Logo

घरटहराको अवरोधले तामाकोशी ‘आर्क ब्रिज’ ३ बर्षमा २० प्रतिशत मात्रै बन्यो, प्रशाशनद्धारा बल प्रयोग गर्ने तयारी

घरटहराको अवरोधले तामाकोशी ‘आर्क ब्रिज’ ३ बर्षमा २० प्रतिशत मात्रै बन्यो, प्रशाशनद्धारा बल प्रयोग गर्ने तयारी



काठमाडौं । स्थानीयको निरन्तरको अवरोधले दोलखाको तामाकोशीमा निर्माणाधीन आर्क ब्रिजको निर्माण सुस्त भएको छ । यो पुल निर्माण थालेको ३ वर्षमा अहिलेसम्म जम्मा २० प्रतिशतमात्रै निर्माणको काम सकिएको छ । लामोसाँघु–जिरी सडक खण्डको तामाकोशी नदीको पुल पुरानो भएको भन्दै सडक बिभाग अन्तरगत पुल महाशाखाले नयाँ निर्माणको लागि निलगिरी नेशनल जेभीसँग २०७३ भदौ ६ गते सम्झौता गरेको थियो । उक्त पुलको लागत ९ करोड रुपैयाँ रहेको छ ।

७५ मिटर लामो उक्त पुल निर्माण गरिरहेका निलगिरी जेभीले भने स्थानीयले घर टहरा नहटाएकाले काम अघि बढन नसकेको जानकारी दिएको छ । सो क्षेत्रका घर टहरा हटाउन प्रशासनले समेत पटक–पटक पुर्जी काटे पनि स्थानीयहरुले घरटहरा खाली नगरेको निर्माण ब्यवसायी युवराज डाँगीले जानकारी दिए ।

उनले भने, ‘प्रशासनले पत्र पठाउँदा १५ दिन पछि खाली गराउने भन्ने अनि १५ दिन पछि फेरी अर्को समस्या निकाल्ने गरेकाले समय थप गर्न लगाउने प्रवृतिले गर्दा तोकेको ३ बर्षको समय समेत सकिएको छ । अव एक बर्षको लागि समय थप गर्ने तयारी भईरहेको छ ।’

तर, जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक औलाखबहादुर आलेले भने विगतमा पनि सडक बनलगायतलाई छलफल गरी मिलाउनु भन्ने आदेशमात्रै भएको र बजारमा आएको हल्ला जस्तो प्रशासनले कुनै पत्र नकाटेको बताए ।

जिल्ला प्रशासन प्रमुख भीमकान्त शर्माले भने बिहीबार (आज) सम्ममा पनि ति घरटहरा नहटाए बल प्रयोग गर्ने बताएका छन । एक बर्ष भन्दा बढी ढिलाई भईसकेको भन्दै उक्त पुल निर्माणका लागि घर टहरा हटाउन बल प्रयोग गर्न परे पनि आफु तयार रहेको शर्माको भनाई छ । उनले भने, ‘अहिलेसम्म सहमतिमै रहेको र बिहीबारसम्म पनि नहटाए बल प्रयोग गर्ने छौं ।’

उक्त पुल दायाँ क्षेत्रमा भने फाउण्डेशन (जग हाल्ने) काम सकिसकेको छ । तर बायाँ क्षेत्रमा भने स्थानीयले घर खाली नगरेका कारण अझैसम्म कुनै काम हुन सकेको छैन । निर्माण ब्यवसायी डाँगीका अनुसार स्थानीयले घरटहरा हटाएमा अर्को बर्ष पुल निर्माण सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL