Logo

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या, ट्राफिक जाम न्युनिकरणमा बाधा

विष्णुमती र बालकुमारी करिडोर कालोपत्र नहुँदा समस्या, ट्राफिक जाम न्युनिकरणमा बाधा



काठमाडौं । काठमाडौँ उपत्यकामा निर्माण भएका करिडोर कालोपत्र नहुँदा आवागमनमा समस्या हुँदै गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण कार्ययोजनाअनुसार विसं २०७५ चैतदेखि खोला किनारमा करिडोर निर्माण भए पनि कालोपत्र नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ ।

laxmi

गत वैशाखमा निर्माण भएको नयाँ बसपार्क्स्थित विष्णुमति करिडोर अहिलेसम्म कालोपत्र भएको छैन । नयाँ बसपार्क पुलदेखि बालाजु पुलसम्म करिडोर विस्तार भए पनि अहिलेसम्म कालोपत्र भएको छैन । उक्त करिडोर कालोपत्र भए माछापोखरी, बालाजुचोक, बाइपास क्षेत्रको सवारी जाममा कमी आउनेछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले ट्राफिक प्रहरीको नेतृत्वमा खोलिएका करिडोरमध्ये बालकुमारी करिडोर र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी रहेको जानकारी दिए ।

हालसम्म धोबीखोला, रातोपुल, कालोपुल, भत्केको पुल, करिडोर कालोपत्र भइसकेको छ भने बालकुमारी र विष्णुमती करिडोर कालोपत्र गर्न बाँकी छ । करिडोर विस्तार र ग्राभेलको काम काठमाडौँ उपत्यका विकास प्राधिकरणले गरे पनि कालोपत्र कसले गर्ने भन्ने स्पष्ट भइसकेको छैन ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका नायब विकास आयुक्त दिलीप भण्डारी उक्त करिडोर कालोपत्रको जिम्मा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले लिएको बताउँछन । उक्त समितिले हाल उपत्यकाका विष्णुमती नदी, नख्खु खोला, धोबी खोला, बल्खु खोला, वाग्मती खोला, हनुमन्ते खोला, मनहरा खोला, कर्मनाश खोला र महादेव खोलाको सभ्यता कायम राख्ने खोलाको किनारामा बाटो निर्माण गर्ने जिम्मा लिएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले उपत्यकाको बढ्दो यातायातसँगै सडक विस्तारलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताएका छन ।
‘टोखा, बानियाँटार, नयाँ बसपार्क, बालाजु, शोभा भगवती हुँदै कालीमाटी निस्कने विष्णुमती करिडोर चाँडै निर्माण भए चक्रपथ क्षेत्रको आधा ट्राफिक जाम कम हुन्छ,’ उनले भने ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले करिडोर निर्माणसँगै उपत्यकाको सवारी जाममा कमी आउने भएकाले सोका लागि सम्बन्धित निकायमा पत्राचार भइसकेको जनाए ।

यातायात व्यवस्था विभागका अनुसार हाल झण्डै ३५ लाख सवारीसाधन सञ्चालनमा छन् भने काठमाडौँ उपत्यकामा मात्र ११ लाखको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL