GBIME

होटलको ‘लस क्यारी’ गर्नै ९ वर्ष लाग्छ, आयकर छुटले सहुलियत हुँदैन : शशीकान्त अग्रवालको अन्तर्वार्ता


बिजखबर संवाददाता
26 September, 2021 12:39 pm

sashikant-agrawal-marriott-kathmandu-nepal

कोरोनापछिको अर्थतन्त्र उकास्न सरकारले आर्थिक गतिविधिलाई द्रुत गतिमा चलायमान बनाउनु पर्ने भएपनि नेपालको इतिहासमै पहिलो पटक सरकार सटडाउनको अवस्थामा पुग्यो । शेरबहादुर देउवा नेतृत्वको सरकारले संशोधित बजेट ल्याएपनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसद अवरोधका कारण केही समय कार्यान्वयनमा आउन सकेन । अर्थमन्त्री जनार्दन शर्माले संशोधित बजेटमार्फत उद्योगी व्यवसायीका समस्या सम्बोधन गर्दै सोही अनुरूप राहत दिएको दावी गरेका छन् । तर उद्योगी व्यवसायीहरू भने त्यसरी दिइएको राहतले कुनै प्रभाव नपार्ने बताउँछन् । सरकारले ल्याएको बजेट र कोभिड पछि पर्यटन क्षेत्रमा परेको असरको विषयमा केन्द्रित रहेर उद्योगी एवं होटल मेरिओट काठमाडौंका अध्यक्ष शशीकान्त अग्रवालसँग बिजखबरका रामराजा श्रेष्ठले गरेको कुराकानीको सार :

Bajaj
Nabil
Yamaha

आठ दिन खर्चविहीन बनेको सरकारलाई यहीं शुक्रबारदेखि खर्चको बाटो खुलेको छ । व्यावसायिक जगतमा यसका दीर्घकालिन र अल्पकालिन असर केही हुन्छन् ?

नेपालमा केहि समयका लागि मात्रै भएपनि सरकार खर्चविहिन अवस्थामा पुग्या् । जुन लामो समयसम्म रहेन । तर, मानिसमा भने यसले दिर्घकालिन असर पार्ला की भन्ने त्रास पैदा गरिदियो । यस्तो घटना संसारमा विरलै मात्रै हुन्छ । यस्तो घटना खासगरी हुनुहुँदैन । तर, यसमा सरकारको पूर्वतयारी भने हुनुपर्छ । कथमकदाचित बजेट विहिनताको समस्या आईहाले देशमा कर्मचारीको तलब, पेन्सन, महामारीका लागि आवश्यक खर्चलगायत जरुरी हुने भएपछि त्यसको विकल्प भने खोजिनुपथ्र्यो । यसले बिजनेस कम्युनिटीमा पैसाको प्रवाहलगायतका विषयमा सकारात्मकता भने जान्थ्यो । नेपालमा बजेट विहिनताले खासै असर नपारेपनि म्यासेज भने नराम्रो गयो । संसारमै विरलै हुने यस्तो घटना नेपालमै भयो भन्ने मनस्थिति बनेको छ । 

केही दिन बजेट विहिन हुँदा व्यावसायिक जगतमा त्यस्तो दिर्घकालिन असर हुँदैन । सबैले आफ्नो तरिकाले यसको विश्लेषण गरे । तर, सत्तामा गएकाको काम गर्ने तरिकालाई भने यसले राम्रै ईंंगित गर्याे । सत्तापक्षमा बजेट पास गर्न सक्ने राम्रै बहुमत हुँदाहुँदै पनि पास गर्न नसकेको र प्रमुख प्रप्रतिपक्षीलाई मिलाएर अघि बढाउन नसकेको आरोप भने लागेको छ । 

sarbottam

असर नपर्ने भए संशोधित बजेटका व्यवस्थाहरुबाट तपाईंहरु उत्साहित हो ? खासगरी तपाईं आफै पनि पर्यटन क्षेत्रसँग जोडिएकोले त्यो दृष्टिकोणबाट बजेटमा भएका संसोधनलाई कसरी लिनुहुन्छ ? 

सरकारले संशोधित बजेटबाट आयकरमा छुट दिने नीति लिएको छ । तर, यसले हामीलाई खासै सहुलियत हुन्छ जस्तो लाग्दैन । आम्दानी भएको बेला हामीलाई तिर्न पनि सजिलै हुन्छ, अप्ठ्यारो पर्दैन । तर, सरकारले पर्यटन क्षेत्रलाई कसरी जीवित बनाउने भनेर सोंच्नुपथ्र्याे । जीवित पारेर मात्रै हुँदैन, चलाउने वातावरण पनि बनाउने व्यवस्था गरिदिनुपथ्र्याे । यस्ता कुराहरुमा ध्यान पुगेको भने देखिदैंन । 

‘नेपालमा बजेट विहिनताले खासै असर नपारेपनि म्यासेज भने नराम्रो गयो । संसारमै विरलै हुने यस्तो घटना नेपालमै भयो भन्ने मनस्थिति बनेको छ ।’

नेपालका होटलहरु पछिल्लो तीन बर्षदेखि घाटामा छन् । यस्तो घाटा चुक्ता गर्न कम्तीमा ८ देखि ९ वर्ष लाग्छ । यसरी ‘लस क्यारी’ गर्नै यत्रो समय लाग्दा होटल व्यवसाय कहिले नाफामा जाने ? अनि नाफामा गएर मात्रै पो सरकारले आयकर उठाउन पाउने हो, नभए कसरी आयकर उठ्छ र त्यसमा छुट दिई व्यवसायीले सहुलियत पाउँछन् ? यस्तै प्रतिस्थापन विधेयकले पर्यटन सम्बद्ध हरियो प्लेटका गाडी आयातमा केही छुट दिएको छ । यो भने राम्रै हो । 

हामीले विधेयकमा महामारीले जकडिएको होटल क्षेत्रलाई विश्वका विभिन्न देशहरुले कर्मचारीहरुलाई ८० प्रतिशत तलबको व्यवस्थासँगै सहुलियतमा कर्जाको समेत सुविधा दिएका छन्, यस्तो सहुलियत चाहिन्छन भन्दै माग गरेका थियौं । तर, नेपालमा हालसम्म त्यस्तो बिषय उठान हुन सकेको देखिँदैन । यस्तै सरकारले भ्याट कम गरेको खण्डमा हाम्रा कोठा सस्ता हुन्थे र पर्यटक बढ्थे । यी बिषयहरुमा खासै सहुलियत पाईएको अवस्था छैन । बिजुलीमा छुट पनि पर्यटन व्यवसायीलाई त्यति हेरिएको देखिँदैन । त्यसैले सरकारले संसोधिन पर्यटन उद्यमलाई खासै सहुलियत दिएन । 

सरकारले नै कोरोनाका कारण सबैभन्दा बढी चपेटामा परेको र विस्थापननै हुनुपर्ने अवस्था आएको क्षेत्र नै होटल क्षेत्र भनेको छ । सहुलियत ऋण र पूनस्र्थापना प्याकेज पनि घोषणा गरेको छ । तपाईंहरुलाई यत्तिले पनि चित्त बुझेन ? 

पूनस्र्थापनाको प्याकेज भने राज्यले ल्याउनुपर्ने विषय हो । हामीले त राज्यसँग यो समस्या आईपर्याे सहयोग गर्नुपर्याे भन्दै गुहार मात्रै माग्ने हो । त्यसकारण, पुनर्कर्जाको रकम बढाउने, हवाई भाडा सस्तो गर्र्ने, भ्याटमा छुट दिने, प्लेनको ग्राउन्ड ह्यान्डलिङ चार्ज घटाउनेलगायतका कुरामा समायोजन गरिनुपर्छ । नेपालमा पर्यटकको फ्लो ३ देखि ४ बर्षका लागि बढाउन भरपुर प्रयास गर्नुपर्ने देखिन्छ, जसमा यी कुराहरु पर्दछन् । यसरी सहुलियत दिएको खण्डमा केही रिभाईभल होलाकी ? 

अहिले घोषणा गरिएका सहुलियत प्याकेजले तपाईंहरुले खोजेको विषयलाई पनि सम्बोधन गर्ला नि ? 

हाल दिईएका सेवा सुविधा त कुनै प्याकेज नै होइनन् । पुनर्कर्जालाई निरन्तरता दिने, आयकर मा छुट दिनेलगायत सुविधा दिईएका छन्, यीनले हामीलाई खासै लाभ हुँदैन । पुनर्कर्जाको निरन्तरतामा केही ब्याज छुट मात्रै दिइएको छ र आयकरको छुटमा पनि हामीलाई आय भएको खण्डमा पैसा तिर्न कुनै अप्ठ्यारो छैन । 

सरकारले हालैमात्र अन अराइभल भिसा खुला गरेको छ । विदेशी पर्यटकलाई लक्षित गरेर खुलेका होटलहरुलाई त अब पर्यटकको स्वागत गर्न समस्या नहोला नि ? 

पर्यटकहरु ल्याउन नेपाललाई सस्तो गन्तव्यभन्दा पनि महँगो वस्तु तथा सेवा सस्तोमा दिँदैछौं भनेर प्रचार गरिनुपर्छ । यसका लागि होटलले कोठामा छुट दिन थालिसकेका छन् । यसमा सरकारले पनि भ्याटमा केही छुट दिएमा हामीलाई सजिलो हुनेथियो । 

तीन बर्षका लागि पर्यटकलाई अनअराईभल भिसा फ्रि गरिदिँदा पनि पर्यटन क्षेत्रमा ठूलो सकारात्मक असर गर्छ । हवाई भाडा घटाईदिने, झन्झटरहित पर्यटक आगमनमा ध्यान दिनेलगायत कुरा गरे पर्यटक आउन सक्छन् । पर्यटन बोर्डलगायतका निकायसँग पैसा राम्रै छ, त्यसको मार्केटिङमा लगानी गरे राम्रै होला । मार्केटिङभित्र नेपालमा कस्ता कस्ता होटल छन्, पर्यटन सेवा र सत्कार कस्तो छ, सरकारले गर्ने प्रोत्साहनलगायत विषयहरुलाई बिशेषगरी ध्यान दिनुपर्ने देखिन्छ । 

‘अन्तरराष्ट्रिय बजार नियाल्ने हो भने क्यासिनो टुरीजम पर्यटक भित्र्याउने धेरै राम्रो माध्यम हो । यसले मानिसहरुलाई रोजगारीको अवसर दिनुका साथै अर्थतन्त्र चलायमान बनाउन ठूलो मद्दत गर्छ ।’

सबै नाकाहरु खुला गरिए, भ्याक्सिन जारी छ र उडान पनि खुलाईएको छ । अब त धेरै पर्यटक आउने अपेक्षा गर्न सकिन्छ कि ? 
हालसम्म पनि अन्तरराष्ट्रिय उडानहरु पूर्ण रुपमा खुलिसकेका छैनन् । यसका लागि नेपालमा भएका विदेशी कुटनीतिक नियोगमार्फत, विदेशका मिडियामार्फत र विभिन्न अन्तरराष्ट्रिय माध्यममार्फत नेपाल अब सुरक्षित छ, कोरोना महामारीको अन्त्य हुँदैछ, खोप लगाईँदैछ भन्ने किसिले प्रचार गर्नुपर्छ । पर्यटन क्षेत्रका सबैले खोप लगाएको, सरकारले सहजीकरण गरिरहेको, प्रोत्साहन गरिरहेको विषय पनि यसमा जोडिनुपर्छ । 

पर्यटन क्षेत्रका लागि ब्याजदर सस्तो हुनुपर्छ भन्ने माग आईरहँदा एकाएक तरलतामा संकुचन आउँदा ब्याज बढीरहेको छ । यसको असर देखिन थाल्यो कि बाँकी छ ? 

ब्याज भनेको कुनै पनि व्यापार व्यवसायमा प्रत्यक्ष लागत हो । त्यसैले यो जति कम भयो त्यति राम्रो मान्ने व्यवसायीको बानी नै हो । यस्तो गर्न सकियो भने व्यापार र उद्योग पनि फस्टाउँछ । नेपालमा पछिल्ला वर्ष नयाँ नयाँ उद्योग खोल्ने ठूला लगानी भित्र्याउनेलगायतका क्रियाकलापमा ब्याजदरको ठूलो योगदान छ । त्यसैले ब्याज बढ्नु औद्योगिकरणका लागि राम्रो सुचक भने होईन । 

यसका लागि व्यापार व्यवसाय गर्नेलाई उसले लिएको बैंक कर्जाको ब्याजमा सहुलियत, स्किमलगायतका माध्यमबाट यथावत् गर्न सकियो भने राम्रो हुन्छ । कतिपय अवस्थामा धेरै उद्योगी व्यवसायीले ७ देखि ८ प्रतिशत ब्याजदरमा लिएको कर्जाको ब्याजदर पछि १० प्रतिशतसम्म पुग्दा धेरै ठूलो भार पर्छ । 

जटिल अवस्थाबीच पनि पछिल्लो समय होटल खुल्ने क्रम बढिरहेको छ । यसरी गरिएका लगानीहरु अब कत्तिको सुरक्षित देख्नुहुन्छ ? 

होटल खोल्ने सोचाईं नै फरक छन् । केही उसले गर्याे मैले किन नगर्ने भन्दै होटल खोल्ने छन् । केही चाहीं पर्यटकीय सम्भावना आँकलन गरेरै खुलेका छन् । पर्यटनको सम्भावना अनुसार नेपालमा होटल संख्या अझै पनि पर्याप्त छैन । हामीले दुई ओटा होटल सञ्चालनमा ल्याएपछि होटल सञ्चालनको लहर नै चल्यो । पर्यटक केन्द्रित त्यस्ता होटलहरु राम्रै पनि चलेका छन् । 

होटलमा लगानी बढिरहेपनि कतिपय व्यवहारिक समस्याले पनि प्रभावित बनाइरहेको छ । जस्तो कि काठमाडौंको ट्राफिक । उपत्यकाको सबैभन्दा ठूलो समस्या नै अहिले ट्राफिक व्यवस्थापनको हो । ट्राफिककै कारण एयरपोर्टसम्म पुग्ने समय बढेको छ । सरकारले यस्ता साना तर व्यवहारिक रुपमा समस्या सिर्जना गर्ने विषयमा विशेष ध्यान दिनैपर्छ । 

अब पर्यटन क्षेत्रलाई नयाँ तरिकाले सुधार गर्ने अवसर पनि सिर्जना भएको छ । यो स्थितिमा पर्यटकको सङ्ख्या बढाउनेमा बढी केन्द्रित हुने कि गुणस्तरमा ? 

नेपालमा विविधता छ । होटलका कोठाहरुमा पनि १० देखि ४ सय डलरसम्मका कोठाहरु छन् । हामीले पर्यटक भित्र्याउँछौं भनेर मात्रै हुँदैन । धेरै पर्यटकहरु सस्तो भन्दै नेपाल आउँछन् । तर, हामीले पर्यटक आएअनुसार नै व्यवस्थापनमा विविन्न ध्यान दिनुपर्ने देखिन्छ । हामी जुनसुकै, जस्तोसुकै पर्यटक पनि भित्र्याउन सक्ने क्षमता राख्दछौं । 

नेपाललाई होटलमा क्यासिनो सञ्चालनको विषय पनि बारम्बार मुद्धा बनिरहन्छ । क्यासिनो पर्यटक भित्र्याउने विषयमा यहाँको दृष्टिकोण के हो ?

अन्तरराष्ट्रिय बजार नियाल्ने हो भने क्यासिनो टुरीजम पर्यटक भित्र्याउने धेरै राम्रो माध्यम हो । यसले मानिसहरुलाई रोजगारीको अवसर दिने गर्दछ । अहिले पनि धेरै होटलले आफ्नो क्यासिनो खोलेका छन् । जसमा होटलमा जत्तिकै स्टाफहरु क्यासिनोमा हुन्छन् । यस्तै नेपालमा स्थानीयलाई क्यासिनामो छिर्न दिँदैनन् भन्ने छ । यसअघि मिटरब्याजमा पनि पैसा लिएर क्यासिनामो आउने चलन बढेको छ । यस्तो बेलामा क्यासिनोमा नेपालीहरुलाई केही नियम कडा गरेर प्रतिबन्ध लगाउँदा बाहिरका क्यासिनो पर्यटक भित्र्याउन सकिन्छ । 

नेपालको क्यासिनोमा आउने भारतीय र चिनियाँ पर्यटक हुन् । तर, सरकारले बाहिरबाट क्यासिनोका लागि आएका नागरिकहरुलाई राम्रो सम्मान दिनुपर्छ । यस्तै विभिन्न देशबाट आउँदा कम मात्रै पैसा बोक्न पाउने व्यवस्थाले भने धेरै असहयोग पुर्याएको छ । सिंगापुर, बेलारुस, श्रीलंका, माल्दिभ्सलगायतका देशहरुको अर्थतन्त्र नै क्यासिनोले माथी उकासेका छन् । यो अवस्था नेपालमा पनि ल्याउन भारतीय र चिनियाँ क्यासिनो खेलाडीलाई विशेष जोड दिएर आकर्षित गर्नुपर्छ । यसलाई नेपालमा विदेशी नगद ल्याएर नेपालमा खर्च गर्ने व्यवस्थाका रुपमा बुझ्नुपर्दछ । यदि कोही विदेशी नागरिकले आफनो देशबाट १० लाख नगद ल्याएको खण्डमा विभिन्न क्षेत्र र सेवामा खर्च गरेर फिर्ता जाँदा ३ लाखभन्दा कम मात्रै  लिएर जान्छ । यस्तो भएपछि नेपालको अर्थतन्त्र चलायमान भईराख्छ । 

कोभिडपछि अलि सहज परिस्थिति बनिरहेको अवस्थामासम्बद्ध मन्त्रालयहरु मन्त्री विहिन छन् । व्यवसायिक क्षेत्रले यो अवस्थालाई कसरी हेरिरहेको छ ? 

यो त दूर्भाग्यको कुरा हो । मन्त्रालयमा मन्त्री नहुनु भनेको त्यति ठूलो कुरा नहोला । तर मन्त्रिपरिषदका निर्णयका लागि सम्बन्धित मन्त्रालयकै मन्त्री हुनुपर्ने भएकोले त्यो अवस्थामा समस्या आउँछ । मन्त्री नहुँदा सम्बन्धित मन्त्रालयका धेरै निर्णयहरु क्याबिनेटको बैठकमा पनि प्राथमिकतामा पर्दैनन् । त्यसैले कुनै मन्त्रालयमा मन्त्री नहुनु दूर्भाग्यको कुरा हो । यसबाट हुनुपर्ने काममा भने ठुलै बाधा आईहाल्छ ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom