Logo

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना, थप आन्दोलनको तयारी

निर्माण व्यवसायीद्वारा बालुवाटारमा धर्ना, थप आन्दोलनको तयारी



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना दिएको छ । म्याद थप, बैंक क्रेडिट लाइनलगायतका माग गर्दै महासंघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन धर्ना दिएको हो ।

laxmi

बिहान एक घण्टा चलेको धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौँ, व्यवसायी मैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रूपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

माग सम्बोधनका लागि सरोकार भएका निकाय उदासीन भएपछि बाध्य भएर प्रधानमन्त्री निवासमै धर्ना दिनुपरेको महासंघले जनाएको छ । महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको अध्यक्ष रवि सिंहले जानकारी दिएका छन ।

उनले भने, ‘अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइन्छ, निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आन्दोलनको विकल्प रहेन ।’

आन्दोलनअन्तरगत महासंघले माइतीघर मण्डलालगायत सडकमा कालो झण्डासहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्गअनुसार चरणबद्ध रूपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र पूर्णरूपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने घोषणा गरेको छ/रासस

प्रतिक्रिया दिनुहोस्
MBL