन्चर, सेकेन्डरी मार्केटमा कारोबार, मार्केट क्यापिटलाईजेसनलगायत हरेक क्षेत्रमा वृद्धि देखिन्छ । अनलाइनमा भएको सुधारले नै यस्तो परिणाम आएको हो ।

अनलाइन कारोबार बढेपनि सचेतनाको अभावमा सामाजिक सञ्जालमार्फत ईन्साईडर ट्रेडिङ, इन्र्फमेसन ट्रेडिङ बढी हुँदा बजारमा आउने नयाँ लगानीकर्ताहरु फस्ने सम्भावना बढ्यो भन्छन नि ?

बजार बढ्न थालेपछि लगानीकर्ताहरु अब बजार बढ्न रोकिदैंन अर्थात घट्दैन भन्ने मनसायले उत्साहित हुन्छन् तर यो वास्तवमा गलत हो । कुनैपनि सेयरको मूल्य निश्चित विन्दुसम्म मात्रै बढ्ने हो । निश्चित विन्दुमा पुगेपछि पुनः ओरालो लाग्छ । बजारमा अस्वस्थ किसिमको भनाई, बजारलाई प्रभावित पार्ने खालका सूचनालगायतले पनि सानातिना लगानीकर्ताहरु ठगिएका हुन्छन् ।
हामीलाई पनि सामाजिक सञ्जालमा अफवाह फैलाई साना लगानीकर्ताहरुलाई आफ्नो कब्जामा लिने प्रचलन बढेको सूचना आएको छ । यसलाई हामीले पनि सही तरिकाले नियन्त्रण गर्नका लागि एक संयन्त्र बनाउने प्रयासका लागि काम गरिरहेका छौं ।

हामीलाई विश्लेषण र अनुसन्धान गर्नका लागि एक छुट्टै व्यवस्था गर्नुपर्ने बाध्यता छ, जुन हाम्रोमा भएको छैन । बजारको प्राविधिक विश्लेषण र अनुसन्धान गर्न हामीले व्यवस्था बनाउनै पर्छ । जसका कारण हामीलाई बजार नियन्त्रण गर्न सजिलो हुनेछ । सामाजिक सञ्जालमा आएका अभद्र कुराहरुलाई पनि विशेष छलफलमार्फत प्रतिबन्ध लगाउनुपर्ने अवस्था छ ।

पछिल्लो समय बजारमा वास्तविक लगानीकर्ताभन्दा पनि ब्रोकरहरुले नै आफै विभिन्न कम्पनी खोलेर मार्केट ‘मेनिपुलेट’ गर्छन् भन्ने सुनिन्छ ?

अहिले सानोतिनो अवस्थामा बजारलाई मेनिपुलेट गर्न सकिन्दैन । लगानीकर्ताको आवद्धता वा कारोबारको आधारमा बजार परिपक्क हुँदै गएको छ । ८/१० जना मानिसहरुले कुनै एक कम्पनीको सेयरको मूल्य तलमाथी गर्न सकेपनि पुरै मार्केट नै आफ्नो हातमा पार्न नसक्ने अवस्था छ । पहिले पहिले ब्रोकरकोमा बसेरै सबै कामहरु गर्नुपथ्र्याे र ब्रोकरको हातमा धेरै कुरा थियो । अहिले एक्टिभ लगानीकर्ता वा डीपी होल्डरको संख्या २५ लाख पुगिसकेको अवस्थामा थोरै मानिसहरु ब्रोकरकोमा गएर मेनिपुलेट गर्नसक्छु भन्ने अवस्था पनि छैन ।

‘अहिले न ब्रोकरले चाहेर बजार घटाउन या बढाउन सक्छन्, न लगानीकर्ताले नै चाहेर बजारलाई तलमाथी पार्न सक्छन् ।’

त्यसैले बजारमा ब्रोकर कमिसन घटेसँगै ब्रोकरहरुले नै बजार घटाउँछन् भन्ने हल्ला पनि आएको थियो । तर वास्तवमा बजारमा त त्यो देखिएन नी ? अहिले न ब्रोकरले चाहेर बजार घटाउन या बढाउन सक्छन्, न लगानीकर्ताले नै चाहेर बजारलाई तलमाथी पार्न सक्छन् । यसका लागि सबै कुराको ‘ईन्फ्लुएन्स’ मिल्नुपर्छ । कहिलेकाहीँ कुनै घटनाले भने बजारमा केही समयलाई प्रभाव पारेपनि लामो समयसम्म बजारमा प्रभाव पार्ने कुरा केही हुन सक्दैन । अहिले बजार हाई रेन्जमा पुगेको छ । यस्तो अवस्थामा साना लगानीकर्ताहरुले आफूले लगानी गर्न लागेको कम्पनीको बारेमा विस्तृत ज्ञान लिनु जरुरी छ । बुम भएको अवस्थामा जोखिम धेरै हुन्छ र न्युन स्तर भएको अवस्थामा जोखिम पनि न्युन नै हुन्छ भनेर लगानीकर्ताले बुझिदिनुपर्छ ।

ब्रोकरलाई सेयर खरिदविक्री गर्ने अधिकार नदिंदा उनीहरुले नै सब्सिडेरी कम्पनी खडा गरेर सेयर खरिदविक्री गरेका त हैनन् ?

हाम्रो सिस्टममा यो कुरा पनि सुधार गर्नुपर्नेछ । विभिन्न मुलुकमा भएको जस्तो ब्रोकरहरुलाई स्टक डिलरको लाईसेन्स दिनुपर्ने व्यवस्था नेपालमा पनि गरिनुपर्छ । हाल नेपालमा ब्रोकरहरुलाई सेयर कारोबार आफै नगरी अर्काे कुनै बाटोबाट गर भन्ने नियम छ । जुन ठिक छैन । अर्थात ब्रोकरले धितोपत्र किनबेच गर्न पाउने तर किनबेच गर्दा आफ्नै कम्पनीबाट नगरी अर्काे कम्पनीबाट गर्नु भनेर अधिकार दिएको छ । तर ब्रोकर कम्पनीले किनबेच गरेका धितोपत्र आफ्नै कम्पनीबाट गरेपनि त्यो सबै पारदर्शी हुनेथियो ।

त्यसैले व्यवसायमा पारदर्शिता ल्याउनलाई भएपनि प्रोप्राईटरी ट्रेडको व्यवस्था गरिनुपर्छ । सरकारले पनि ब्रोकर डिलरको लाईसेन्स दिनुपर्छ ।

सेबोनले ब्रोकर कमिशन घटाएपछि ब्रोकरहरु विरोधमा उत्रिए । सेबोन नै घेर्न आए । अहिलेको व्यवस्थाले हामी व्यवसाय बन्द गर्नुपर्ने अवस्थामा पुगेका छौं भनेका छन् । के अवस्था उनीहरुले भनेजस्तै हो र ?

आफुले पाईरहेको आम्दानी एक्कासी घट्दा सबैलाई चित्त दुख्छ नै । तर हामी नियामक भएकाले कारोबार बढ्दै गएपछि अर्थात कारोबारको दायरा बढ्दै जाँदा कतिसम्म कमिशन भयो भने ठिक हुन्छ भनेर हेर्ने हो ।

कमिशन ब्रोकरहरुको नाफा, लगानीकर्ताहरुको खर्च, नेपाल सरकारले पाउने करलगायतका क्षेत्रहरुसँग यसको असर रहन्छ । हामीले अहिले हेर्दा प्रत्येक दिन डेढ अर्बको कारोबार हुँदा ब्रोकरहरु मज्जाले फाईदामा जान्छन् । तर कारोबार रकम त्योभन्दा कम भयो भने चाहिँ ब्रोकहरु बाँच्न मुस्किल नै पर्छ । अब कारोबार रकम प्रतिदिन २ देखि साढे २ अर्ब नघट्ला भनेर ब्रोकर कमिशन नयाँ लागु गरिएको हो । यदि कारोबार अहिलेकै हिसाबमा भईरहेको अवस्थामा कुनैपनि ब्रोकरलाई समस्या पर्दैन । तर सेबोन नियामक निकाय भएकाले यहाँ लगानीकर्ता, मर्चेन्ट बैंकर, ब्रोकर जो पनि आउन पाउनुहुन्छ । र आफ्नो दुःख विसाउनु सक्नुहुन्छ ।

पछिल्लो समय बैंकदेखि डिम्याटसम्म नक्कली खाता खोलेर आईपीओ भर्ने चलन बढ्यो भन्ने पनि आइरहेको छ । यसलाई कसरी नियमन गर्नुहुन्छ ?

यी कुराहरु पनि आईराखेका छन् नआएका होईनन् । हामीले पनि यस्ता केसहरुमा अनुसन्धान गर्ने गरेका छौं । कोही व्यक्तिले आफ्नो आफन्तको खाताबाट कारोबार गर्ने र पछि आफन्तलाई कारबाही नगर्न अनुरोध गरेर निवेदन दिने गरेका घटनाहरु पनि हामीसँग छन् ।

पूँजीबजारलाई संचालन गर्न बैंकसँगको खाता आबद्ध गर्दै जान्छौं । त्यसकारण डीपीहरु र बैंकहरुले खाता खोल्दा केवाईसी अपडेट गर्दा उनीहरुको औँठाछाप भेरिफिकेशन गर्दा स्वयं मान्छे नै उपस्थित भएर भेरिफिकेशन गर्ने व्यवस्था मिलाउनुपर्छ । त्यसैले हामीले हाल सबैलाई डिजिटल भेरिफिकेसनलाई अवलम्बन गर्ने गरी निर्देशिका बनाएर पठाएको अवस्था छ । यो आएपछि एक चरणको समस्या समाधान हुन्छ ।

दोस्रो चरणमा हामीले राष्ट्र बैंकलाई पनि सेयरको लागि मात्रै प्रयोग हुने खाताहरुको बारेमा एकपल्ट अनुसन्धान गर्न अनुरोध पनि गर्नेछौं । अर्थात यस्ता खाताहरु कति छन् त्यसको तथ्यांक हामीसँगै राख्ने व्यवस्था गर्नुपर्लाकी भन्ने पनि सोचेका छौं ।

पछिल्लो समय बजारमा लगानीकर्ताको आबद्धता बढ्यो तर सोही अनुरुप रियल सेक्टरका कम्पनीहरु भने आउन सकेनन् । उनीहरुलाई भित्राउन सेबोनले के गरिरहेको छ ?

हामीले विभिन्न किसिमका प्रोडक्टहरु ल्याउने कोशिस गरिरहेका छौं । डेरिभेटिभ प्रोडक्टहरु ल्याउनका लागि नेप्सेलाई अध्ययन गर्न लगाईसकेका छौं । उक्त अध्ययनपश्चात ईक्वीटी ट्रेडेड फण्डहरु ल्याउन विनियमावली तयार गरी पेश गर्न निर्देशन दिईसकेका छौं । यस्तै म्युचुअल फण्डलाई ल्याउन पहिले क्लोज ईन मात्रै रहेको व्यवस्थालाई परिवर्तन गरी ओपन ईनको व्यवस्था पनि गरेका छौं । साथै ब्रोकरहरुको मार्जिन कारोबारमा रहेका समस्याहरुलाई हल गर्नका लागि हाम्रो नीतिलाई संशोधन गर्ने प्रक्रियामा छौं ।

‘धितोपत्र बजारलाई प्रभाव पार्ने खालको मनगढन्ते सूचनाहरुलाई नियन्त्रण गर्नुपर्दछ । अहिले व्यवस्थीत पत्रकारीताबाहेक सामाजिक सञ्जाल जस्तै फेसबुक, भाईबर, मेसेन्जरलगायतमा जसले जे पायो त्यही सुचना राख्न पाईने छुट छ । यिनीहरुलाई व्यवस्थित गर्न नसके ठूलो अप्ठ्यारो पर्न सक्छ ।’

हामीले बजारमा माहोल बनाई दिने हो । तर प्रोडक्टहरु ल्याउने र सुविधा दिने काम भने अन्य संस्थाहरुको हो । हामीहरुले उनीहरुलाई माहोल बनाईदिएका छौं अब प्रोडक्ट आउने काम पनि हुन्छ ।

सरकारले रियल सेक्टरलाई प्रवद्र्धन गर्नुपर्ने, ५० करोडभन्दा माथी पूँजी भएका कम्पनीले आईपीओ जारी गर्नुपर्नेलगायतका नियम बनाउँछ तर कार्यान्वयन हुँदैनन् किन ?

कुनैपनि कम्पनीलाई रियल सेक्टरमा आउने वातावरण बनाईदिनुपर्छ । र त्यसका प्रक्रियाहरु पुरा गरिदिनुपर्छ । नेपालमा अन्तरराष्ट्रिय प्रचलनको बुकविल्डिङ विधि लागु गर्ने भनियो । तर हामीसँग न यसको कार्यविधि थियो न केही कुराहरु सुरुवात भएका थिए । तर हामीले यसको सुरुवात गर्याैं । बुकविल्डीङमा भाग लिने क्वालीफाईड लगानीकर्ताको सूची पनि बनाईसक्यौं ।

हामीले भर्खरै उद्योगीहरुसँग छलफल पनि राखेका थियौं । उद्योगीहरु आउन तयार पनि हुनुहुन्छ । रियल सेक्टरमा चन्द्रागिरी हिल्स आयो । डिसहोमको निवेदन आएको छ । विभिन्न जलविद्युत क्षेत्रहरु पनि आएका छन् । र बुक विल्डिङमै जानका लागि भने ३ बर्षसम्म लगातार नाफा कमाएका कम्पनीहरु मात्रै जान पाउँछन् । यसका लागि सर्वाेत्तम सिमेन्टले प्रक्रिया सुरु गरेको छ । अन्य केही उद्योगहरुलगायत यही बर्षभित्रमा ३ ओटा कम्पनीहरु बुक विल्डिङमा आउन सक्छन् ।

बढीभन्दा बढी लगानीकर्तालाई ब्रोकर सेवा दिन सेबोनको तयारी के छ ? लगानीकर्ताहरुले आफ्नो ईच्छा लागेको समयमा आफ्नै स्रोतसाधनको प्रयोग गरी सेयर कारोबार गर्न सक्नुपर्दछ । जसको सबैभन्दा ठूलो माध्यम नै अनलाईन ट्रेडिङ हो । यो एप्समा आधारित सेवा हो । यसका लागि हामीले एक लेभलको काम गरिसकेका छौं । यो भएपछि लगानीकर्ताहरुले कसैको सहयोगविनै घरमै बसी सेयर कारोबार गर्न सक्नेछन् ।

यस्तै ब्रोकरहरुको संख्या वृद्धि गर्नेबारे विभिन्न मोडालिटीमा काम गरिरहेका छौं । अहिलेकै मोडालीटी वा प्रदेशस्तरको ब्रोकर मोडालिटीका बारेमा सोच्नुपर्ने अवस्था आएको छ । प्रदेशस्तरमा पनि हाम्रो स्वामित्व चाहिन्छ भन्ने कुरा छ । बैंकलाई ब्रोकर लाईसेन्स दिँदैमा समस्याको समाधान हुँदैन । यस्तै फिजीकलबाट डिजिटाईजेसनमा गईसकेका छौं । यस्तो अवस्थामा संस्थाहरु थप गर्नुभन्दा पनि सिस्टम बनाई प्रविधिगत रुपमा अघि बढ्ने हो । एक क्लिकमै सेयर किन्न, बेच्न र आईपीओ भर्न सकिने गरी काम गर्नुपर्छ भन्नेमा हाम्रो विशेष ध्यान गएको छ ।

बैंकलाई ब्रोकर लाईसेन्स दिनुपर्छ भन्ने कुरा उठेको छ नि ?

यसमा सबैको आ–आफ्नै स्वार्थ लुकेको छ । तपाईंले बैंकले मात्रै ब्रोकर लाईसेन्स मागेको कुरा सुन्नुभयो । तर हरेक व्यक्तिले आफ्नै ब्रोकर लाईसेन्स किन नपाउने भन्ने पनि कुरा उठेको छ । तर हामी ३ करोड लाईसेन्स दिन सक्छौं की सक्दैनौं भन्ने हो । त्यसैले हामीले ब्रोकर लाईसेन्स वितरण गर्नुपर्दा सोचेर दिनुपर्ने अवस्था छ ।

यो पनि एउटा विजनेस भएकाले बजार बढेको बेलामा यस्ता कुरा बढी आएका हुन् । बजार घट्यो भने यस्ता कुराहरु फेरी सेलाउँदैं जान्छन् । त्यसैले माहोलले पनि यस्ता कुराहरु सिर्जना गर्ने गरेको छ । तर यस्तो व्यापार कसले गर्ने र कसले नगर्ने भन्नेमा पनि भर पर्छ ।

मार्केटलाई सूचनाको पासोमा हाल्ने काम गरियो भन्ने पनि छ । यसमा नियामक निकाय कसरी प्रस्तुत हुन्छ ?

धितोपत्र बजारलाई प्रभाव पार्ने खालको मनगढन्ते सूचनाहरुलाई नियन्त्रण गर्नुपर्दछ । व्यवस्थीत पत्रकारीताबाहेक बजारमा पाईने सामाजिक सञ्जाल जस्तै फेसबुक, भाईबर, मेसेन्जरलगायतमा जसले जे पायो त्यही राख्न पाईने छुट छ । कहिलेकाहीँ गालीहरु पनि आउँछन् । यस्ता प्रकारका संयन्त्रहरुलाई सरकारले नै नियन्त्रण गर्नुपर्ने हो । यिनीहरुलाई व्यवस्थित रुपमा अघि बढ्न नदिए ठूलो अप्ठ्यारो पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

Connect_IPS