Logo

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, बाध्यकारी लोडसेडिङको अन्त्य हुने

पूर्वी चितवनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, बाध्यकारी लोडसेडिङको अन्त्य हुने



काठमाडौं । पूर्वी चितवन १३२/३३/११ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । चितवनका रत्ननगर, खैरहनी, राप्ती र कालीका नगरपालिकाको विद्युत् आपूर्तिलाई गुणस्तरीय र विश्वसनीय बनाउन पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

laxmi

निर्माण सम्पन्न भएपछि मकवानपुरको हेटौडाबाट चितवनको भरतपुरतर्फ गएको १ सय ३२ केभी प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई पूर्वी चितवन सबस्टेसन भित्र छिराएर बाहिर निकाली सफलतापूर्वक चार्ज गरिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । हेटौडा–भरतपुर प्रसारण लाइनबाट प्रवाह भएको विद्युत्लाई त्यस क्षेत्रमा आपूर्ति गर्न पूर्वी चितवन सबस्टेसन निर्माण गरिएको हो ।

‘सबस्टेसन राखिएका १३२/३३ केभी, ३० एमभीएका दुईवटा पावर ट्रान्सफर्मरमध्ये एउटा नो लोडमा चार्ज गरिएको छ, अब त्यसलाई लोड दिएर चार्ज गरिने छ’,कार्यकारी निर्देशक घिसिङले भने । ‘त्यहाँबाट स्थानीय उपभोक्तालाई विद्युत् आपूर्तिका लागि ३३/११ केभी, १६.६ एमभीए पावर ट्रान्सफर्मर आइतबार चार्ज गरिएको छ, सबस्टेसन स्वचालित प्रणालीको संचालन र ११ केभी फिडरबाट एक हप्ताभित्र विद्युत् वितरण गर्ने लक्ष्यका साथ काम गरिरहेका छौं ।’

उनले सबस्टेसन संचालनमा आएपछि प्राविधिक चुहावट करिब ४/५ प्रतिशत घट्ने, ग्राहकले पनि गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत् पाउने र प्रसारण क्षमताले नधानेर गर्मीमा बाध्यकारी लोडसेडिङ गर्नु पर्ने अवस्थाको पनि अन्त्य हुने बताए ।

अहिले भरतपुरमा रहेको १३२ केभी सबस्टेसनबाट करिब २१ किलोमिटर ३३ केभी लाइनमार्फत ३३/११ केभी चैनपुर सबस्टेसनमार्फत चितवनको पूर्वी क्षेत्रमा विद्युत् आपूर्ति भइरहेको छ । लामो लाइन र क्षमताले नधान्दा लाइन चुँडिने,ट्रिपिङ हुने, लो भोल्टेज र विद्युत्को प्राविधिक चुहावटको समस्या थियो । पूर्वी चितवन सबस्टेसनबाटै विद्युत् आपूर्ति हुन थालेपछि भरतपुर सबस्टेसनको लोड पनि काम हुने छ ।

नेपाल सरकारको लगानीमा राप्ती नगरपालिका–६ हर्दीमा सबस्टेसनको निर्माण भएको हो । आयोजनाको अनुमानित लागत ५४ लाख अमेरिकी डलर छ । आयोजनाको आर्थिक वर्ष २०७२÷०७३ मा सुरु भएको थियो । गत चैतभित्रमा संचालन गर्ने लक्ष्य राखिएको सबस्टेसनको निर्माण विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्रभावित हुँदा केही ढिला भएको हो । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि हर्दीबाट पर्सा सबस्टेसनसम्म करिब १० किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन र ११ केभी वितरण लाइन पनि निर्माण गरिएको छ ।

दमक र बर्दघाट सबस्टेसनको क्षमता बढाइयो

नेपाल विद्युत प्राधिकरणले विद्युत आपूर्तिलाई व्यवस्थित, भरपर्दो र प्रभावकारी बनाउन झापाको दमक र नवलपरासीको बर्दघाटस्थित सबस्टेसनहरुको क्षमता बढाएको छ । दमकको पाडाजुँगीस्थित सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभीएको पावर ट्रान्सफर्मर थपी शनिबारबाट संचालनमा (चार्ज) ल्याइएको प्राधिकरणका प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीले जानकारी दिए । त्यहाँ अहिले ३० एमभीएको ट्रान्सफर्मर थियो । अब नयाँ थप गरिएपछि ट्रान्सफर्मको क्षमता ९३ एमभीए पुगेको छ । अब दमक क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय हुने चौधरीले बताए ।

यसैगरी, नवलपरासीको बर्दघाट सबस्टेसनको क्षमता बढाउन १३२/११ केभी, २२.५ एमभीएको पावर ट्रान्सफर्मर राखिएको छ । ७ एमभीएको ट्रान्सफर्मरलाई हटाएर २२.५ एमभीएको राखिएको हो । त्यहाँ २२.५ र ७ एमभीएका ट्रान्सफर्मर थिए । अब सस्टेसनमा रहेका ट्रान्सफर्मरको क्षमता ४५ एमभीए पुगेको छ । प्राधिकरणले विद्युतको पहुँच बढाउन गुणस्तरीय तथा विश्वसनिय विद्युत् आपूर्तिका लागि मुलुकभर नै नयाँ सबस्टेसनको निर्माण र वितरण प्रणाली सुदृढीकरण तथा विस्तारलाई अभियानकै रुपमा चलाइरहेको छ ।

सरकारले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारण लाइन बनाउने नीति लिएको छ । यसका लागि प्राधिकरणले सबस्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारण लाइन तथा सबस्टेसन बनाउने लगायतका काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL