Logo

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश

काठमाडौं टावर निर्माण रोक्न नमिल्ने भन्दै अदालतको अन्तरिम आदेश



काठमाडौं । काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौँ टावरको काम रोक्न नपर्ने आदेश पाटन उच्च अदालतले दिएको छ। न्यायाधीश प्रकाश खरेलको एकल इजलासले बुधबार काठमाडौं महानगरपालिकालाई टावरको निर्माण कार्य नरोकिनेगरी अन्तरिम आदेश जारी गरेको हो।

काठमाडौं महानगरपालिकाले ९ माघ, २०८१ मा स्वच्छन्द बिकोई बिल्डर्सलाई पत्र पठाउँदै टावर निर्माण रोक्न आदेश दिएको थियो। उक्त निर्णय विरुद्ध ठेकेदार मनोजकुमार भेटवालको कम्पनी उच्च अदालत पाटन पुगेको थियो।

अदालतले निर्माण कम्पनीले नक्सा स्वीकृति लिइसकेको, तला थप्ने अनुमति प्राप्त गरिसकेको र सबै प्रक्रिया पूरा गरी दस्तुरसमेत बुझाइसकेको भन्दै टावरको निर्माण कार्य रोक्न नमिल्ने ठहर गरेको हो। साथै ठेकेदारको वैध अपेक्षा सुरक्षित गर्नुपर्ने उल्लेख गर्दै भवन निर्माणलाई निरन्तरता दिनु उपयुक्त हुने आदेश दिएको हो।

हाल टावरको १२ तला निर्माण अनुमति थियो भने थप ७ तला बनाउनेगरी १९ तला बनाउन स्वीकृति दिइएको थियो। सोही विषयमा महानगर प्रमुख बालेन शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि छानबिन समिति बनाएका थिए, जसले यो परियोजना थप विवादमा तानिएको हो।

एकपक्षीय सुनुवाईमा जारी अन्तरिम आदेश भए पनि महानगरपालिकाले यसको खारेजीको माग गर्दै अर्को निवेदन दिन सक्ने अधिकार सुरक्षित रहेको अदालतले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्