Logo

लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम निरन्तर, असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने

लकडाउनमा पनि मेलम्ची खानेपानी आयोजनाको काम निरन्तर, असारसम्ममा मेलम्चीको पानी सुन्दरीजल ल्याइने



काठमाडौं । बन्दाबन्दीको बाबजुत पनि राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम विन्दु सुन्दरीजलको काम निरन्तर चलिरहेको छ । आयोजनामा सुरुङभित्र र सुरुङबाट पानी निस्कने स्थानमा ढोका राख्ने व्यवस्था भइरहेको सुन्दरीजल साइड हेर्ने इन्जिनियर रामजी लामिछानेले जानकारी दिएका छन । उनका अनुसार हाल सो आयोजनामा २८ जना कामदारले नियमित काम गरिरहेका छन् ।

सुन्दरीजलमा भइरहेको कामको नियमितरूपमा अनुगमन एवं मूल्याङ्कनसमेत भइरहेको उनले बताए । बिहीबार मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, निर्माण कम्पनी सिनो हाइड्रो र परामर्शदाता कम्पनी इप्तिसाका प्रतिनिधिबीच सुन्दरीजलका कामको स्थलगत अनुगमनपछि अझ गतिका साथ काम अघि बढाउने विषयमा सहमति भएको थियो । एक महीनामा सुन्दरीजलको काम सक्ने सहमतिसमेत भएको लामिछानेले बताए ।

सुन्दरीजलमा ८ करोड ५० लाख लिटर पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ । उति नै क्षमताको अर्को संरचना निर्माण अन्तिम चरणमा पुगेको छ । एक महिनामा सुन्दरीजलको प्रशोधन केन्द्रको काम पनि गरी कामलाई तिब्रता दिएको छ । असार मसान्तसम्म मेलम्ची खोलाको दैनिक १७ करोड ७० लाख लिटर पानी सुन्दरीजलमा झार्ने आयोजनाको लक्ष्य छ । पानी झरेपछि सुन्दरीजलका दुई प्रशोधन केन्द्रमा परीक्षण गरी उपत्यकामा वितरण गरिने छ ।

पानी वितरणका लागि पहिलो चरणको सञ्जाल उपत्यकाभर निर्माण भइसकेको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिईसकेको छ । सञ्जाल निर्माणमा दोस्रो चरणको काम पनि भइरहेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मेलम्ची खोलाको मुहान क्षेत्रमा हेडवक्र्सको काम भइरहेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताएका छन । बन्दाबन्दीमा पनि सुरक्षाका सबै विधि अपनाएर आयोजनाको काम भइरहेको छ । सुन्दरीजल र मेलम्ची दुवैतिर काम गर्ने कामदारलाई कार्यस्थलमै आवासीयरूपमा बस्ने व्यवस्था निर्माण कम्पनी सिनो हाइड्रोले गरेको छ ।

मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किमीको सुरुङ तयार भइसकेको छ भने सुरुङभित्र फिनिसिङको काम पनि अन्तिम चरणमा पुगेको छ । बन्दाबन्दीले काममा केही प्रभाव परे पनि असारको आसपासमा पानी ल्याउने आयोजनाको लक्ष्य जारी छ । यसअघि विसं २०७३ देखि पटकपटक मेलम्चीको पानी राजधानीमा ल्याउने मिति सारिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL