काठमाडौं । भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरोले एयर इन्डियाको विमानको दुर्घटनाबारे प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले जुन १२ को दुर्घटनाको मुख्य कारण उडानको क्रममा इन्जिनहरूमा इन्धन आपूर्ति बन्द हुनुलाई औंल्याएको छ ।
बोइङ ७८७–८ ड्रीमलाइनर विमानले अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही समयमै इन्धन नियन्त्रण स्विचहरू रन बाट कटअफ मोडमा एक सेकेन्डको फरकमा परिवर्तन गरिएका थिए । यसले इन्जिनहरूमा इन्धन आपूर्ति बन्द भएर विमानले शक्ति गुमाएपछि जमिनमा खसेको थियो । स्विचहरू फेरि उल्ट्याएर इन्जिनहरू फेरि सञ्चालनमा ल्याउने प्रयास गरिए पनि असफल भएको प्रतिवेदनमा उल्लेख छ ।
विमानको ब्ल्याक बक्सबाट ४९ घण्टाको उडान डाटा र दुई घण्टाको ककपीट अडियो रेकर्ड भेटिएको छ । जसमा दुर्घटनाको क्षण पनि समावेश छ । इन्धन नियन्त्रण स्विचहरू विमान चालकहरूका सिटको बीचमा थ्रोटल लिभरको पछाडि रहेको हुन्छन् । अनावश्यकरूपमा स्विच नहोस् भनेर तिनीहरू धातुका बार र लकिङ मेकानिजमद्वारा सुरक्षित गरिएका हुन्छन् । ती स्विचहरू कस्तो प्रकारले पल्टाइएका थिए भन्ने विषयमा अनुसन्धान जारी छ ।
उडानका क्याप्टेन ५६ वर्षीय पुरूष थिए जसको उडान अनुभव १५ हजार घण्टाभन्दा बढी थियो भने पहिलो सहचालक ३२ वर्षीय पुरूष थिए जसको अनुभव ३ हजार ४ सय घण्टाभन्दा बढी थियो । यो दुर्घटनामा विमानमा सवार र जमिनमा रहेका गरी २ सय ६० जनाको ज्यान गएको थियो । उक्त उडान लन्डनको ग्याटविक विमानस्थलमा बेलुका ६ बजेर २५ मिनेटमा अवतरण हुने तालिकामा थियो । प्रारम्भिक निष्कर्षले दुर्घटनाअघि ककपीटमा भएका क्रियाकलापहरूप्रति गम्भीर प्रश्न उठाएका छन् ।