Logo

खाद्य संस्थानले लक्ष्य अनुरुप खसीबोका नल्याउने, च्याङ्ग्रा आज आइपुग्दै

खाद्य संस्थानले लक्ष्य अनुरुप खसीबोका नल्याउने, च्याङ्ग्रा आज आइपुग्दै


बिजखबर संवाददाता
54
Shares

खाद्य संस्थानले यस पटकको दशैमा लक्ष्य अनुरुप खसीबोका विक्री नगर्ने भएको छ । तराइमा भइरहेको बन्द हड्ताल तथा ढुवानी समस्याले गर्दा लक्ष्य अनुरुप खसीबोका तथा च्याङ्ग्रा ल्याउने नसकिएको संस्थानका निमित्त महाप्रवन्धक पवनकुमार कार्कीले बताए ।

संस्थानले यसपटक १ हजार ५ सय वटा खसीबोका विक्री गर्ने लक्ष्य लिएको थियो । तर, हालसम्म जम्मा २ सय ८ वटामात्र खसीबोका खरिद गरिएको कार्कीले जानकारी दिए । संस्थानले यसअघि तराइका जिल्लाहरुबाट खसीबोका खरिद गर्दै आएको थियो । यसपटक तराइमा भइरहेको बन्दहड्तालले खसीबोका खरिद गर्न सकेको छैन । ‘संस्थानले लाहान, सर्खेत, नेपालगञ्जबाट खसीबोका खरिद गर्दै आएको थियो,’ उनले भने, ‘यस पटक ती स्थानबाट खसीबोका खरिद गर्नै सकिएन ।’ तराइका जिल्लाबाट खरिद गर्न नसकेपछि यसपटक मकवानपुर जिल्लाबाट खसीबोका खरिद गरेर ल्याउन लागिएको समेत उनले जानकारी दिए ।

संस्थानले च्याङ्ग्रा पनि लक्ष्य अनुरुप नल्याउने भएको छ । यस पटक १ हजार वटा च्याङ्ग्रा विक्री गर्ने लक्ष्य लिएकोमा ६ सय ९२ वटा मात्र खरिद गरिएको कार्कीले जानकारी दिए । ‘खरिद गरिएका च्याङ्ग्राहरु आजै मात्र बेनीबाट लोड गरेर हिडाइएको छ,’ उनले भने, ‘सम्भवत आजै बेलुका काठमाडौं आइपुग्ने छ ।’ विशेषगरी ढुवानी समस्याले गर्दा समस्या उत्पन्न भएको संस्थानले जानकारी दिएको छ ।

कार्कीका अनुसार च्याङ्ग्रा प्रति किलो ४ सय ६५ रुपैयाँमा खरिद गरिएको छ भने खसीबोका ३ सय ९० रुपैयाँसम्ममा परेको छ । तर, यसको बजारमा मुल्य कति राख्ने भन्ने विषयमा भने टुङ्गो लागेको छैन । ‘खरिद मुल्य तथा ढुवानी खर्च हिसाव गरेर मुल्य तोक्ने छौं,’ उनले भने, ‘तर, संस्थानले बजार मुल्यभन्दा कममै विक्री गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL