Logo

साउदीले कतारमाथि लगाएको नाकाबन्दी खोल्यो : तीन वर्षपछि स्थल र जलमार्ग खुला, हवाई मार्ग खोल्ने तयारी

साउदीले कतारमाथि लगाएको नाकाबन्दी खोल्यो : तीन वर्षपछि स्थल र जलमार्ग खुला, हवाई मार्ग खोल्ने तयारी



काठमाडौं । साउदी अरेबियाले कतारमाथि लगाएको प्रतिबन्ध खुकुलो पारेको छ । गल्फ को–अपरेशन जीसीसीको सम्मेलनपछि साउदी अरेबियाले यो निर्णय लिएको कुवेतका परराष्ट्रमन्त्रीले जानकारी दिएका छन् । 

अधिकांश छिमेकी देशबाट प्रतिबन्धित कतारका लागि यो ऐतिहासिक निर्णय भएको जनाइएको छ। यो निर्णयसँगै साउदीले कतारसँगको स्थल र जलमार्ग खोलेको छ भने हवाई मार्ग खोल्ने तयारी गरेको छ । 

साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहराइन र इजिप्टले जुन २०१७ मा कतारसँग कुटनीतिक, व्यापारिक तथा यात्रामाथिको सम्बन्ध तोडेका थिए । उनीहरुले कतार इरानसँग निकट रहेको भन्दै आतंकवादको समर्थन गरेको आरोप लगाएका थिए । सबैजसो खाडी मुलुकको घेराबन्दीमा परेको कतारले आतंकवादलाई समर्थन गरेको भन्ने आरोपको खण्डन गर्दै आएको थियो । 

कतारमाथिको यो प्रतिबन्ध हटाउन कुवेतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बीबीसीले जनाएको छ । कतारमाथि ३ वर्षसम्म लगाइएको प्रतिबन्धले सबै खाडी देशलाई असर परेको थियो । 

खाडीको सबैभन्दा धनी र सानो देश कतारमाथिको ३ वर्षे प्रतिबन्ध कतारका लागिभन्दा प्रतिबन्ध लगाउने देशहरुका लागि बढी घातक भएपछि फुकुवा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । कतारको राजधानी दोहा पछिल्लो समय अन्तर्राष्ट्रिय पर्यटन हब बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL