Logo

नेप्सेले नयाँ रेकर्ड बनाउँदा ओझेलमा परेको वास्तविक सेयर बजार, परिसुचक बढ्यो सेयर मूल्य बढेन

नेप्सेले नयाँ रेकर्ड बनाउँदा ओझेलमा परेको वास्तविक सेयर बजार, परिसुचक बढ्यो सेयर मूल्य बढेन



काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को इतिहासमा पूँजी बजारले आज (बिहीबार) नयाँ रेकर्ड बनाएको छ । नेप्से परिसुचक यसअघिको १८८१ को विन्दु पारगर्दै १९२५ अंकसम्म पुग्यो ।
बजार खुल्ने वित्तिकै ह्वात्तै बढेको नेप्से परिसुचकले आफ्नै रेकर्ड तोड्यो तर समग्र पूँजी बजारको प्रतिनिधित्व गर्न सकेन ।

लामो समयदेखि सूचनाको पासो तथा सेयर कर्नरिङको मारमा पर्दे आएको नेपाली पूँजीमा अहिलेको वृद्धिले पनि त्यसैको प्रतिविम्ब गर्छ । बजारमा दैनिकजसो ६० अंकको वृद्धि हुँदा पूँजी बजारमा मुख्य प्रतिनिधित्व गर्दै ७० प्रतिशत हिस्सा ओगटेको बैंक तथा फाइनान्स समुहका कम्पनीहरुको सेयर मूल्य नबढ्दा लगानीकर्ताहरुनै अहिलेको बजार बढाई प्रति असन्तुष्ट बन्न पुगेका छन् ।

बजारमा अहिले पनि ठूलो पूँजी भएका बैंक वित्तीय संस्थाभन्दा पनि साना पूँजी भएका कम्पनीको सेयर कर्नरिङमा सिमित लगानीकर्ताहरु लाग्दा पूँजी बजार अस्वभाविक रुपमा बढेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । अहिलेको बजार बढाईले वास्तविक पूँजी बजारको प्रतिनिधित्व नगर्ने सेयर विश्लेषक ज्योति दाहाल बताउँछन् ।

‘नेप्सेमा करिव १ खर्ब रुपैयाँको सेयर सूचिकरण थपिदा पनि २०७२ सालको पूँजीकरणमा तात्विक परिवर्तन नआएको अवस्थामा इन्डेक्स बढेर केही हुँदैन,’ उनले भने, ‘यदि थपिएको पूँजीको आधारमा बजार बढ्ने हो भने अहिले नेप्सेको पूँजीकरण ३० खर्ब माथि हुनु पर्ने थियो तर सिमिति र साना कम्पनीमा लगानीकर्ताले खेल्दा पूँजीबजारमा झन बढी जोखिम बढेको देखिन्छ ।’

नेप्सेमा महत्वपूर्ण हिस्सा ओगट्ने बैंकिङ समुहको परिसुचक नबढेसम्म नेपालको पूँजी बजारको वृद्धि दिगो नहुने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘अहिले जुन आधारमा नेप्से परिसुचक बढेको छ त्यसअनुसार सबै क्षेत्रका कम्पनीको सेयर मूल्य उच्च रुपमा बढ्नुपर्ने हो,’ ती लगानीकर्ताले भने, ‘लामो समयदेखि विवादमा रहेर अस्तित्व नै मेटिन लागेका कम्पनी तथा साना पूँजी भएका कम्पनीको सेयर मूल्य मात्रै बढ्नु र त्यसैको पछिपछि लगानीकर्ता लाग्दा आगामी दिनमा बजारमा ठूलो क्रयास हुने सम्भावना बढेको छ ।’ यदि लगानीकर्ताहरु बेलैमा सचेत नहुने हो भने पछुताउनुको विकल्प बाहेक अरु केही नरहेन समेत ती लगानीकर्ताले जानकारी दिए ।

साताको अन्तिम दिनमा उतारचढाव आएको बजार अन्तमा १८ अंकले बढेर रोकिएको छ । बजारमा आज भने बैंकिङ समुहको वृद्धिले बजार धानेको छ । अघिल्लो दिनहरु व्यापार तथा बीमा समुहको परिसुचकमा भने उच्च गिरावट आएको छ । यदि अबका दिनमा बैंकिङ समुहले नेप्से नधान्ने हो भने बजारमा सोही अनुरुपको गिरावट आउने समेत सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

तर बजारमा कारोबार रकम बढ्नुभने सकारात्मक पक्ष रहेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । साताको अन्तिम दिन बजारमा ७ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमा २०१ कम्पनीको १ करोड ७१ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL