Logo

काठमाडौंमा खानेपानीका पुराना पाइप विस्थापित हुने, सबै पानी मेलम्चीकै पाइपबाट वितरण हुने

काठमाडौंमा खानेपानीका पुराना पाइप विस्थापित हुने, सबै पानी मेलम्चीकै पाइपबाट वितरण हुने



काठमाडौं । उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको हो । हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उनले भने, ‘ती पाइप निकाल्दा खर्च लाग्ने र सडक भत्कने हुँदा त्यसै छाडिनेछ ।’ मेलम्चीको पहिलो चरणमा मेलम्चीबाट आउने झण्डै १७ करोड र उपत्यकामा हाल केयुकेएलले वितरण गरिरहेको झण्डै चार÷पाँच करोड गरी नयाँ बनेका पाइपबाट दैनिक २४ देखि २५ करोड लिटर पानी वितरण हुने प्रमुख कार्यकारी अधिकृत शाक्यले जानकारी दिएका छन ।

निर्देशनालयले बिच्छ्याएका पाइपमा उपत्यकाकै स्रोतबाट पानी हालेर परीक्षण भइरहेको छ । मेलम्चीकै पानी हालेर परीक्षण भने गर्न बाँकी रहेको उनले बताए । उनले भने, ‘निर्देशनालयले मेलम्चीको पानी हालेर पाइपको अवस्था, चुहावट लगायतका बारेमा बुुझिनेछ ।’ निर्देशनालयले हाल निर्माण गरिरहेका संरचना सम्पन्न भएपछि केयुकेएललाई नै हस्तान्तरण गर्नेछ । केयुकेएलले हाल वितरण गरिरहेको पानी र मेलम्चीबाट थप हुने पानी वितरणका लागि आवश्यक तयारी अघि बढाइरहेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL