Logo

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?

नागढुंगा सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु भोलि, कहिलेदेखि पाइन्छ सवारी कुदाउन ?



काठमाडौं । नागढुंगा नौविसे सुरुङमार्गको मुख्य सुरुङको ब्रेकथ्रु सोमबार हुने भएको छ । कोरोनालगायतका कारण काम लम्बिँदै आएको उक्त आयोजनाको ब्रेकथ्रु भोलि हुने आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए । ‘सुरुङ खन्ने काम सबै सम्पन्न भएर कार्यक्रमसहित ब्रेकथ्रु गर्नेभन्दै २ मिटर बाँकी राखिएको छ,’ उनले भने, ‘त्यो २ मिटर पनि भोलि खनेर छिचोल्ने निर्णय भएको छ ।’

laxmi

उनका अनुसार सुरुङको ब्रेकथ्रु कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), जापानी सहयोग नियोग (जाइका)का पदाधिकारीलगायतको उपस्थिति रहनेछ । सुरुङ छिचोल्ने कार्यकै लागि धादिङको सिस्नेखोलामा कायक्रमको आयोजना गर्ने तयारी रहेको आयोजना प्रमुख श्रेष्ठले बिजखबरलाई बताए । ‘सोमबार बिहान ११ बजेदेखि रिसेप्सन र साढे १२ बजेर ४५ मिनेटमा कार्यक्रम सुरु हुने कार्यतालिका छ,’ उनले भने, ‘हामी कार्यक्रमपश्चात सुरुङको स्टार्ट पोइन्ट सिस्नेखोलाबाट प्रवेश गरेर अन्तिम विन्दु बलम्बुबाट निस्कनेछौं ।’

आयोजनाको सुरुङ खन्ने काम सोमबार सकिने भएपछि फिनिसिङलगायतका लागि भने अझै समय लाग्ने आयोजना प्रमुख नवीनमान श्रेष्ठ बताउँछन् । उनका अनुसार काठमाडौंतर्फको फ्लाइओभर, सुरुङभित्रको फिनिसिङ, पहुँचमार्गलगायतका कार्य गर्न अझै समय लाग्नेछ । यसका लागि तोकिएको समयमा थप एक बर्ष लाग्ने उनको भनाई छ । आयोजनाले इभ्याकुएशन सुरुङ गत साउन २२ गते नै ब्रेकथ्रु गरिसकेको छ ।

सरकारले जाइकासँग १६ अर्ब रुपैयाँ ऋण लिएर उक्त सुरुङमार्ग बनाउँदै छ । कुल २२ अर्ब खर्च हुने उक्त आयोजनामा ऋणबाहेक मुआब्जाका लागि सरकारले ६ अर्ब रुपैयाँ खर्चेको छ । अन्य समस्या समाधान गर्न सकिने भए पनि प्रभावितले पुनः जग्गाको मुआब्जा माग गरेपछि समस्या बल्झिँदै गएको थियो । हाल मुआब्जाको केहि समस्या भने बाँकी नै छ । केहि स्थानीयहरु मुआब्जाकै बिषयलाई लिएर अदालतसम्म पुगेका छन् ।

सुरुङमार्ग निर्माणको जिम्मा हाज्मा–आन्दो कर्पोरेशनले पाएको छ । २०७६ देखि निर्माण सुरु गरेको कम्पनीले कोरोना महामारीमा काम गर्न नपाएको भन्दै म्याद थप्न आग्रह गरेपछि नेपाल सरकारले आयोजनाको म्याद २०२४ अप्रिलसम्म पुर्याएको थियो । हालसम्म सबैजसो काम भइसकेपनि काठमाडौंतर्फ ओभरब्रिजका लागि आवश्यक जग्गाको टुंगो अझै लागेको छैन । यसकै लागि भन्दै आयोजनाले १ बर्षको म्याद थप मागेको छ ।

सुरुङमार्ग सञ्चालनमा आएपछि त्रिभुवन राजपथ नागढुंगा बलम्बुसम्मको दुरी तीन किलोमिटरले कम हुनेछ । सडकको दुरी तीन किलोमिटरले मात्र कम भए पनि सुरुङमार्गको पश्चिमी प्रवेश बिन्दुदेखि नागढुंगासम्मको उकालो र त्यहाँ हुने ट्राफिक जामलाई दृष्टिगत गरी एक व्यक्तिको झन्डै आधाघण्टा समय बचत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL