Logo

पर्यटन व्यवसायीको सरकारसमक्ष प्रश्न : लाखौं जनता सडकमा हुँदा नसर्ने कोरोना विदेशी पर्यटक आउँदा कसरी सर्छ ?

पर्यटन व्यवसायीको सरकारसमक्ष प्रश्न : लाखौं जनता सडकमा हुँदा नसर्ने कोरोना विदेशी पर्यटक आउँदा कसरी सर्छ ?



काठमाडौं । पर्यटन व्यवसायीहरुले सरकारसमक्ष पर्यटन क्षेत्रलाई पुर्ण रुपमा खुलाउन माग गरेका छन् । सरकारले विदेशी पर्यटकका लागि विभिन्न मापदण्डहरु तोकेर अघोषित प्रतिवन्ध लगाएको भन्दै यसलाई खोल्न व्यवसायीहरुले माग गरेका हुन् ।

सरकारले विदेशबाट नेपाल घुम्न आउने पर्यटकहरुलाई क्वारेन्टाईन बस्नैपर्ने, ५ हजार डलर बराबरको कोरोना बीमा गरेको हुनुपर्ने, चीन र भारतको सिमामा प्रतिवन्ध लगायतका मापदण्डहरु लागु गरेको छ । जसका कारण नेपालमा विदेशबाट आउने पर्यटकलाई हैरानी खेप्नुपरेको भन्दै यस्ता मापवदण्डहरु हट्नुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।

सोमबार पर्यटन बोर्डमो आयोजितथ पत्रकार सम्मेलनमा ३७ बढी पर्यटन सम्बद्ध व्यवसायका संघसंस्थाहरुले उक्त मागहरु राखेका हुन । पत्रकार सम्मेलनमा बोल्दै ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम बहादुर सुवेदीले सरकारले आफ्ना मागहरु नसुनेको बताए । उनले विभिन्न समय पर्यटन व्यवसायीहरुले सरकारसमक्ष मागहरु राखेको भएपनि हालसम्म सुनुवाई नभएको बताएका हुन् । ‘कोरोना महामारी र यसले निम्त्याएको लकडाउनले समग्र पर्यटन क्षेत्र नै धराशायी बन्न पुग्यो,’ उनले भने, ‘यसलाई पुनर्जिवन दिनका लागि हामीले धेरैचोटी सरकारसमक्ष हारगुहार माग्यौं, तर सुनुवाई भएन ।’

उनले बसन्त ऋतुमै धेरै पर्यटक आउने भएपनि यस्तो बेलामा विभिन्न मापदण्डहरु लागु गरिँदा पर्यटन क्षेत्र धराशायी हुने दिशातिर गएको बताए । यस्तै कार्यक्रममा बोल्दै नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट् (नाटा) का अध्यक्ष अच्युत गुरागाँईले अब सडकमै गएर आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए । सरकारसँग अनुनय विनय गर्दापनि मागहरुको सुनुवाई नभएकाले नेपालमा पर्यटन आवागमन ठप्पजस्तै भएको उनको भनाई छ ।

‘सरकार अन्धो, बैरो भएजस्तो छ,’ उनले भने, ‘हामीले यती धेरैपटक गरेको अनुनय विनय त सुनिदिनुपर्ने ।’ उनले अब देशमा सरकार नभएको आभास भएको जनाएका छन् । पछिल्लो समय सरकार तथा प्रतिपक्षीले समेत विभिन्न स्थानबाट लाखौं जनतालाई सडकमा ल्याएर आन्दोलन र आमसभा गरिरहेको बताउँदै उनले सडकका जनतालाई कोरोना नसर्ने तर विदेशबाट आउने पर्यटकलाई भने कोरोना सर्ने, भन्दै प्रश्न गरे ।

‘जुँगोको लडाईका लागि लाखौ मानिसहरुलाई विना स्वास्थ्य प्रोटोकल सडकमा उतार्दा कोरोना सर्दैन ?, उनले प्रश्न गरे, ‘अनी विचरा विदेशबाट आउने पर्यटकलाई भने विभिन्न मापदण्ड लागु गर्नुपर्ने कस्तो नियम हो ?’

उनले अब सरकारसँग छलफल नभई प्रश्नहरु मात्रै सोध्ने बताए । उनले हाल गरिएका मागहरु यथासिघ्र लागु नभए सिंहदरवार घेराउ गर्ने चेतावनीसमेत दिएका छन् ।

सरकारले ल्याएको बजेट र नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिलाई स्वागत गरेको पर्यटन क्षेत्र पछिल्लो समय भने आन्दोलित भएको छ । मौद्रिक नीतिमा उल्लेख गरिएको सहुलियत, कर्जाको छुटलगायत विभिन्न बुँदाहरु पनि सरकारका आशेपासेहरुले मात्रै पाएको होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताए । उनले ठुला तारे होटल त्यसमा पनि सरकारसँग नजिक रहेकाले मात्रै उक्त अनुदानलगायत पाएको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL