Logo

दुबईमा विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बन्दै, १२ करोड यात्रु क्षमताको हुने

दुबईमा विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बन्दै, १२ करोड यात्रु क्षमताको हुने



काठमाडौं । संयुक्त अरब इमिरेट्सल अब अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थललाई विश्वको सबैभन्दा ठूलो एयरपोर्ट बनाउने भएको छ । यसलाई दुबई वर्ल्ड सेन्ट्रल (डिडब्लुसी) पनि भनिन्छ । युएईले यो परियोजनाको मेगा प्लान सार्वजनिक गरेको छ । यो विमानस्थल सन् २०१३ मा सुरु भएको थियो ।

laxmi

सीएनएन रिपोर्टका अनुसार सरकारी एजेन्सीहरूले नयाँ प्रविधि प्रयोग गर्ने र यसको क्षमता बढाउन विमानस्थललाई पुनः डिजाइन गर्ने लक्ष्य राखेका छन् । यसमा हरेक वर्ष १० करोड यात्रुको क्षमता छ । अधिकारीहरू अब यसको क्षमता दुई करोड वृद्धि गर्दै १२ करोड यात्रुमा पुर्याउन चाहन्छन् ।

दुबई एयरपोर्ट्सका सीईओ पल ग्रिफिथले ग्राहक सुविधाका लागि यसमा लगानी बढाउन चाहेको खुलासा गरे । उनले सन् २०२४ मा यात्रु संख्या ८.८२ करोड र २०२५ सम्ममा ९.३८ करोड पुग्ने अनुमान गरिएको बताए । उनले विमानस्थलको विकासबारे यकिन समय भने दिएका छैनन् । तर २०२३ मा ग्रिफिथले एएफपीलाई भने कि जब क्षमता पुग्छ हामीलाई नयाँ एयरपोर्ट चाहिन्छ, यो २०३० मा हुन सक्छ ।

विमानस्थल आयोजना सम्पन्न भएपछि नजिकै ठूलो आर्थिक केन्द्र बन्ने छ । ग्रिफिथले एउटा म्यागजिनसँगको कुराकानीमा भनेका थिए कि हामी नयाँ टर्मिनलसहित विश्वको सबैभन्दा ठूलो एयरपोर्ट मात्रै बनाउँदैनौं विमानस्थलको व्यवसायमा क्रान्ति ल्याउनेछौं । यात्रुलाई धेरै समय नलागोस् भनेर हामीले त्यस्ता सुविधा दिनेछौँ । एयरपोर्ट दुबई साउथ नामक बृहत् योजनाको केन्द्रबिन्दु हुनेछ । यसले दुबईको दक्षिणमा १४५ वर्ग किलोमिटर मरुभूमिमा पूरै नयाँ शहर निर्माण गर्ने परिकल्पना छ ।

दुबई वर्ल्ड सेन्ट्रलले २०२३ को अन्तिम क्वाटरमा कार्गो ट्राफिकमा ठूलो वृद्धि बेहोरेको छ । यो वृद्धि करिब २० प्रतिशत हो । यो वृद्धि हुनुको मुख्य कारण यमनको हुथी विद्रोहीद्वारा लाल सागरमा बढ्दो आक्रमण हो । यमनका हुथी विद्रोहीहरूले इजरायल र उसका सहयोगीहरूलाई आक्रमण गर्दै आएका छन् । जनवरी २०२२ मा हुथीहरूले युएईको महत्वपूर्ण पूर्वाधारमा ड्रोन र मिसाइल आक्रमण गरेका थिए । जसमा तीन जना तेल कामदार मारिए । यस्तै अबुधाबीको विमानस्थलमा आगलागी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL