काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् ।
यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । टोखा नगरपालिका(२ स्थित काठमाडौँ(नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध
भोटेकोशी गाउँपालिका–२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका(२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो । उनले हिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताए ।
पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।
पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताए । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिए ।रासस