Logo

सबल र सशक्त महासंघका लागि मेरो उम्मेद्वारी

सबल र सशक्त महासंघका लागि मेरो उम्मेद्वारी


बिजखबर संवाददाता
0
Shares

ओम निटिङ इन्डष्ट्रिजका अध्यक्ष बासुदेबप्रसाद गौतम निर्यात व्यापार क्षेत्रको परिचित नाम हो । सरल र मिलनसार स्वाभावका गौतमको जनसम्पर्क प्रशंसालायक छ । २३ वर्षदेखि निर्यात व्यवसायमा संलग्न उनी नेपाल उद्योग वाणिज्य महासंघको क्रियाकलापमा पनि विगत १३ वर्ष यता सक्रिया भुमिका निर्वाह गर्दै आएका छन् । महासंघका तत्कालिन अध्यक्ष चण्डीराज ढकालको समयमा विधान संसोधन समितिका सदस्य रहेर काम गरिसकेका उनी व्यवसायीहरुमाझ प्रष्ट वक्ताको रुपमा चिनिन्छन् । निर्यात प्रवद्र्धन समितिको सहसभापति रहेर निर्यात क्षेत्रमा थुप्रै सुधार गरेका गौतमले नेपालको बैंकिङ, बीमा तथा ऊर्जा क्षेत्रमा ठूलो मात्रामा लगानी गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्स तर्फबाट समूह निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका उनले सोही क्षेत्रबाट कार्यकारिणी सदस्यमा उम्मेदवारी दिएका छन । गौतमसँग बिजखबरका प्रमुख संवाददाता रामराजा श्रेष्ठले गरेको कुराकानीको सार:

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा एशोसिएट्सबाट सदस्य पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ । तयारी कस्तो छ ?

नेपाल उद्योग वाणिज्य महासंघ भित्रै रहेर विगत १३ वर्षदेखि काम गर्दै आएको छु । महासंघको दायरा फराकिलो बनाउँदै सम्पूर्ण उद्योगी व्यवसायीको हक अधिकार स्थापित गराउन ठूलो भुमिका निर्वाह गरेको छु । महासंघमा परिवर्तन ल्याएका छौं । अहिले व्यक्तिगत रुपमा भन्दा पनि प्यानलमा बसेर चुनावी रणनीति बनाइरहेका छौं । मेरो मुख्य उद्देश्य एशोसिएट्तर्फका उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल सहित उहाँसँग रहेका सम्पुर्ण टीमलाई जिताउनु हो । जहाँ बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाको सशक्त प्यानल रहेको छ । महासंघलाई बलियो बनाउन व्यक्ति होइन टीम चाहिन्छ । सोही अनुरुप हामीले आगामी नेतृत्वको सशक्त टीम निर्माण गरी चुनावी प्रचारप्रसार गर्दै आएका छौं ।

basudev gautam fncci elction nepal 2073 OM KNITTING INDUSTRIES

 

१३ वर्षसम्म महासंघभित्र रहेर काम गरेको व्यक्ति अब किन सदस्य पदमा उठ्दै हुनुहुन्छ ?

नेपालको औद्योगिक विकास नभएकोमा हामी सरकारको आलोचना त गर्छौं तर हामीले नै सरकारलाई मुलुकको आर्थिक तथा औद्योगिक विकासका लागि के सुझाव सल्लाह र रोडम्याप दिन सक्यौं प्रश्न हामी आफैतिर तेर्सिएको छ । हामीले महासंघमा गएर आफ्नो व्यापार व्यवसाय प्रवद्र्धन गर्ने कि सरकारसँग सहकार्य गरेर सम्पूर्ण सदस्यहरुको हितमा काम गर्ने भन्ने प्रश्न निकै पेचिलो छ । त्यसैले महासंघको नेतृत्वमा गएर नेपालमा उद्योग व्यवसाय विस्तारका लागि निजीक्षेत्रबाट छुट्टै रोडम्याप बनाएर सरकारसँग पहल गर्नु मेरो मुख्य उद्देश्य हुनेछ । यसो गर्न सकियो भने देशको अर्थतन्त्र सबल सुदृढ बनाउन सहयोग पुग्नेछ । साथै व्यवसायी साथीहरुले दैनन्दिन भोगिरहेका समस्याहरु उपर पनि हामीले चनाखो भएर सरकारी निकायहरुसँग लबिङ गर्नुपर्ने हुन्छ । यसका लागि आफूलाई सशक्तरुपमा उभ्याउने प्रण गरी उम्मेद्वारी दिएको छु । आशा एवं विश्वास छ, साथीहरुले मलाई उहाँहरुको सेवा गर्ने अवसर दिनुहुनेछ ।

अहिले पनि महासंघ भित्र गुटको राजनीति चलिरहेको देखिन्छ । तपाइजस्ता व्यक्तिहरु मिलेर त्यसको अन्त्य गर्न सक्नुहुन्न?

अहिले महासंघभित्र गुटको राजनीति छैन । मात्र चुनावको लागि दुई वटा समुह भएको छ । प्रजातान्त्रिक पद्दतिमा गएपछि दुई वटा प्यानल बनाएर चुनावी मैदानमा जानु स्वभाविक हो । त्यसलाई अन्यथा लिनु हुँदैन । यदि सहमतीय रुपमा आफु नजिकका व्यक्तिलाई ल्याउने हो भने त फेरी गुटको राजनीति सुरु हुन्छ । महासंघलाई सक्षम सबल नेतृत्वको आवश्यकता छ । चुनावी प्रक्रियाबाट सदस्यहरुले जसलाई सक्षम देखेर मत दिएर पठाउँछ उसैले महासंघ चलाउने हो । आफु नजिकका वा सहमतीय आधारमा नेतृत्व चयन गरेर महासंघलाई सहिरुपमा अघि बढाउन सकिँदैन । प्रजातान्त्रिक पद्दतिमा चुनावी प्रक्रियाबाट नेतृत्व चुनिनु भनेकै गुटको राजनीति अन्त्य गर्नु हो भन्ने मेरो ठहर छ ।

एशोसिएट्तर्फबाट महासंघमा प्रतिनिधित्व गर्नु भनेको रोजगारदाताहरुको मागलाई सरकार समक्ष राखेर व्यवसायीक हक अधिकार दिलाउनु हो । त्यसका लागि केकस्ता एजेन्डा अघि सार्नु भएको छ ?

म निर्यात क्षेत्रमा लामो समय काम गरेको व्यवसायी हुँ । देशको अर्थतन्त्र सदृढ गर्न सरकारले निर्यातलाई प्राथमिकता दिनुपर्छ । चीन तथा भारतको कुरा गर्ने हो भने कुनै पनि विदेशी मुद्रा भित्र्याउने उद्योग व्यवसाय गर्ने व्यक्तिलाई देश विदेशमा बजारिकण गर्न जादा लाग्ने खर्च देखि निर्यातमा अनुदान समेत दिँदै आएको छ । चीनले आफ्ना देशका व्यवसायी विदेशमा व्यापार मेलामा सहभागी हुन जाँदै छ भने त्यसको ५० प्रतिशत खर्च राज्यले व्यहोर्छ । देशको अर्थतन्त्र सबल बनाउन विदेशी मुद्रा भित्र्याउनु जरुरी छ । त्यसको लागि पर्यटन र निर्यात नै हो । विदेशी मुद्रा बढी भित्र्याउने हो भने आधुनिक प्रविधि ल्याएर बैज्ञानिक पद्दति अनुरुप काम गर्न सकिन्छ । देशबाट निर्यात प्रवद्र्धन गर्न राज्यसँग पहल गर्नेछु भने पूर्वाधार विकास र पर्यटन विकासमा पनि केन्द्रित रहनेछु । आन्तरिकरुपमा औद्योगिक वातावरण निर्माण गरी गुणस्तरीय सामान प्रतिस्पर्धी मूल्यमा उत्पादन गर्न पहलकदमी गर्नेछु । यसले निर्यात वृद्धि र विदेशी मुद्रा आर्जनमा ठोस मद्दत गर्नेछ । विदेशी मुद्रा आर्जन हुँदा व्यवसायीले मात्र होइन, राज्यले नै बढी लाभ पाउनेछ भन्ने सचेतना बढाउन र सरकारी निकायको सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु । साथै अहिले देशमा मौलाएको भ्रष्टाचारले पनि नेपाली बस्तुको लागत र उत्पादन समय बढाएकोले प्रतिस्पर्धी बनाउन सकिएको छैन । राज्यपक्षबाट निजीक्षेत्र पीडित भइरहेको छ । देशमा भइरहेको विकृति, विसंगति र भ्रष्टाचार निर्मुलिकरण गर्नु मेरो अर्को महत्वपूर्ण पहलकदमी हुनेछ ।

basu_gautam

 

तपाई महासंघमा १३ वर्ष बसेर काम गरेको व्यक्ति । तर यो अवधिमा थुप्रै उद्योग कलकारखाना धराशयी भएका छन् । देशमा उद्योग कलकारखाना फस्टाउन नसक्नुको मुख्य कारण के रहेछ ?

मुख्य कारण राजनीतिक अस्थिरता नै हो । राजनीति स्थिरता नभएसम्म राज्यको कुनै पनि अंगले राम्रोसँग काम गर्न सक्दैन । कार्यपालिका, व्यवस्थापिका तथा न्यायपालिका समेत क्रियाशील हुँदैनन । देश नै क्षतविक्षत भएको अवस्थामा कसरी उद्योग कलकारखाना फस्टाउछन् । त्यस्तै देश लामो समय लाडसेडिङबाट गुज्रियो । बिजुली नै नभएको देशमा कसरी खुल्छ उद्योग कलकारखाना । त्यस्तै मुलुक झण्डै १२ बर्षभन्दा बढी हिंसात्मक द्वन्द्वमा फस्यो । राजनीतिक अस्थिरता र हिंसात्मक द्वन्द्वको स्थिति विद्यमान भएपछि आर्थिक एजेण्डामा कसैको ध्यान भएन । उद्योग कलकारखाना विकासको लागि राज्यले आर्थिक ऐजेन्डा ल्याउनुपर्छ । राज्यको नीति नियम नै ठिक छैन भने कसरी हुन्छ उद्योग कलकारखानाको विकास ? निजी क्षेत्रसँग ज्ञान, शीप र लगानी गर्ने पूँजी हुन्छ । त्यसलाई परिचालन गर्न राज्यले सहज बाटो बनाइदिनु पर्छ । अब त्यसैको लागि पहल गर्न महासंघमा प्रतिनिधित्व गर्दैछु ।

महासंघ भनेकै आर्थिक एजेण्डामा सरकारसँग बहस गर्ने निकाय हो । यसमा निजी क्षेत्र पनि चुकेको त होइन ?

महासंघ नेतृत्वमा बेलाबेलामा उत्तरचढाव आइरयो । नेतृत्वमा आएका केही व्यक्तिहरु आफु र आफ्नो व्यवसायमा बढी केन्द्रित भएको देखियो । व्यवसायीका मुद्दामा राज्यलाई घच्घच्याउने काम भएन । मैले अघि पनि भने, हिजोको दिनमा जसरी महासंघ चल्यो अब पनि त्यहि ढर्रामा लैजानु हुँदैन । महासंघभित्र नेतृत्व परिवर्तनको जरुरत छ । महासंघमा क्षमतावान नयाँ युवाहरु आउनुपर्छ जसले नयाँ सोचका साथ महासंघलाई सुदृढ गर्दै बलियो बनाएर लैजानेछन् ।

सबै संगठनमा राम्रा नराम्रा व्यक्तिहरु हुन्छ । केही व्यक्तिको हातका संगठन चल्दा राम्रा व्यक्तिहरु वाहिरिनु परेको छ । आशा छ अबका दिनमा महासंघमा सम्पूर्ण सदस्यहरुले दक्ष र क्षमतावान व्यक्तिलाई चुन्ने छन् र उनीहरुले नै महासंघलाई सक्षम बनाउनेछ ।

basudev gautam fncci elction nepal 2073

पछिल्लो समय महासंघमा एउटै व्यक्तिको हालीमुहाली चल्यो र सोही अनुरुप राजनीतिकरण पनि भयो भन्ने धेरै सदस्यहरुको आरोप छ । यसो हुनुमा दोषी को ?

मान्छेको विवेक र विचार सबैभन्दा बढी शक्तिशाली हुन्छ । कुनै पनि संस्था विग्रनु वा सप्रनुमा त्यो संस्था हाक्ने व्यक्ति र त्यसका सदस्यहरुको मुख्य भुमिका रहन्छ । संस्थाभित्र रहेपछि सबैले आ-आफ्नो धर्म निर्वाह गर्नुपर्छ । चुनावी प्रक्रियाबाट नेतृत्व चयन हुने संस्थामा त्यसका सदस्यहरुले सही नेतृत्व चुन्न नसक्नु नै ठूलो गल्ती हो । सही नेतृत्व चयन गर्ने समयमा पछाडी बस्ने अनि नेतृत्वले गलत गर्यो राजनीति घुस्यो भनेर कराउनु बेकार हो । तसर्थ सबै साथीहरुलाई मेरो आग्रह के छ भने चुनावी प्रक्रियाबाटै सही व्यक्ति छनौट गरेर पठाउनुस उनीहरुले नै संस्था बलियो बनाउनेछन् ।

तपाई निर्यात क्षेत्रमा बढी काम गरेको व्यक्ति । अब महासंघ भित्र रहेर देशमा उद्योगधन्दा विकासका लागि के पहल गर्नुहुन्छ ?

क्षेत्रगत रुपमा कुरा गर्दा मेरो मुख्य उद्देश्य देशको निर्यात व्यापार सुधार गर्नु नै हो । निर्यात व्यापारमा अन्य देशले निर्यातकर्तालाई नगद अनुदान दिन्छन् तर नेपालमा त्यस्तो कुनै व्यवस्था छैन । निर्यातमा दिइने अनुदानको विषय सरकारले कागजी रुपमा उल्लेख गरेपनि व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याएको छैन । त्यसलाई कार्यान्वयमा ल्याउन महासंघकोतर्फबाट सरकारसँग पहल गर्नेछु ।

यसैगरी देशमा उद्योग कलकारखाना स्थापनाको लागि पहल गर्नुपनि मेरो दायित्व रहन्छ । अन्य देशको कुरा गर्ने हो भने उद्योग कलकारखाना खोल्न सरकारले निः शूल्क जग्गा उपलब्ध गराउँछ भने पूर्वाधार विकासमा पनि ५० प्रतिशत लगानी गरिदिएको हुन्छ । तर, नेपालमा उद्योग खोल्ने भन्ने वित्तिकै राज्यले विभिन्न झण्झट खडा गरिदिन्छ । महासंघबाट प्रतिनिधित्व गर्दै देशमा उद्योग कलकारखाना खोल्नका लागि सहज वातावरण निर्माण गर्न सरकारसँग पहल गर्नेछु ।

प्रतिक्रिया दिनुहोस्
MBL