Logo

श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेचेर कृषक र कर्मचारीको बक्यौता भुक्तानी गरिने

श्रीराम सुगर मिल सधैंका लागि बन्द, सम्पत्ति बेचेर कृषक र कर्मचारीको बक्यौता भुक्तानी गरिने



काठमाडौं । दुई दशकअघि स्थापना भएको श्रीराम सुगर मिल सधैंका लागि बन्द भएको छ । रौतहट जिल्लाकै पहिलो चिनी मिल घाटामा गएपछि स्थायी रूपमै बन्द भएको हो ।

laxmi

नेप्सेमा सूचीकृतसमेत रहेको कम्पनी सुरुका वर्ष उद्योग राम्रैसँग सञ्चालन भए पनि पछिल्ला केही वर्षयता घाटामा गएको थियो । सञ्चालकहरूले उद्योगलाई टिकाउन करोडौं लगानी गरे पनि विविध कारणले उद्योग (कम्पनी) को वार्षिक घाटा झन् बढ्दा बन्द गर्नुपर्ने अवस्था आएको कम्पनीको भनाइ छ ।

विशाल र गोल्छा समूहको लगानी रहेको उद्योगको वार्षिक घाटा बढेसँगै बन्द हुने अवस्था आएको हो । घाटा बढ्दै जाँदा व्यवस्थापनले चाहेर पनि उखु कृषकहरूको रकमसमेत समयमा भुक्तानी गर्न सकेको छैन । प्रतिदिन अवस्था खस्कँदै गएपछि उद्योग बन्द गर्नुपर्ने अवस्था आएको कम्पनीले जनाएको छ ।

गत आर्थिक वर्षसम्मको उद्योगको कुल घाटा दुई अर्ब १७ करोड ७५ लाख ५५ हजार ३७६ रुपैयाँ पुगेको छ । पुँजी अभावमा विगत चार महिनादेखि त्यहाँ कार्यरत श्रमिकहरूको सञ्चय कोषवापतको रकम र तलबसमेत भुक्तानी हुन सकेको छैन । उद्योगका अनुसार अब चल–अचल सम्पत्ति बेचेरै पनि कर्मचारीको तलब भुक्तानी गरिने तयारी छ ।

उद्योगले सरकारसँग सम्पत्ति बिक्रीका लागि अनुमति प्रक्रिया अगाडि बढाएको छ । सम्पत्ति बिक्री हुनासाथ कर्मचारी र उखु किसाानको बक्यौता भुक्तानी गरिने उद्योगले जनाएको छ । २०७६ फागुन ३ गतेदेखि उद्योग पूर्ण रूपमा बन्द छ ।

३० करोड ४५ लाख ९९ हजार चुक्ता पुँजी रहेको कम्पनीको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर नेप्सेमा सूचीकृत छ । सोमबार पनि कम्पनीको सेयर नेप्सेमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL