Logo

इरानमाथि इजरायलले थाल्यो आक्रमण, इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

इरानमाथि इजरायलले थाल्यो आक्रमण, इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु



काठमाडौं । इजरायलले इरानमाथि आक्रमण गरेको छ। इजरायली सेनाका एक अधिकारीले शुक्रबार इरानविरुद्ध हमला सुरु गरेको बताएका छन्। आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाइएको छ। ‘यो एक दिने हमला होइन’, इजरायली सेनाको एक स्रोतले सीएनएनलाई भन्यो । इजरायली सेनाका अधिकारीले इरानभरका दर्जनौं केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् ।

इजरायली हमलामा अमेरिकी संलग्नता छैन : रुबियो

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन्। ‘आज राति इजरायले इरानविरुद्ध एकतर्फी कारबाही गर्‍यो। हामी इरानमा गरिएका हमलामा संलग्न छैनौँ । हाम्रो उच्च प्राथमिकता क्षेत्रमा अमेरिकी सेनाहरूको सुरक्षा हो’, उनले एक वक्तव्यमा भनेका छन्।

आपतकालीन अवस्था घोषणा
इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ । सीएनएनका जेरुसलेम ब्यूरो प्रमुख ओरेन लिबरम्यानका अनुसार देशमा आपतकालीन अवस्था घोषणा गरिएपछि जेरुसलेमभर साइरन बजेका थिए ।

लिबरम्यानले भने, ‘नागरिकहरूको मोबाइलमा अलर्ट आएको छ। यसले होम फ्रन्ट कमान्डले देशलाई सतर्क अवस्थामा राखेको बताउँछ ।’ स्थानीय समयअनुसार बिहान ३ बजे इजरायली रक्षा बलले देशभर पूर्ण गतिविधिबाट आवश्यक गतिविधिमा सारिएको घोषणा गरेको छ। नयाँ निर्देशनअनुसार आवश्यक क्षेत्रबाहेक शैक्षिक गतिविधि, सभा तथा कार्यस्थलमा प्रतिबन्ध लागु गरिएको छ ।

ट्रम्पले बोलाए मन्त्रिपरिषद बैठक
इजरायलले इरानविरुद्ध हमला गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । ह्वाइट हाउसका एक अधिकारी र दुई स्रोतले सीएनएनलाई दिएको जानकारी अनुसार इरानमा भइरहेको घटनाक्रमप्रति अमेरिकी प्रतिक्रिया यस बैठकको मुख्य विषय हुनेछ । राति ८ बजेपछि राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा कांग्रेसले आयोजना गरेको पिकनिक कार्यक्रम छोडेको देखिएको थियो । अमेरिकी अधिकारीहरू खतरा बढ्दै गएको देखेपछि हमलाअघि नै ट्रम्पले यो उच्चस्तरीय बैठक बोलाएका हुन् ।

इरानका रिभोलुसनरी गार्डका नेताको मृत्यु

इरानको रिभोलुसनरी गार्डका प्रमुख हुसेन सलामी इजरायली हमलामा मारिएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनी आक्रमणमा मारिएका धेरै वरिष्ठ नेताहरू मध्ये एक हुन्। साथै, आणविक ऊर्जा संगठनका पूर्व प्रमुख फेरेदुन अब्बासीको पनि मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एक इजरायली अधिकारीले भने कि यस आक्रमणले इरानको आणविक कार्यक्रम र अन्य सैन्य लक्ष्यहरूलाई लक्षित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This