Logo

विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत, चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

विश्वको अग्रणी अर्थतन्त्र बन्दै भारत, चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान



काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले भारत विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने अर्थतन्त्र बन्ने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन ‘विश्व आर्थिक परिदृश्य’ मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मुद्रास्फीति, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।

laxmi

आईएमएफले आज यहाँ जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३/२४ मा भारतको आर्थिक वृद्धिको ६.१ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५.९ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । आर्थिक वृद्धिको प्रक्षेपणमा उल्लेखनीय गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने जनाइएको छ ।

चालु आर्थिक वर्षमा भारतको मुद्रास्फीति ४.९ प्रतिशत र अर्को आर्थिक वर्षमा ४.४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । आईएमएफको वृद्धि पक्षेपण भारतीय रिजर्भ बैंक (आरबिआई)को अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२२÷२३ मा सात प्रतिशत र यसै महिनाको पहिलोदिनदेखि प्रारम्भ भएको चालु आर्थिक वर्षमा आर्थिक वृद्धि ६.४ प्रतिशत हुने आकलन गरेको छ ।

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान

अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उहाँका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरे पनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने टिप्पणी अर्थशास्त्री मियाले गरेका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई निःशर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् ।

प्रतिक्रिया दिनुहोस्
MBL