Logo

समयमै नबन्ने भयो नागढुंगा सुरुङ : ४४ महिनाको ठेक्का, ३२ महिना वित्दा ३९ प्रतिशत मात्रै काम

समयमै नबन्ने भयो नागढुंगा सुरुङ : ४४ महिनाको ठेक्का, ३२ महिना वित्दा ३९ प्रतिशत मात्रै काम



काठमाडौं । आगामी बर्षको असारसम्म सम्पन्न गर्नेगरी सम्झौता गरिएको नागढुंगा नौबिसे सुरुङमार्गको हालसम्म ३९ प्रतिशत काम सम्पन्न भएको छ । ४४ महिनामा काम सम्पन्न गर्नेगरी २०७६ कार्तिक ४ गते सिलान्यास गरिएको उक्त आयोजनाको अझै ६१ प्रतिशत काम बाँकी नै छ । काम सुरु गरिएको ३२ महिना वितिसक्यो । तर, काम भने आधा पनि हुन नसकेपछि समयमै काम सम्पन्न हुनेमा शंका पैदा भएको छ ।

laxmi

आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको सबै काम लगभग ३९ प्रतिशत सम्पन्न हुँदा वित्तीय खर्च भने ४५ प्रतिशत पुगिसकेको छ । आयोजनाले ४४ महिनामा २ हजार ६ सय ८८ मिटर मुख्य सुरुङ र २ हजार ५ सय ५७ मिटर इभ्याकुएसन सुरुङ निर्माण गर्नुपर्नेमा हालसम्म मुख्य सुरुङ १ हजार ३ सय ७७ मिटर र इभ्याकुएसन सुरुङ १ हजार ५ सय ७ मिटर मात्रै खनेको छ । यस्तै हालसम्म कामदारका लागि वैकल्पिक सुरुङ भने खनिसकिएको छ । यो जम्मा १ सय २६ मिटर खन्नुपर्ने थियो । ४४ महिनामा आयोजनाले १ सय २८ मिटर मुख्य टनेलबाट इभ्याकुएसन टनेलमा जाने क्रस प्यासेज निर्माण गर्नुपर्नेमा हालसम्म ६२ मिटर मात्रै खनिएको छ ।

यसरी हेर्दा म्याद सकिन जम्मा १२ महिना अर्थात अब १ बर्ष मात्रै बाँकी रहँदा सुरुङकै काम भने ४४ प्रतिशत बाँकी छ । करिव ३ बर्षमा आधामात्रै सकिएको काम १ बर्षमा जुनसुकै रफ्तारले पनि सम्पन्न गर्न नसकिने हालसममको कार्यप्रगतिले नै देखाईसकेको छ ।

सुरुङसँगै आयोजनाले एउटा ओभरपास, ३ ओटा अन्डरपास, ४ ओटा बक्स कल्भर्ट, ३ ओटा पुल र एउटा फ्लाईओभर बनाउनुपर्ने थियो । जसमध्ये हालसम्म आयोजनाले फ्लाईओभरको जग्गा अधिग्रहण नै गरिसकेको छैन भने ३ ओटामध्ये एउटा अन्डरपास बनाउन बाँकी छ । यस्तै बक्स कल्भर्ट, पुल र ओभरपास पनि सबै निर्माण गरिसकेको आयोजनाले जानकारी दिएको छ । यी सबै गरेर सडक खन्ने काम मात्रै २४ प्रतिशत बाँकी छ भने सडक गहिरो भएको स्थानमा भर्ने काम भने अझै ४९ प्रतिशत बाँकी छ ।

आयोजनाले धादिङतर्फ र काठमाडौंतर्फ गरी दुबै स्थानबाट सुरुङ खन्ने काम गरिरहेको छ । जसमध्ये हालसम्म मुख्य सुरुङ काठमाडौंतर्फबाट ७ सय १८ मिटर र धादिङतर्फबाट ६ सय ५९ मिटर खनिएको छ । यता इभ्याकुएसन सुरुङ भने काठमाडौंतर्फबाट ८ सय ७६ मिटर र धादिङतर्फबाट ६ सय ३१ मिटर खनिसकिएको छ ।

४४ महिनामा आयोजना पुरा गर्नेगरी २०७६ कात्तिकमा सुरुङको काम सुरु गरिएको थियो । कोरोना महामारी, मुआब्जा विवाद, स्थानियको अवरोधलगायतका कारण भनेकै समयमा काम सम्पन्न हुन नसकेको आयोजना प्रमुख नरेशमान शाक्य बताउँछन् ।सुरुङमार्गको कुल लम्बाइ २.६८ किलोमिटर छ ।

उक्त आयोजना निर्माणमा जापानी सहयोग नियोग जाइकाले साढे १६ अर्ब ऋण र नेपाल सरकारको करिब ६ अर्ब गरी कुल साढे २२ अर्ब रूपैयाँ लागत लाग्ने बताईएको छ । काठमाडौं भित्रिने र बाहिरिने मुख्य नाकामा पछिल्लो समय बढ्न सवारी जामलाई न्युनिकरण गर्न सरकारले उक्त सुरुङमार्गको अवधारणा अघि बढाएको थियो । यसले काठमाडौं भित्रिने बाटो पनि केहि छोट्याईदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL