Logo

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने, कोरोनाभाइरसको अवस्था भयावह रहेको ठहर

दिल्लीका विद्यालय अझै एक महिना बन्द रहने, कोरोनाभाइरसको अवस्था भयावह रहेको ठहर


बिजखबर संवाददाता
216
Shares

काठमाडौं । भारतको दिल्ली राज्यका विद्यालयहरु कम्तीमा अझै एक महिना बन्द नै रहने भएका छन् । राज्यका उप मुख्यमन्त्री मनिष सिसोडियाले आगामी जुलाई ३१ तारिखसम्म राज्यभरीका विद्यालयहरु बन्द नै रहने निर्णय भएको जानकारी दिए ।

लामो समयदेखि बन्द रहेका विद्यालयहरु कोरोना भाइरसको त्रासका कारण अझै पनि सूचारु गर्ने अवस्था नरहेको उनको भनाई छ । दिल्ली राज्यको शिक्षा मन्त्रालयको जिम्मेबारी समेत लिएका उप मुख्यमन्त्री सिसोडियाले सरोकारवाला उच्च सरकारी अधिकारीहरुसँगको बैठकले पनि तत्काल विद्यालयहरु खोल्ने अवस्था नरहेको ठहर गरेको जानकारी दिए ।

बैठकमा लकडाउन र कोरोनाभाइरसको अवस्थासँगै शैक्षिक क्रियाकलापलाई कसरी अगाडी बढाउने भन्ने बारेमा छलफल भएको थियो । विभिन्न योजनाहरु र तथ्य तथा तथ्यांकहरुमाथी एक एक गरेर बैठकमा छलफल गरेर विद्यालय बन्द रहने निर्णयलाई आगामी जुलाई ३१ सम्म कायमै राख्ने निर्णय भएको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेश मन्त्रालयको तर्फबाट उनले केन्द्रिय मानव श्रोत विकास मन्त्री रमेश पोख्रियाललाई यसअघि नै यस विषयमा पत्राचार गरिसकेका थिए । उनले विद्यालयहरुका लागि नयाँ नियम ल्याउन सुझाव पनि दिएका छन् ।

उनले जिल्लागत रुपमा सरकारी तथा नीजि विद्यालयका शिक्षक तथा प्राध्यानाध्यापक, विद्यार्थी, अविभावकलगायतसँग गरिएको सर्वेक्षणका आधारमा विभिन्न निष्कर्षहरु निकालिएको र ती सवै विषय केन्द्रिय सरकारलाई पठाइएको बताए ।

सर्वेक्षणबाट विद्यार्थीहरुको पढाई र विद्यालय पुनः सञ्चालन बारे फरक फरक प्रकारका सुझाव तथा उपायहरु संकलन भएको वक्तव्यमा लेखिएको छ । उनीहरुले प्राथमिक तहको पढाई सञ्चालन गर्दा हप्तामा एक वा दुई दिन मात्रै गर्न र प्रत्येक कोठामा १२ देखि १५ जना मात्रै विद्यार्थीहरु राख्न उपयुक्त हुने सुझाव दिएका छन् ।

त्यसैगरी कक्षा ३ देखि ५ सम्मका विद्यार्थीका लागि एक एक दिन विराएर पालै पालो कक्षा सञ्चालन गर्न अर्को सुझाव आएको पनि वक्तव्यमा उल्लेख गरिएको छ । विद्यालयमा जाने व्यवस्था गर्दा पर्याप्त सेनिटाइजरको व्यवस्था गर्नु पर्ने, विद्यार्थीलाई मास्क वितरण गर्नु पर्ने, विद्यालयको प्रवेशद्धारमा हरेक दिन हरेक विद्यार्थीको ज्वरो नाप्नु पर्नेलगायतका आधारभूत स्वास्थ्य सतर्कता अप्नाउनु पर्ने उनीहरुको सुझाव छ ।

संभव भएसम्म अनलाईन अध्ययन अध्यापन कार्यलाई निरन्तरता दिनु पर्ने कुरामा अधिकांशको जोड रहेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई हप्तामा एक वा दुई वा तीन दिन मात्रै र कक्षा ९ र १० का विद्यार्थीहरुलाई सानो सानो समूह बनाएर हप्तामा एक वा दुई दिन मात्रै अध्यापन गराउन पनि शिक्षा मन्त्रालयलाई सुझाव आएको छ ।

कतिपयले कक्षा १० का विद्यार्थीहरुलाई उच्च सतर्कता अप्नाउन लगाएर सामाजिक दुरी कायम गर्दै दैनिक पढाउन पनि सकिने तर अनलाईन अध्यापनलाई भने निरन्तरता नै दिनु पर्नेमा विषेश जोड दिएका छन् ।

सुझाव दिनेहरुले कक्षा ११ र १२ को अध्ययन अध्यापन कार्य एक एक दिन विराएर गर्न सकिने वा अनलाईनबाट हुने अध्यापन कार्यलाई थप प्रभावकारी बनाउन सकिने सुझाव दिएका छन् । जसरी पढाए पनि दिनमा तीन वा चार घण्टा मात्रै पढाउनु उपयुक्त हुने अधिकांशको भनाई रहेको उप मुख्यमन्त्रीको कार्यालयद्धारा जारी वक्तव्यमा लेखिएको छ ।

भावी दिनमा प्रारम्भिक चरणमा विद्यालयहरु सूचारु गर्दा माथी उल्लेखित सुझावहरुलाई मध्यनजर गरेर गर्न आफुहरुले पनि केन्द्रिय सरकारलाई सिफारिस गरेको उप मुख्यमन्त्री सिसोडियाले बताए । – एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL